जगन्नाथ रथयात्रा: चर्को विरोधपछि चार हात्तीको आसाम‍-गुजरात रेलयात्रा स्थगित

जगन्नाथ मन्दिरमा हात्तीहरू
तस्बिरको क्याप्शन, जगन्नाथ मन्दिरमा हात्तीहरू
Published

भारतको पूर्वोत्तर राज्य आसामको वन्यजन्तु निकायले चारवटा हात्तीलाई ३१ सय किलोमिटर रेलयात्रा गराएर गुजरातमा एउटा धार्मिक समारोहमा सहभागी गराउने योजना स्थगित गरिदिएको छ।

पशुअधिकारबारे अभियान चलाएकाहरूले चर्को गर्मीमा हात्तीलाई त्यति लामो यात्रामा पठाउनु जोखिमपूर्ण हुने भन्दै विरोध गरेपछि सो निर्णय भएको हो।

रेलयात्राको मार्गमा पर्ने धेरै स्थानमा अहिले तापक्रम बढेर ४० डिग्री पुगेको छ। त्यस्तो यात्रामा हात्तीको मृत्यु पनि हुन सक्ने तर्क अभियानकर्ताहरूको थियो।

ती हात्तीलाई आसामबाट अहमदाबादस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा आयोजना हुने वार्षिक रथयात्राका लागि लैजाने योजना थियो।

ती हात्ती जुलाई ४ मा अहमदाबाद पुग्नुपर्ने थियो। आसामबाट त्यहाँ पुग्न झन्डै चार दिन लाग्छ।

आसाममा हात्ती
Presentational white space

आसाम राज्यको वन्यजन्तु निकायकी वरिष्ठ अधिकारी रञ्जना गुप्ताले हात्तीलाई अहमदाबाद पठाउने आफ्नो पुरानो निर्णय 'मुल्तबीमा राखिएको' बताइन्।

'क्रूर र अमानवीय' यात्रा

उनको छोटो लिखित आदेशमा पूर्वोत्तर भारतमा विद्यमान प्रचण्ड गर्मीलाई दृष्टिगत गरी यो निर्णय लिइएको उल्लेख छ।

अभियानकर्ता र संरक्षणकर्ताहरूले यो निर्णयको प्रशंसा गरेका छन्।

पहिला उनीहरूले हात्तीलाई त्यति लामो यात्रा गराउने योजनालाई 'क्रूर र अमानवीय' भनेका थिए।

केही अभियानकर्ताहरूले हात्तीको सुरक्षा र हितबारे विचार गर्न अनुरोध गर्दै गुवाहटी उच्च न्यायालयको हस्तक्षेप पनि खोजेका थिए।

जगन्नाथ मन्दिरमा हात्तीहरू
Presentational white space

आफ्नो गृहराज्यमा आयोजित जगन्नाथ रथयात्रामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने गरेका छन्।

तर आयोजकहरूका अनुसार यस वर्ष उनी सहभागी नहुन सक्छन्।

जगन्नाथ मन्दिरको सञ्चालक समितिका एक सदस्यले बीबीसी गुजरातीलाई बताएअनुसार मन्दिरको स्वामित्वमा भएका तीनवटा हात्ती उमेरका कारण गत वर्ष मरेको हुनाले आसामबाट हात्ती झिकाउने निर्णय गरिएको थियो।

गुजरातमा हात्ती
Presentational white space

प्राचीन कालदेखि नै हात्तीलाई विभिन्न सामरिक, सांस्कृतिक तथा धार्मिक कार्यमा प्रयोग गरिँदै आएको छ।

अहिले भारतमा हात्ती संरक्षित जीव हो।