यी देशहरूमा समलिङ्गीलाई मृत्युदण्ड दिइन्छ

Same sex couple
Published

ब्रुनाई समलिङ्गीलाई ढुङ्गाले हिर्काएर मार्ने कानुन लागु गरेर समलैङ्गिकतामा मृत्युदण्ड सजाय दिने आठौँ देश भएको छ।

त्यस्तो कानुन भएको अन्य देश इरान, साउदी अरब, यमन, सुडान, मौरिटानिया, नाइजेरिया र सोमालिया हुन्।

नाइजेरिया र सोमालियाका केही प्रान्तमा समलिङ्गीलाई मृत्युदण्डको सजाय भएको अन्तर्राष्ट्रिय लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्स र इन्टर्सेक्स सङ्घ आईएलजीएले जनाएको छ।

कुनकुन देशले समलिङ्गीलाई मृत्युदण्ड दियो भन्ने पत्ता लगाउन भने सहज छैन।

एमनेस्टी इन्टर्न्याश्नलले विगत केही वर्षमा समलिङ्गीलाई मृत्युदण्ड नदिइएको बताएको छ।

तर इरान र साउदी अरबमा समलिङ्गीलाई मृत्युदण्ड दिइएको इतिहास छ।

नाइजेरियाको मुस्लिमबाहुल्य उत्तरी प्रान्तहरूमा त्यस्तो व्यवस्था भएपनि त्यो कहिल्यै लागु गरिएको छैन।

समलिङ्गी सम्बन्ध गैरकानुनी कहाँ छ?

ब्रुनाईमा पहिले पनि समलैङ्गिकता गैरकानुनी थियो र यसको सजाय १० वर्ष कैद थियो।

समलिङ्गीविरुद्ध कानुन भएका देश
तस्बिरको क्याप्शन, समलिङ्गीविरुद्ध कानुन भएका देश

नयाँ कानुनले महिलाबीचको समलिङ्गी सम्बन्धलाई पनि गैरकानुनी मानेको छ। यसको सजाय ४० कोर्रा वा १० वर्ष जेल वा दुवै रहेको छ।

आईएलजीएको अनुसार संसारका ७० देशमा समलिङ्गी सम्बन्ध गैरकानुनी रहेको छ।

रुससहित अन्य देशमा समलिङ्गी सम्बन्ध गैरकानुनी नभएपनि केही कानुनी बन्देज लगाइएका छन्।

सन् २०१८ मा भारतको सर्वोच्च अदालतले समलिङ्गी सम्बन्धलाई गैरकानुनी बनाउने कानुनी प्रावधानहरू खारेज गरेको थियो।

कानुनी सङ्घर्ष

केही देशमा समलिङ्गी सम्बन्धलाई अवैधानिक बनाउने कानुनविरुद्ध अदालतमा चुनौती दिइएको छ।

त्यहाँ ती कानुन खारेज हुन सक्ने अवस्था छ:

  • केन्यामा सर्वोच्च अदालतले मे २४ मा समलिङ्गी सम्बन्धलाई मान्यता दिने सम्बन्धमा फैसला दिँदैछ
  • बोत्स्वानामा यो वर्ष सर्वोच्च अदालतले समलिङ्गी सम्बन्धका बारेमा फैसला दिनुपर्नेछ
  • जमैकामा समलिङ्गी सम्बन्धलाई गैरकानुनी बनाउने कानुनलाई चुनौती दिइएको छ
मलेशियामा समलिङ्गीलाई कोर्रा
तस्बिरको क्याप्शन, गत वर्ष मलेशियामा एउटा धार्मिक अदालतले दुई महिलालाई समलैङ्गिक यौनसम्बन्ध राख्न खोजेको भन्दै दोषी ठहर गरेको थियो

समलिङ्गी विवाह

संसारका २६ देशमा समलिङ्गी विवाह गर्न पाइन्छ।

समलिङ्गी विवाहको परिभाषा भने फरक हुनसक्छ।

उत्तरी आयरल्यान्डमा त्यस्तो विवाह गैरकानुनी छ, तर यूकेमा वैधानिक मान्यता छ।

समलिङ्गी जोडी
तस्बिरको क्याप्शन, कोस्टा रिकाको सर्वोच्च अदालतले हालै समलिङ्गी विवाहलाई वैध घोषणा गरेको छ

ब्राजिल र मेक्सिको पनि आईएलजीएको सूचीमा छन्।

किनभने त्यहाँ "कुनै न कुनै तरिकाले वैध रूपमा समलिङ्गी विवाह गर्न सम्भव छ"।

समलिङ्गी विवाह वैध भएका देशहरू:

  • २००१ नेदरल्यान्डस
  • २००३ बेल्जियम
  • २००५ क्यानडा र स्पेन
  • २००६ दक्षिण अफ्रिका
  • २००९ नर्वे र स्वीडन
  • २०१० आइसल्यान्ड, पोर्चुगल र आर्जेन्टिना
  • २०१२ डेन्मार्क
  • २०१३ उरुग्वे, न्यूजिल्यान्ड, फ्रान्स र ब्राजिल
  • २०१४ यूके (उत्तरी आयरल्यान्डबाहेक)
  • २०१५ लग्जेम्बर्ग, आयरल्यान्ड, मेक्सिको र अमेरिका
  • २०१६ कोलम्बिया
  • २०१७ फिनल्यान्ड, माल्टा, जर्मनी र अस्ट्रेलिया
  • २०१९ अस्ट्रिया

सन् २०१८ अगस्टमा कोस्टा रिकाको सर्वोच्च अदालतले समलिङ्गी विवाहमाथिको प्रतिबन्धलाई अवैध भन्दै सासंदहरूलाई १८ महिनाभित्र कानुन परिवर्तन गर्न आदेश दिएको थियो।

Presentational grey line
Reality Check branding