अभिनन्दन: पाइलट पक्राउबारे गाउँलेहरूले बताए घटनाको विवरण

भारतीय पाइलट
Published
पढ्ने समय: ३ मिनेट

भारतीय वायुसेनाका पाइलट अभिनन्दन वर्तमानलाई पक्राउ गरिएको विषयमा नाटकीय नयाँ विवरणहरू आएका छन्।

होरान गाउँका मानिसहरूले ती पाइलटलाई कब्जामा लिनुअघि ढुङ्गा हानेको प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएका छन्।

बुधवार पाकिस्तान र भारतका लडाकु विमानहरूबीच लडाइँ भएपछि पाकिस्तान प्रशासित कश्मीरमा गोली हानेर एउटा भारतीय विमानलाई पाकिस्तानपट्टि खसालिएको थियो।

पाकिस्तानले ती भारतीय पाइलटलाई शुक्रवार रिहा गर्ने जनाएको छ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले उक्त निर्णय संसद्‌मा घोषणा गरेका हुन्।

उनले संसद्‌मा युद्धलाई मत्थर पार्नतर्फ पाकिस्तान केन्द्रित भएको बताएका थिए।

कसरी खस्यो विमान

कश्मीरमा फेब्रुअरी १४ मा भारतीय सुरक्षाकर्मीहरूमाथि आत्मघाती आक्रमण भएपछि भारतले मङ्गलवार पाकिस्तानस्थित लडाकु शिविरमा हवाई आक्रमण गरेको बताएको थियो।

पाकिस्तानले भने बुधवार भारतले गरेको हवाई आक्रमणको प्रतिरोध गर्नुको विकल्प आफूसँग नभएको जनाएको छ।

होरान गाउँका प्रमुखले बुधवारको नाटकीय आक्रमणबारे बीबीसीलाई बताएका छन्।

"मेरो उद्देश्य पाइलटलाई जीवितै पक्राउ गर्नुथियो। मैले उनको प्यारासुटमा भारतको झन्डा देखेर उनी भारतीय हुन् भन्ने थाहा पाएको थिएँ," मोहम्मद रजाक चौधरीले भने।

अन्ठाउन्न वर्षीय चौधरीले आफूले एमआईजी-२१ लडाकु विमानमा गोली लागेको र जमिनमा खस्दै गर्दा बुधवार बिहान देखेको बताएका छन्।

पाकिस्तानले खसालेको भनिएको भारतीय लडाकु विमानको अवशेषनजिकै पाकिस्तानी सैनिकहरू
तस्बिरको क्याप्शन, पाकिस्तानले खसालेको भनिएको भारतीय लडाकु विमानको अवशेषनजिकै पाकिस्तानी सैनिकहरू

उनले अरू गाउँले जस्तै आफू पनि उक्त क्षेत्रमा हतारिएर पुगेको बताए।

"मलाई उनीहरू [गाउँलेहरू]ले उनले हामीलाई हानि पुर्‍याउलान् भन्ने डर लागेको थियो," चौधरीले भने।

चौधरी पाकिस्तानका प्रधानमन्त्री इमराज खानको पीटीआई पार्टीसँग आबद्ध छन्।

लखेटे गाउँलेले

उनका अनुसार उनी उक्त क्षेत्रमा पुग्दा पाइलटले केही गाउँलेहरूलाई आफू भारतीय भूमिमा अवतरण भएको हो भनेर सोधेका थिए।

र, गाउँलेहरूमध्ये एकजना बालकले 'हो' भनी छिट्टै जबाफ दिएका थिए।

"ती पाइलटले आफ्नो प्यारासुट खोले र राष्ट्रिय प्रेमका नाराहरू लाए। तर उनीनजिकै रहेका एक बालकले 'पाकिस्तान अमर रहोस्' भनेका थिए। त्यही बेला पाइलटले आफ्नो बन्दुक झिके र तर्साउनका लागि हावामा बन्दुक पड्काए।"

तर त्यसले वरपर रहेका मानिसहरूलाई आक्रामक बनाएको चौधरीले बताए।

उनका अनुसार ती मानिसहरूले ढुङ्गा उचाले र हाने।

त्यसपछि उनी हावामा बन्दुक पड्काउँदै भागेको चौधरीले बताए।

"केटाहरूले एउटा खोल्सामा उनी नखस्दासम्म पच्छ्याए र हतियार भएका एकजना मेरा भतिजले उनलाई खुट्टामा गोली हाने," चौधरीले भने।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

"मेरा भतिजले उनलाई आफ्नो बन्दुक राख्न भने र उनले त्यसै गरे। त्यसपछि अर्को कसैले उनलाई समाते र उनीसँग यदि कुनै अरू हतियार थियो भने त्यसको प्रयोगलाई पनि रोके।"

त्यसपछि ती पाइलटले आफ्नो खल्तीबाट केही कागजहरू झिकेर त्यसलाई नष्ट गर्न आफ्नो मुखमा हालेका थिए। तर गाउँलेहरूले उनीबाट केही कागज थुत्न सके। पछि उनीहरूले ती कागज सेनालाई दिए।

"हाम्रा केटाहरू धेरै रिसाएका थिए र उनलाई झापड र मुक्का हान्न नजिक जान खोजेका थिए। तर केहीले भने त्यसरी आक्रामक रूपमा प्रस्तुत हुनेहरूलाई रोक्न प्रयास गरेका थिए। मैले पनि सेनाका अधिकारीहरू नआउँदासम्म ती पाइलटलाई नकुट्न उनीहरूलाई भनेँ।"

विमान चालक

बुधवार बिहान विवादास्पद कश्मीरमा भएको लडाइँपछि भारतले सुरुमा पाकिस्तानले आफूले एक पाइलटलाई पक्राउ गरेको दाबी गरेको भनाइसँग बाझिनेगरी आफ्ना सबै पाइलटहरू आफूसँगै रहेको जनाएको थियो।

तर पाकिस्तानका सूचनामन्त्रीले आँखामा पट्टी लगाएका र अनुहारमा रगत देखिएका पाइलटको भिडिओ सार्वजनिक गरेका थिए। पछि उनले उक्त भिडिओ हटाए।

त्यसपछिको अर्को भिडिओ सामग्रीमा उक्त समूहका कमान्डर अभिनन्दनले चिया पिउँदै गरेको देख्न सकिन्थ्यो।

उनले आफूलाई पाकिस्तानी अधिकारीहरूले राम्रो व्यवहार गरिरहेको बताएका थिए।

उनलाई पक्राउ गरिएको विषय भारतका लागि एउटा ठूलो धक्का भएको रूपमा हेरिएको छ।

संवाददाताहरूले भनेका छन्, पाकिस्तानमाथि कूटनीतिक दबाव निरन्तर रूपमा आइरहँदा ती पाइलटलाई छिट्टै भारतीय हिरासतमा लैजान दिइने अनुमान गरिएको छ।

बिहीवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प दुई देशलाई शान्ति कायम गर्न आह्वान गर्ने पहिलो विश्वनेता बनेका थिए।

भारत र पाकिस्तान दुवैले आफूले युद्ध नचाहेको बताएका छन्।