श्रीलङ्काः राष्ट्रपतिद्वारा संसद् भङ्ग

राष्ट्रपति सिरिसेना
तस्बिरको क्याप्शन, राष्ट्रपति सिरिसेना
Published

प्रधानमन्त्रीलाई हटाउने प्रयासपछि देशमा उत्पन्न राजनीतिक सङ्कटबीच श्रीलङ्काका राष्ट्रपति माइत्रीपाला सिरिसेनाले संसद्‌ भङ्ग गरेका छन्।

स्थानीय समय अनुसार शुक्रवार मध्यरातदेखि संसद् भङ्ग भएसँगै ज्यानुअरी ५ मा त्यहाँ आमचुनाव हुनेछ।

यद्यपि राष्ट्रपतिको पछिल्लो कदमलाई सर्वोच्च अदालतमा कानूनी चुनौती दिन सकिनेछ।

बर्खास्त गरिएका प्रधानमन्त्री रनिल विक्रमसिङ्गको पार्टीले त्यस्ता कदम चाल्ने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ।

सङ्कट

विक्रमसिङ्गलाई हटाएर उनको ठाउँमा राजापक्षलाई ल्याउने राष्ट्रपतिको प्रयासपछि त्यहाँ उत्पन्न राजनीतिक सङ्कटमा अर्को मोड थपिएको छ।

गत महिना राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री विक्रमसिङ्गलाई बर्खास्त गर्दै उनको स्थानमा पूर्वराष्ट्रपति महिन्दा राजापक्षलाई अघि सारेका थिए।

राष्ट्रपतिले संसद् र मन्त्रिपरिषद् दुवै निलम्बन गरेका थिए।

प्रधानमन्त्री विक्रमसिङ्ग
तस्बिरको क्याप्शन, प्रधानमन्त्री विक्रमसिङ्ग

तर सो कदम गैरकानूनी भन्दै विक्रमसिङ्गले पद छाड्न अस्वीकार गर्दै आएका छन्।

देशको नाममा गरिएको आफ्नो सम्बोधनमा सिरिसेनाले प्रधानमन्त्रीको नियुक्ति संविधानअनुसार नै र कानुनविद्हरूको सल्लाहमै गरिएको बताएका थिए।

'गैरकानूनी'

विक्रमसिङ्गको युनाइटेड न्याशनल पार्टी (युएनपी) का एक सांसदले संसद् भङ्ग गर्ने राष्ट्रपतिको कदम 'गैरकानूनी' भएको भन्दै त्यो अस्वीकृत हुने विश्वास व्यक्त गरेका छन्।

सांसद अजित पेरेराले बीबीसीलाई भने, "हामीले देशमा रक्तपात सिर्जना नहुने गरी यो समस्याको शान्तिपूर्ण समाधान खोज्न निर्वाचन आयोगलाई आग्रह गरिरहेका छौँ।"

बीबीसी सिंहालाका आजम आमीन भन्छन्, नयाँ सरकारका लागि संसद्‌मा पर्याप्त समर्थन नभएकोले सिरिसेना र राजापाक्ष दुवैले समय अगावै चुनाव चाहेका छन्।

पूर्वराष्ट्रपति राजापक्ष
तस्बिरको क्याप्शन, पूर्वराष्ट्रपति राजापक्ष

श्रीलङ्कामा पूर्वराष्ट्रपति राजपक्ष लोकप्रिय छन् तर विवादास्पद पनि।

उनले नै सन् २००९ मा गृहयुद्धको अन्त्य भएको घोषणा गरेका थिए। तर तामिल विद्रोहीसँगको युद्ध जित्न अपनाइएका उपायका कारण उनको आलोचना हुने गरेको छ।