किम जङ-अनद्वारा आणविक निश्शस्त्रीकरणको बाटो परिवर्तन गर्ने चेतावनी

कोरिया
Published

उत्तर कोरियाली नेता किम जङ-अनले आफू परमाणु अस्त्र निश्शस्त्रीकरणप्रति प्रतिबद्ध रहेपनि अमेरिकाले उसको नाकाबन्दी कायम राखे आफूले बाटो परिवर्तन गर्ने बताएका छन्।

धेरैले चासोका साथ हेरिरहेको उनको नयाँ वर्षको सम्बोधनमा उनले उक्त घोषणा गरेका हुन्।

गत वर्षको घोषणाले मुलुकलाई दक्षिण कोरिया र अमेरिकासँग अभूतपूर्व रुपमा अन्तर्राष्ट्रिय कूटनीतितर्फ डोहोर्‍याएको थियो।

North Korean military parade
तस्बिरको क्याप्शन, उत्तर कोरियाली सैन्य परेड

किमले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग जुन २०१८ मा परमाणु अस्त्र निश्शस्त्रीकरणबारे छलफल गर्न भेटेका थिए तर त्यसको परिणाम निकै कम रहेको छ।

अमेरिकी भूभागसम्म पुग्ने क्षमताका उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणहरू गरिएका घटना तथा प्योङयाङ र वाशिङटनबीच भनाभनयुक्त वर्ष सन् २०१७ पछि सन् २०१८को पहिलोदिन उत्तर कोरियाली नेताको नयाँ भनाइ आएको थियो।

कम्युनिष्ट मुलुकका संस्थापक तथा उनका हजुरबु्वा किम इल सङको परम्परा कायम राख्दै किम जङ-अनले नयाँ वर्षका दिन महत्वपूर्ण घोषणा गर्ने गरेका हुन्।

North Korean military parade
तस्बिरको क्याप्शन, उत्तर कोरियाली सैन्य परेड

घरेलु श्रोता लक्षित गरेर अर्थतन्त्रबारे कुराकानी गर्ने लक्ष राखिएपनि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले उनका भनाइका हरेक लाइनमा प्योङयाङको अन्तर्राष्ट्रिय एजेन्डाको भेउ खोज्ने गर्छन्।

मंगलवार बिहानै राज्य नियन्त्रित टेलिभिजनमा प्रसारण गरिएको घोषणामा किमले भने, "यदि अमेरिकाले सारा संसार सामु व्यक्त गरेको आफ्नो प्रतिबद्धता कायम राख्दैन र ….हामीमाथि नाकाबन्दी र दबाव जारी राख्छ भने हाम्रो सार्वभौमसत्ता र हाम्रो स्वार्थ सुरक्षार्थ नयाँ बाटो लिनुको विकल्प छैन।"

सोलस्थित बीबीसीकी लोरा बीकर भन्छिन्, यसको अर्थ उत्तर कोरिया सन २०१९ मा अमेरिकाले केही गरोस भन्ने चाहन्छ अन्यथा अहिले रोकिएको आणविक हतियार परीक्षणको समय समाप्त हुन सक्छ। उसको प्रतिबन्धित आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमका कारण संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको विभिन्न प्रकारको नाकाबन्दी झेल्दै आएको छ।

किमले भने उत्तर कोरियाले आणविक हतियार उत्पादन, प्रयोग र प्रसार नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ र त्यसो हुन नदिन ठोस कदमहरू कार्यान्वयन गरेको छ।

उनले आफू ट्रम्पसँग कुनै पनि समय भेटवार्ता गर्न तयार रहेको बताए।

एनके न्यूजका ओलीभर होथमले बीबीसीलाई भने, "धेरैले अपेक्षा गरेजस्तै उनको लवज थियो।"आफ्नो देशमा मुख्य मुद्दाहरूमा अडान, अमेरिकाप्रति मेलमिलापमुखी तर दृढ सन्देश र सोलप्रति परस्परको सहयोगको संभावना सहितको भाषण थियो।"

गत साल नयाँ वर्षको सन्देशमा किमले उत्तर कोरिया दक्षिण कोरियाले आयोजक रहेको विन्टर ओलिम्पिक्समा सहभागी हुने घोषणा गरेका थिए जसले दुई मुलुकबीचको सम्बन्ध सुधारतर्फ लागेको थियो।

North Korean missile launch
तस्बिरको क्याप्शन, उत्तर कोरियाले उसको आणविक र क्षेप्यास्त्र परीक्षण रोकेको छ

केही कुटनीतिक गतिविधिहरूपछि एप्रिल महिनामा किम जङ-अन र कोरियाली राष्ट्रपति मून जे-इनले कोरियाली सीमा

उनीहरू त्यसपछि पनि दुईपटक भेटवार्ता गरे।

तर गत वर्ष जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपतिसँगको भेटवार्ता भने सबभन्दा ऐतिहासिक थियो।

त्यो नै उत्तर कोरियाली नेताले बहालवाला अमेरिकी राष्ट्रपति भेटेको पहिलो अवसर थियो। दुवैजनाले आणविक निरस्त्रीकरण तर्फ लग्न अस्पष्ट किसिमको सहमतिमा हस्ताक्षर गरेका थिए।

Mr Trump and Mr Kim shake hands
तस्बिरको क्याप्शन, गत जुन महिना ऐतिहासिक थियो तर त्यस यता किम र ट्रम्प झन टाढिएको बताइन्छ

उत्तर कोरियाले क्षेप्यास्त्र र आणविक परिक्षण रोकेपनि अमेरिकाले चाहेको जस्तो पूर्ण निशस्त्रीकरणकर्फ लागेको भन्ने संकेत मिलेको छैन।

उत्तर कोरियाले केही परीक्षण केन्द्रहरू बन्द गरेको भएपनि उसको हतियार कार्यक्रम निरन्तर रहेका आरोप छ।

राष्ट्रपति ट्रम्पले आगामी फेब्रुअरीसम्ममै दोश्रो शिखर सम्मेलनको अपेक्षा राखेको बताएपनि त्यो अहिलेसम्म निश्चित भएको छैन।

किम जङ अन दक्षिण कोरियाको राजधानी सोल जाने र कोरियालीबीचको अर्को शिखर सम्मेलन गर्ने योजना भएपनि अहिलेसम्म निश्चित भएको छैन्।