मालास्वामी अन्नादुराई: भारतको विपन्न गाउँदेखि अन्तरिक्ष अभियानको नेतृत्वसम्म पुगेका वैज्ञानिक

डा. अन्नादुराई
तस्बिरको क्याप्शन, चन्द्रयान-१ अगाडि बसेका डा. अन्नादुराई
    • Author, स्वामीनाथन नटराजन
    • Role, बीबीसी विश्व सेवा
  • Published

"म कक्षा सुरु हुनु अघि गोबर फाल्थेँ। कक्षाकोठामा बस्दा हात धोए पनि त्यसको गन्ध आइरहन्थ्यो।"

डा. मालास्वामी अन्नादुराई अहिले जुन क्षेत्रमा छन् त्यसका लागि उनले आवश्यक शिक्षा भने पाएका थिएनन्।

यी भारतका एक उच्चकोटीका अन्तरिक्ष वैज्ञानिक हुन्- चन्द्रमा र मङ्गलग्रहमा भारतको सफल अवतरणका एक प्रमुख व्यक्ति हुन्।

विद्यालयका प्रथम तीन वर्ष उनले रूखमुनि, गाउँको मन्दिरको बरन्डामा र गाईगोठमा बसेर पढे।

उनी उच्च प्रविधि उद्योगको पनि उच्चतम स्थानमा कसरी पुगे त?

सुरुको लक्ष्य

सानो हुँदा अन्नादुराईसँग एक जोर जुत्ता पनि थिएन। आठ वर्षको हुँदा उनको गाउँमा बिजुली आएको थियो। तर विश्व त्यसबेला द्रुत गतिमा परिवर्तन भइरहेको थियो।

अन्नादुराईको स्कूल फोटो
तस्बिरको क्याप्शन, नौ वर्षको उमेरमा आफ्ना सहपाठीहरूसँग अन्नादुराई

सन् १९६० ताका अमेरिका र रुसबीच अन्तरिक्षमा जाने प्रतिस्पर्धा चलिरहेको थियो।

भारतले पनि अन्तरिक्षबारे काम गर्न थाल्यो र नोभेम्बर २१, १९६३ मा पहिलो रकेट प्रक्षेपण गर्‍यो।

तर त्यो महत्त्वपूर्ण उपलब्धिको असर भारतीयहरूको जीवनमा न्यून मात्र परेको थियो।

अन्नादुराई भारतको दक्षिणी प्रदेश तामिलनाडुको कोढावाडी गाउँमा हुर्किरहेका थिए।

औद्योगिक युगभन्दा अगाडिको युगमा त्यसबेला उनीजस्तै धेरै भारतीयहरूको स्वास्थ्य र शिक्षामा सीमित मात्र पहुँच थियो।

मेधावी विद्यार्थी

आर्थिक रूपमा कमजोर अवस्थाले उनको पढाइलाई कुनै असर गर्न सकेन।

उनलाई विज्ञान र गणित असाध्यै मन पर्थ्यो तर इतिहास मन पर्दैनथ्यो।

आफ्ना भाइहरूसँग अन्नादुराई
तस्बिरको क्याप्शन, आफ्ना भाइहरूसँग अन्नादुराई (‍बीचमा)

उनले बीबीसीलाई भने, "मेरा बुवा भन्नुहुन्थ्यो इतिहास पढ्ने त इतिहास कसरी बनाउने भन्ने सिक्नलाई हो नि।"

उनका बाबु विद्यालयका शिक्षक थिए। उनी लुगा सिलाउने सीपबाट उनी अलिकति थप कमाइ गर्थे।

एक पटक त अन्नादुराईलाई उच्च शिक्षार्जन गर्न पठाउने कि नपठाउने पनि निश्चित थिएन।

तर कतैबाट यी बालकले जीवन परिवर्तनकारी अवसर पाए।

"म १२ वर्षको हुँदा रेडियोमा ग्रामीण विद्यार्थीका लागि सरकारी छात्रवृत्तिबारे सुनेँ। त्यसमा मैले आवेदन हालेँ।"

