नेपाललाई एकदिवसीय क्रिकेट शृङ्खला जिताएपछि कप्तान पारस खड्का भन्छन्, 'यो सुरुवात मात्रै हो, भविष्यमा अरू मौका आउनेछन्'

पारस खड्का
Published
पढ्ने समय: ३ मिनेट

यूएईलाई एकदिवसीय क्रिकेट शृङ्खलामा पराजित गरेर ऐतिहासिक सफलता हासिल गरेपछि नेपालका कप्तान पारस खड्काले यो विजय सुरुवात मात्रै भएको बताएका छन्।

"यो सुरुवात मात्रै हो। भविष्यमा धेरै मौकाहरू आउनेछन् र हामीले राम्रो खेल्न आफूलाई जगाइरहनु पर्छ र यस्तै परिणाम आउने आशा गर्नुपर्छ," खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीसँगको कुराकानीमा भने।

निर्णायक खेलमा नेपालको लागि पहिलो एकदिवसीय शतक बनाएका कप्तान खड्का सो खेल र पूरै शृङ्खलाको उत्कृष्ट खेलाडी घोषित भएका थिए।

"हाम्रो पहिलो एकदिवसीय शृङ्खलामा विजयी भएकोले म खुसी छु। मलाई लाग्छ यो ठूलो जित हो," खड्काले भने।

यूएईबाट प्रकाशित हुने समाचारपत्रिका 'द न्याश्नल'लाई खड्काले सोमवार नेपाली क्रिकेटको एउटा उज्यालो दिन भएको बताए।

"हाम्रा उज्यालो दिनहरूमध्ये एक हो। महान् दिन भन्न गाह्रो छ किनभने देशका लागि खेल्ने प्रत्येक मौका पाउँदा त्यो दिन भव्य हुन्छ।"

समर्थकको साथ र खुसी

नेपाली टोली

नेपाली क्रिकेट खेलाडी र समर्थकहरूले गत वर्ष मात्रै एकदिवसीय क्रिकेट खेल्न मान्यता पाएको नेपालको पहिलो शृङ्खला उपाधिको विजयोत्सव मनाइरहेका छन्।

दुबईको मैदानमा पनि सयौँको सङ्ख्यामा नेपाली समर्थकहरू पुगेका थिए।

"हाम्रो उत्साहको एउटा सबैभन्दा ठूलो कारक समर्थकहरू नै हुन्। जहाँ खेल्न गएपनि हामी समर्थन पाउँछौँ," खड्काले भने।

सोमवार खेलपछि ट्वीट गर्दै खड्काले लेखेका थिए, "हाम्रो पहिलो एकदिवसीय शृङ्खला विजय… खेलाडी र व्यवस्थापनको तर्फबाट अद्भुत समूहगत प्रयास, भावना र प्रतिबद्धता… आशीर्वाद, समर्थन र कृतज्ञताका लागि सबैलाई धन्यवाद… जय नेपाल!"

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

नेपालले निर्णायक तेस्रो खेल चार विकेटले जितेर तीन खेलको शृङ्खला २-१ ले जितेको हो।

दुबईमा भएको पहिलो खेलमा तीन विकेटको पराजय भोगेको नेपालले दोस्रो खेल भने १४५ रनको विशाल अन्तरले जितेको थियो।

थप आशा

पारस खड्का

"अबको दुई-तीन वर्षका लागि हामीसँग एकदिवसीय क्रिकेट खेल्ने मान्यता छ र क्रिकेट विश्वमा पहिचानका लागि यस्ता थप नतिजाहरू चाहान्छौ," खड्काले भने।

नेपालले सन् २०१८ मार्चमा सन् २०२२ सम्मका लागि एकदिवसीय क्रिकेटको मान्यता पाएको हो।

खड्काले खेलमा ११५ रन बनाउँदै नेपालको तर्फबाट एकदिवसीय क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी बने।

खड्का एकदिवसीय खेलमा सर्वाधिक सफल नेपाली ब्याट्स्म्यान हुन्। उनले छवटा एकदिवसीय खेलमा एक शतक र एक अर्धशतकसहित कुल २३५ रन बनाएका छन्।

Presentational grey line

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सफल नेपाली ब्याट्स्म्यान

• पारस खड्का: २३५ रन

• सोमपाल कामी: १४६ रन

• ज्ञानेन्द्र मल्ल: १४३ रन

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सफल नेपाली बलर

• सन्दीप लामिछाने: १५ विकेट

• सोमपाल कामी:१३ विकेट

• पारस खड्का: ९ विकेट

Presentational grey line

टोलीको प्रशंसा

खड्काले आफ्नो टोलीका खेलाडीहरूको मुक्तकण्ठले प्रशंसा गरेका छन्।

"म खेलाडीहरूबाट खुसी छु। सबैजना ज्यादै मिहेनत गरिरहेका छन्," द न्याश्नलसँग उनले भने।

"हाम्रो टोली युवा छ र हामी यो टोलीको विशेषताको आधारमा टोली बनाउन प्रयासरत छौँ। परिणाम हाम्रो पक्षमा आयो तर हामी अझै धैर्यवान् हुनुपर्छ।"

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

खड्का आउट हुँदा नेपालको कुल रन २१५ मात्रै थियो। टोलीलाई विजयका लागि अझै ४० रन आवश्यक भएकोमा आरिफ शेख र सोमपाल कामीले धैर्यपूर्वक खेलेर जित दिलाएको उनले बताए।

यूएईविरुद्धको शनिवारको दोस्रो खेलमा नेपालको जितमा रोहित पौडेल, सोमपाल कामी र सन्दीप लामिछाने नायक बनेका थिए।

सत्र वर्षीय पौडेलले अर्धशतक बनाउँदै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने सचित तेन्दुलकर र शाहिद अफ्रिदीको कीर्तिमान भङ्ग गरेका थिए।

कामीले नेपालको लागि पहिलो पटक एकै खेलमा पाँच विकेट लिएका थिए भने लामिछानेले चार विकेट लिएका थिए।

आईसीसी वरियतामा नेपाल

यूएईसँगको तीन खेलसहित नेपालले छवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ।

अब नेपालले क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको एकदिवसीय वरियता सूचीमा स्थान पाएको छ।

छ खेलमा तीन हार र तीन जितको नतिजाले नेपाल पुछारमा १५ औँ स्थानमा छ।

नेपालको १५२ अङ्क र १५ रेटिङ अङ्क छ।