#10YearsChallenge: दश वर्षमा धेरै कुरा बदलिए तर यी बदलिएनन्

Published

दश वर्ष अगाडि हामी कहाँ थियौ? सन् २००९ मा प्रख्यात गायक माइकल ज्याक्सन बितेका थिए, अमेरिकी राष्ट्रपति बाराक ओबामाले शपथ ग्रहण गरेका थिए र स्वाइन फ्लू महामारीले विश्वलाई हल्लाएको थियो।

बाराक ओबामाको शपथ
तस्बिरको क्याप्शन, बाराक ओबामाले अमेरिकी राष्ट्रपतिका रुपमा शपथ लिएको जुग बितेझै लाग्छ तर विश्व धेरै कुरामा अझ पनि उस्तै छ।

सामाजिक सञ्जालमा विश्वभर मानिसहरू #10YearsChallenge लेखेर दश वर्ष पुरानो तस्वीरहरू राखिरहेकाछन्। तर 'म बूढो देखिएछु' भन्ने खाले टिप्पणीलाई मात्रै नहेर्ने हो भने गएको दश वर्षमा विश्वमा हामीले सोचेजस्तो परिवर्तन नभएको देख्न सकिन्छ।

अझै उस्तै

यदि कोही दश वर्षको बेहोशीबाट भर्खरै उठ्यो भने उस्ले विश्वका दर्जनौ देशको शक्तिकेन्द्रमा अझै पनि उहि पुराना अनुहारहरू देख्न सक्छ।

Vladimir Putin (Russia); Angela Merkel (Germany); Evo Morales (Bolivia); Recep Tayyip Erdoğan (Turkey); Ilham Aliyev (Azerbaijan); Alexander Lukashenko (Belarus); Pierre Nkurunziza (Burundi); Paul Biya (Cameroon); Benjamin Netanyahu (Israel); Nursultan Nazarbayev (Kazakhstan); Paul Kagame (Rwanda); Bashar Al-Assad (Syria); Gurbanguly Berdimuhamedow (Turkmenistan); Yoweri Museveni (Uganda); Abdelaziz Bouteflika (Algeria); Idriss Déby (Chad); Joseph Kabila (DRC); Denis Sassou Nguesso (Congo); Ismaïl Omar Guelleh (Djibouti); Teodoro Obiang Nguema Mbasogo (Equatorial Guinea); Isaias Afwerki (Eritrea); Ali Bongo Ondimba (Gabon); Mahmoud Abbas (Palestine); Emomalii Rahmon (Tajikistan); Faure Gnassingbé (Togo); Omar Al-Bashir (Sudan)
तस्बिरको क्याप्शन, चिनेको झै लाग्यो?

दश वर्ष अगाडि शक्तिमा रहेका यिनीहरू सैनिक विद्रोह 'कु'बाट बचेर, संविधान पुनर्लेखन गरेर, गठबन्धन बनाएर र पटक पटक निर्वाचनमा जितेर अझै शक्तिमै छन्। विश्वमा गएको दशक राजनीतिक रुपमा उथलपुथल भएको भएपनि यिनीहरु शक्तिमा अडिरहन सफल भएका छन्।

स्वीट्जरल्यान्डमा भने गएको दश वर्षमा १० जना राष्ट्रपति भएका छन् किनभने त्यहाँ एक जना एक वर्षमात्रै राष्ट्रपति हुन पाउने संबैधानिक व्यवस्था छ।

नेपालमा भने यो अवधिमा सात जना प्रधानमन्त्री र एक जना मन्त्रिपरिषद् अध्यक्ष पदमा बहाल भए।

अझै पग्लिंदै

विश्व तापक्रम
तस्बिरको क्याप्शन, विश्व तापक्रम गएको १० वर्षमा नियमित बढेको छ।

यो खालि सगरमाथा वा सागरको बारेको कुरा मात्रै होइन। हामीले मानवसिर्जित जलवायु परिवर्तनका बारेमा थाहा पाएको एक शताब्दी भइसक्यो।

तर हाम्रो दृष्टिकोण जस्ताको तस्तै छ।

जलवायु परिवर्तनले सबैभन्दा पहिले र सबैभन्दा कडारुपमा अति गरिब जनसंख्यालाई क्षति पुर्याउँछ, तर विश्वलाई यसको असर कम गर्ने एउटा सहमतिमा आउन २१ वर्ष लाग्यो।