छात्रवृत्तिले उनको आर्थिक चिन्ता केही कम गर्‍यो र उनले नजिकैको सहरको विद्यालयमा पढ्न जान पाए।

"त्यसबेला मेरा बुवाले प्रति महिना १२० रुपैयाँ तलब पाउनुहुन्थ्यो। मैले पाएको छात्रवृत्ति वर्षको १००० रुपैयाँ थियो।"

उनले विद्यालय शिक्षा पूरा गर्दा जिल्लाकै प्रथम बन्न पुगे। प्रदेशमा उनको स्थान ३९ औँ थियो। यसले थप आर्थिक सहयोग प्राप्त गर्न उनलाई सहयोग पुर्‍यायो।

सङ्घर्ष

अन्नादुराईले इन्जिनियरिङ कलेजमा अध्ययन थाल्दा सन् १९७५ मा रुसको सहयोगमा भारतीय अन्तरिक्ष निकाले आर्यभट्ट नामको पहिलो स्याटलाइट प्रक्षेपण गर्दै थियो।

स्याटलाइटबाट तथ्याङ्कहरू प्राप्त गर्न बेङ्ग्लोरका केही शौचालयहरूलाई हतारहतार तथ्याङ्क केन्द्रमा परिवर्तन गरिएको थियो। उक्त स्याटलाइट छ महिना काम गर्न सक्नेगरी डिजाइन गरिएको थियो। तर चार दिनमै त्यसले काम गर्न छोड्यो।

अन्नादुराई
तस्बिरको क्याप्शन, सन् १९८०को सुरुतिर अन्नादुराई

चार वर्षपछि भारतले आफ्नै देशमा बनेको स्याटलाइट पनि बोक्न सक्ने रकेट प्रक्षेपण गर्‍यो। तर त्यो पनि असफल भयो।

अन्नादुराई सन् १९८० को सुरुतिर भारतीय अन्तरिक्ष निकाय इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (आईएसआरओ)मा काम गर्न गए।

"हामी सामान्य भवनमा काम गरिरहेका थियौँ र हरेक चार वर्षमा स्याटलाइट प्रक्षेपण गरिरहेका थियौँ।"

तामिल मातृभाषा भएकाले अङ्ग्रेजी या हिन्दीमा संवाद गर्न उनलाई कठिनाइ भएको थियो। "कहिलेकाहीँ मेरो अङ्ग्रेजी सुनेर मानिसहरू हाँस्थे।"

उनले काम गरेको पहिलो स्याटलाइट पृथ्वीको कक्षदेखि ४०० किलोमिटर टाढा रहनेगरी डिजाइन गरिएको थियो। तर योजनाबमोजिम त्यसले काम गरेन र त्यो बङ्गालको खाडीमा खस्यो।

चन्द्रमाको यात्रा

सुरुवात राम्रो हुन नसकेपनि उनले आठवटा आएनएसएटी स्याटेलइट लक्ष्यहरूमा काम गरे। इन्स्याटहरू भारतीय अन्तरिक्ष कार्यक्रमका महत्त्वपूर्ण अङ्ग हुन्। मौसम भविष्यवाणीदेखि स्रोतको आकलन र प्रसारणसम्म यिनको प्रयोग हुने गरेको छ।

सन् २००३ मा उनी अन्तरिक्ष एजेन्सी छोडेर निजी क्षेत्रमा राम्रो सुविधायुक्त काममा जाने विचारमा थिए। तर उनलाई भारतको पहिलो चन्द्रमा लक्ष्यका लागि चयन गरियो।

अन्नादुराई आफ्नो गाउँ नियमित जान्छन्
तस्बिरको क्याप्शन, अन्नादुराई भन्छन् - अन्तरिक्ष कार्यक्रमले भारतीय कृषकहरूलाई धेरै नै फाइदा पुर्‍याएको छ

