उत्तर कोरिया: किम जङ-अन क्षेप्यास्त्र परीक्षणमा सहभागी

उत्तर कोरिया
Published

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमहरूले नेता किम जङ-अनले क्षेप्यास्त्रका विभिन्न प्रकारको पार्टपुर्जाहरूको परीक्षण निरीक्षण गरेको बताएको छ।

होडो प्राय:द्वीपबाट जापानी सागरमा शनिवार "केही छोटो दुरीका क्षेप्यास्त्रहरू" परीक्षण गरिएको बताइएको छ।

सञ्चार माध्यममा प्रसारित सूचनाका अनुसार उत्तरी कोरियाली नेताले देशको 'युद्ध क्षमता बढाउन' क्षेप्यास्त्र प्रक्षेपण गर्न आदेश दिएका थिए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीटमा किमले राम्रो सम्बन्धतर्फको बाटोलाई खतरामा नपार्ने विश्वास व्यक्त गरेका छन्।

उनले उत्तर कोरियाली नेतालाई आफ्नो साथ भएको थाहा भएको र आफूसँगको वाचा नतोड्ने बताउँदै समझदारी हुने भनेका छन्।

North Korean leader Kim Jong-un observing missile tests, 4 May 2019

"मलाई विश्वास छ कि किम जङ-अनलाई उत्तर कोरियाको विशाल अर्थिक सम्भावनाका बारेमा थाहा छ र उनले त्यसलाई अन्त्य गर्ने वा रोक्ने कुनै कार्य गर्ने छैनन्," ट्रम्पले शनिवार लेखेका छन्।

ट्रम्प र किम भियतनामको हनोइमा परमाणु निशस्त्रीकरणबारे छलफल गर्न दोस्रो शिखर वार्ताका लागि फेब्रुअरीमा भेला भएका थिए तर अमेरिकाले आफूविरुद्ध लगाएका आर्थिक प्रतिबन्धहरू हटाउने उत्तर कोरियाको मागमा सहमति हुन नसक्दा सो भेटघाट विना सहमति टुङ्गिएको थियो।

आइतवारको समाचारमा उत्तर कोरियाली समाचार संस्था केसीएनएले किमले बाहिरी आक्रमण वा धम्कीको अवस्थामा राजनीतिक सार्वभौमिकता र आर्थिक स्वआधारको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिएको बताएको छ।

समाचारका अनुसार शनिवारको कार्यक्रमको उद्देश्य लामो दुरी प्रहार गर्न सक्ने लन्चरहरूको परिचालन क्षमता र प्रदर्शनको परीक्षण गर्नु रहेको बताएको छ।

उत्तर कोरियाली नेताले आफ्ना सैनिकलाई शान्ति र सुरक्षा कायम राख्न शक्ति चाहिने तीतो सत्यलाई सधैँ मनका राख्न भनेका छन्।

किम जङ-अन

परीक्षणको उद्देश्य

शनिवारको परीक्षणको उद्देश्य परमाणु वार्तालाई अगाडी बढाउन अमेरिकालाई दबाब दिने रहेको ठानिएको छ।

गत महिना उत्तर कोरियाले नयाँ सामरिक हतियारको परीक्षण गरेको बताएको थियो।

त्यो हनोइको वार्तापछिको पहिलो परीक्षण थियो।

ट्रम्प र किम

विज्ञहरूले शनिवारको परीक्षण छोटो दुरीका क्षेप्यास्त्रहरूको भएको बताएका छन्। यसबाट उत्तर कोरियाको लामो दुरी र पारमाणिक हतियार परीक्षण नगर्ने प्रतिबद्धता भने तोडेको छैन।

दक्षिण कोरियाले शनिवारका क्षेप्यास्त्रहरू ७० देखि २०० किलोमिटरको दुरीमा खसेको बताएको छ।