सन् २०१८ को डिसेम्बरमा पोल्यान्डमा भएको 'सीओपी२४' सम्झौता जलवायु परिवर्तनको असर कम गर्न कार्बन उत्सर्जन घटाउने विषयमा ठोस कार्य सुरु गर्ने पहिलो सहमति हो।

तर गएको १० वर्षमा जलवायु परिवर्तनका विषयमा कमै ठोस काम भएको छ र विश्वको तापक्रम बढ्ने क्रम रोकिएको छैन।

सन् २००९ मा अमेरिकी अन्तरिक्ष निकाय नासाले विगत ३० वर्षको भन्दा औसतमा ०.६३ सेल्सियस तापक्रम बढेको बताएको थियो । सन् २०१७ मा यो बढेर ०.९० सेल्सियस पुगेको थियो।

अझै गरीब

ठूला घर र शरणार्थीहरु
तस्बिरको क्याप्शन, विश्वभर धनी र गरिबबिचको खाडल बढिरहेको छ।

गएको दशकमा परिवर्तन देखिएको एउटा क्षेत्र भनेको विश्वका धनी कम्पनीहरु हो। दश वर्ष अगाडि विश्वका धनी कम्पनीहरु तेल वा बैकिङ्गसँग सम्बन्धित थिए।

सन् २०१८ मा भने फाइनान्सियल टाइम्सको विश्वका धनी ५० कम्पनीको सूचीमा सबैभन्दा धेरै एपल, गुगल, माइक्रोसफ्ट, एमजन वा टेन्सेन्टजस्ता प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरु छन्।

तर कुनै कुरा जहाँको तहिँ छ भने त्यो हो धनी र गरीबबिचको गहिरो खाडल। सन् २००८ को आर्थिक मन्दीपछि यो खाडल अझ फराकिलो भएको छ।

यूकेको संसदले गरेको एक अध्ययनका अनुसार सन् २००८ र सन् २०१७ को बिचमा विश्वका एक प्रतिशत सबैधन्दा धनीहरुको सम्पति छ प्रतिशतले बढ्यो भने ९९ प्रतिशत अन्यको सम्पति तीन प्रतिशतले मात्रै बढ्यो।

सो प्रतिवेदनले सन् २०३० सम्ममा धनी एक प्रतिशतले विश्वको ६४ प्रतिशत सम्पतिमाथि कब्जा जमाउने जनाएको छ।

अझै असमान

२०१८ न्यूयोर्कको महिलावादी र्‍याली
तस्बिरको क्याप्शन, विश्वभर महिलाको पक्षमा मानिसहरु उभिएका छन् तर असमनता अझै जताततै छ।

महिला सशक्तिकरणको बारेमा जति चर्चा भएपनि यथार्थमा भने महिलाहरुकालागि वास्तविकतामा धेरै परिवर्तन भएको छैन।

केही कुराहरू भने फरक भएका छन्। युकेमा 'अपस्कर्टिङ' भनिने लुकेर अर्काको कम्मरमुनिको लुगाभित्रको तस्वीर खिच्ने कार्यलाई गैरकानुनी बनाइयो।

दक्षिण कोरियामा लुकाइएका क्यामराबाट सहमति नलिइ खिचिएका अश्लील भिडिओको सबैभन्दा ठूलो वेबसाइट बन्द गरियो।

साउदी अरेबियामा महिलाहरूलाई फुटबल खेल हेर्न अनुमति दिइयो र केहीलाई चालक अनुमतिपत्र पनि दिइयो । र भारतमा महिलाहरूलाई पुरुषहरूलेमात्रै प्रवेश पाउने मन्दिरमा प्रवेश अनुमति दिइयो।

तर अझै नेपालमा छाउगोठमा महिलाहरु मरिरहेकाछन्।

अफ्रिकामा यौनाङ्ग छेदनको परम्पराले महिलाहरूलाई मारिरहेकोछ। भारतमा महिलाहरूमाथि अझै सामूहिक बलत्कार भइरहेकै छ। एल सल्भाडोरमा अझै गर्भपतन गर्दा जेल जानु पर्ने अवस्था छ ।

र विश्वभर महिलाहरूका लागि सबैभन्दा खतरनाक स्थान भनेको उनीहरूको आफ्नो घर नै रहिरहेको छ।

असमानता हटाउने कार्य यति सुस्तगतिमा भइरहेको छ कि वर्ल्ड इकोनोमिक फोरमका अनुसार महिला र पुरुषको ज्याला बराबर हुन अझै २०२ वर्ष लाग्छ।