भेनेजुएला स‌कंट: आफ्ना कूटनीतिज्ञ खतरामा परे कडा कार्वाही गर्ने अमेरिकी चेतावनी

जन बोल्टन, अमेरिका
तस्बिरको क्याप्शन, जन बोल्टनले उनकै शब्दमा निकोलस मदुरोको माफिया तन्त्रबाट आफूलाई मुक्त गर्ने भेनेजुएलाली जनताको प्रयत्नलाई वासिङ्टनले समर्थन गर्ने बताएका छन्।
Published

संयुक्त राज्य अमेरिकाले भेनेजुएलास्थित अमेरिकी कूटनीतिज्ञ वा विपक्षी नेता ह्वाँ गुआइदोविरुद्ध कुनै पनि प्रकारको हिंसा वा धम्की भए त्यो सह्य नहुने र त्यसप्रति उल्लेखनीय प्रतिक्रिया दिइने चेतावनी दिएको छ।

राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले उनकै शब्दमा निकोलस मदुरोको माफिया तन्त्रबाट आफूलाई मुक्त गर्ने भेनेजुएलाली जनताको प्रयत्नलाई वासिङ्टनले समर्थन गर्ने बताएका छन्।

बोल्टनको आइतवारको ट्वीट सन्देश अमेरिका र अन्य बीस देशहरूले गुआइदोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति मानेको केही दिनपछि आएको हो।

उनीहरूले गत वर्षको निर्वाचनमा राष्ट्रपति निकोलास मदुरोले धाँधली गरेको आरोप लगाएका छन्।

गुआइदो र मदुरोबीच टकराव

भेनेजुएला
तस्बिरको क्याप्शन, मतदानमा धाँधली गरेको भन्ने विपक्षीको विरोध र आरोपका बीच भेनेजुएलाको राष्ट्रपतिको दोस्रो कार्यकालको लागि मदुरोले शपथ ग्रहण गरेका थिए।

गुआइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिने देशहरूको अग्रपङ्क्तिमा अमेरिका रहेको छ।

एउटा सैन्य अभ्यासमा सहभागी सैनिकहरूलाई सम्बोधन गर्दै मदुरोले साम्राज्यवादीहरूबाट हुन सक्ने सत्ता हत्याउने प्रयासलाई विफल तुल्याउन तयार रहन आग्रह गरेका छन्।

तर विपक्षी नेता गुआइदोले चाहिँ सैनिकहरूलाई आफ्नै देशका जनतामाथि गोली नहान्न आग्रह गरेका छन्। "मातृभूमि भेनेजुएलाका सिपाहीहरूलाई म अनुरोध गर्न चाहन्छु तपाईँहरू आफ्नै देशमा जनतामाथि गोली नचलाउनुहोस्। जनताहरू संविधानअनुसार तपाईँहरूकै परिवार, काम र जीविकाको रक्षा गर्न सडकमा आएका हुन्।"

त्यसअघि राष्ट्रपति मदुरोले आठ दिन भित्र आम चुनाव आह्वान गर्न युरोपेली देशहरूले गरेको आग्रहको आलोचना गरेका थिए।

राजनीतिक संकट

मतदानमा धाँधली गरेको भन्ने विपक्षीको विरोध र आरोपका बीच भेनेजुएलाको राष्ट्रपतिको दोस्रो कार्यकालको लागि मदुरोले शपथ ग्रहण गरेका थिए।

उनलाई राष्ट्रपति पदबाट हटाउने विपक्षीहरूको बढ्दो प्रयाससँगै भेनेजुएलाको राजनीतिक संकट उच्च विन्दुमा पुगेको देखिन्छ।

आइतबार अमेरिकाका लागि भेनेजुएलाका वरिष्ठ सैन्य प्रतिनिधि कर्नेल जोस लुइस सिल्भाले पनि मदुरोको सरकारको विरोध गर्दै गुआइदोको समर्थन गरेका छन्।