"हाम्रो मुख्य लक्ष्य अघिल्ला मिशनहरूले गर्न नसकेका कुराहरू पत्ता लगाउनुथियो। हामी चन्द्रमामा कति पानी छ र कसरी त्यो बनेको छ भन्ने पत्ता लगाउन चाहन्थ्यौँ। "

अक्टोबर २००८ मा मनसुनको मध्यतिर चन्द्रयान मिशन चेन्नईको १०० किलोमिटर उत्तरस्थित श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको थियो। त्यसले चन्द्रमामा भारतीय झण्डा गाड्यो र त्यहाँ पानी रहेको पुष्टि गर्‍यो।

भारतीय सञ्चारमाध्यमले त्यो सफलताको उत्सव मनायो। तर कैयौँले यस्ता आयोजनामा रकम खर्च गर्नुको उपादेयताबारे प्रश्न उठाए। दशौँ लाख मानिसहरूले आधारभूत आवश्यकता पाउन सकेका उनीहरूको तर्क थियो।

डा. अन्नादुराई भने प्रष्ट थिए, "गरिबीको एउटा मुख्य कारण हामी औद्योगिक क्रान्ति गर्न नसकेर हो। यति धेरै मानवस्रोत भएको राष्ट्र भएका नाताले हामी अन्तरिक्ष अध्ययनका ठूलो अवसरलाई त्यतिकै छोड्न सक्दैनौँ।"

मङ्गलतिर र त्यसभन्दा पनि पर

केही वर्ष पछि उनको नेतृत्वमा भारत पहिलो प्रयासमै मङ्गल ग्रहमा रकेट पठाउन सफल पहिलो मुलुक बन्न पुग्यो।

प्रक्षेपणको तयारीमा
तस्बिरको क्याप्शन, रकेटभित्र राखिएको मङ्गलयान

"चन्द्रमामा पुग्न हाम्रो स्याटलाइटले १ किमि प्रतिसेकेन्डको गतिमा यात्रा गर्नुपर्छ। यसका लागि बृहत् योजना र गणना आवश्यक पर्छ।"

भारतको मङ्गल यानलाई "रातो ग्रह" पुग्न साढे दश महिना लाग्यो। सात करोड ३० लाख खर्च लाग्यो तर यो नै मङ्गलमा सबैभन्दा सस्तोमा पुगेको अभियान हो।

मङ्गल यान
तस्बिरको क्याप्शन, २००० रुपैयाँ नोटमा छापिएको मङ्गलयान

"मेरा गुरु प्राध्यापक यूआर रावलाई मैले भनेँ - तपाईँको स्याटलाइट आर्यभट्ट दुई रुपैयाँको नोटमा छापिएको थियो। अहिले मेरो मङ्गल ग्रहको यान २००० रुपैयाँको नोटमा छापिएको छ। हाम्रो वृद्धि १००० गुणाले भएको छ।"

भविष्यका चुनौती

तर भारतले पहिलो अन्तरिक्ष पाइला चालेको ११ वर्षमा धेरै कुरा परिवर्तन भइसकेको छ। रकेट पुनर्प्रयोग गर्ने प्रविधिले खर्च पनि निकै जोगाएको छ।

"हामी पनि त्यसतर्फ लाग्नुपर्छ। हामी पनि पुनर्प्रयोग गर्न मिल्ने रकेट बनाउने काममा लागिपरेका छौँ," उनी भन्छन्।

पुनर्प्रयोग गर्न मिल्ने रकेट
तस्बिरको क्याप्शन, भारतले पुनर्प्रयोग गर्न मिल्ने रकेट बनाइरहेको छ

भारतीय अन्तरिक्ष कार्यक्रम दुर्लभ सफलताको कथाका रूपमा लिइन्छ र राष्ट्रिय समर्थन प्राप्त छ।

यसमा प्राप्त सफलताले भारतलाई प्राविधिक शक्तिका रूपमा परिचित हुन सहयोग पुर्‍याउनेछ।

वर्तमान प्रमुखसहित अहिले पनि आईएसआरओका उच्चकोटीका वैज्ञानिकहरू अन्नादुराई जस्तै ग्रामीण भेग या साना नगरहरूबाट आएका व्यक्ति हुन्।

चन्द्रयान-२

जुलाई महिनामा भारतले निर्धारित समयभन्दा धेरै ढिला गरेर चन्द्रमामा जाने रकेट प्रक्षेपण गर्दैछ। चन्द्रयान-२ चन्द्रमामा पुगेको ११ वर्षपछि।

भारतीय अभियान यस पटक चन्द्रमाको सतहमा केन्द्रित रहनेछ तथा र पानी, खनिज र चट्टान बन्ने प्रक्रियाको तथ्याङ्क सङ्कलन गर्नेछ।

चन्द्रयान-२
तस्बिरको क्याप्शन, यदि योजनाअनुसार अगाडि बढ्यो भने चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्षयान अवतरण गर्ने भारत पहिलो मुलुक बन्नेछ

डा. अन्नादुराईले सुरुमा यसको नेतृत्व गरेका थिए।

उनी भन्छन्, "यो अहिलेसम्मकै सबभन्दा जटिल आयोजना हो।"

यदि सफल भएमा चन्द्रमाको सतहमा अवतरण गर्ने भारत चौथो मुलुक बन्नेछ। यसअघि अमेरिका, तात्कालिक सोभियत सङ्घ र चीन पुगिसकेका छन्।

मानसम्मान

डा. अन्नादुराई चन्द्रमामा जाने दोस्रो लक्ष्य पनि पूरा भएको हेर्न चाहन्थे। तर उनले सन् २०१८ को जुलाई महिनाको अन्तिममा अवकाश पाएका छन्।

उनले अन्तरिक्षको शान्तिपूर्ण प्रयोगका निम्ति बनाइएको संयुक्त राष्ट्रसङ्घीय समितिको दुई वर्ष नेतृत्व गरे।

डा. अन्नादुराई
तस्बिरको क्याप्शन, स्याटलाइट राखेको अनुगमन गर्दै डा. अन्नादुराई

उनले कैयौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन्। सरकारले दिने तेस्रो ठूलो पुरस्कार पनि पाएका छन्।

"म जब १० वर्षको थिएँ, मलाई पौडी सिक्न मन लाग्यो। त्यसैले मेरा साथीहरूले खेतीपातीका लागि खनिएको ठूलो इनारमा लगेर खसालिदिए। "

"मैले तैरिरहन हात खुट्टाहरू चलाउनुपर्थ्यो, मैले छिटै पौडी खेल्न सिकेँ। मेरा कठिन परिस्थितिहरूले गरिबीबाट निस्कने एक मात्र उपाय शिक्षा हो भन्ने महसुस गराए।"

उनी नियमित रूपमा आफ्नो गाउँ गइरहन्छन्। उनले आफू पढेको विद्यालय भवन पुनर्निर्माणका लागि रकम सङ्कलन गर्ने काम गरिरहेका छन्।

इतिहास

डा. अन्नादुराई एउटा सानो कार चलाउँछन् र सामान्य क्षेत्रमा बस्छन्। जीवन मजाको बितेको र आफ्ना लागि धन मुख्य चासोको विषय नभएको उनी बताउँछन्।

डा अन्नादुराई
तस्बिरको क्याप्शन, डा. अन्नादुराई आफ्ना बाबुआमा र परिवारका अरू सदस्यसँग

"जब हामी चन्द्रयान-१ मा काम गरिरहेका थियौं म मेरा सहकर्मीहरूलाई भन्ने गर्थेँ - यो एउटा अर्को आयोजना मात्र होइन, हामी इतिहास निर्माण गर्दैछौँ।"

उनी विद्यालयमा इतिहास पढ्न मन पराउँदैनथे तर उनी अहिले इतिहास बनेर कक्षाकोठामै पुगेका छन्।

उनको गृहप्रदेश तामिलनाडुमा उनको जीवनको कथा विद्यालय पाठ्यक्रममा राखिएको छ।