एउटा मन्दिर जहाँ रजस्वला भएको बेला पनि जान पाइन्छ

मन्दिर
    • Author, ए. डी. बालासुब्रमण्यम
    • Role, सम्वाददाता, बीबीसी तमिल
  • Published

भारतको सर्वोच्च अदालतले एउटा निर्णय सुनाउँदै सबै उमेर समूहका महिलालाई केरलाको सबरीमाला मन्दिरमा प्रवेश दिन भनेपछि त्यसको विरोध भइरहेको छ।

फैसलाको विरोधमा मन्दिर वरिपरि मानिसहरूले अझै धर्ना दिने क्रम जारी छ।

शुक्रवार कडा सुरक्षाबीच दुईजना महिलाले उक्त मन्दिरमा प्रवेश गर्ने प्रयत्न गरे पनि विरोधका कारण उनीहरू छिर्न पाएनन्।

सो मन्दिरमा १० देखि ५० वर्ष उमेरसम्मका महिलालाई प्रवेश निषेध थियो जुन नियमलाई सर्वोच्च अदालतमा चुनौती दिइयो।

भेदभाव

सबरीमाला बारेको विवाद दिनप्रतिदिन बढ्दो छ। तर भारतमा एउटा यस्तो मन्दिर पनि छ जसले महिलालाई रजस्वलाका बेला पनि प्रवेश दिने गरेको छ।

त्यहाँ त्यस्ता महिलालाई कुनै भेदभाव गरिँदैन।

तमिलनाडुस्थित आदि पराशक्ति मन्दिरमा महिलाहरू विना कुनै रोकटोक पवित्र स्थानसम्म जान पाउँछन् र दशकौँदेखि उनीहरूलाई त्यसको अनुमति छ।

महिलाको रजस्वलालाई सो मन्दिरले अपवित्र मान्दैन, एउटा सामान्य शारीरिक परिवर्तन ठान्दछ।

स्थापना र लोकप्रियता

दक्षिण भारतका अधिकांश मन्दिरको भन्दा विपरीत यो मन्दिरमा पुजारी पनि हुँदैनन्।

मन्दिरका जनसम्पर्क अधिकारी रविचन्द्रन भन्छन्, "पुरुष सरह महिलाहरू पनि यो मन्दिरको पवित्र गर्भसम्म जान पाउँछन् र पूजा गर्न पाउँछन्। यहाँ जाति, धर्म, लिङ्ग र उमेरको कुनै अर्थ हुँदैन।"

केही दशकअघि चेन्नइ-विल्लुपुरम राजमार्ग नजिकै पर्ने मरुवथुर गाउँस्थित एउटा विद्यालयका शिक्षक बंगारुले एउटा नीमको रुखबाट दूध निस्कँदै गरेको देखेको बताए।

उनले त्यस्तो दावी गरेको केही दिनपछि ठूलो आँधी आउँदा रुख ढल्यो। अनि बंगारुले त्यहाँ स्वयम्भू लिङ्गम प्रकट भएको बताए।

मन्दिर

त्यसपछि उनले आफूलाई 'शक्ति' भन्न थाले र पहिला नीमको रुख भएकै स्थानमा पराशक्ति मन्दिरको निर्माण गराए।

सो मन्दिरमा आदि पराशक्तिको मूर्ति स्थापना गरियो। बंगारुले बिस्तारै मानिसहरूलाई उपदेश पनि दिन थाले।

बिस्तारै उनको लोकप्रियता बढ्दै गयो र तमिलनाडु र आसपासका राज्यबाट पनि मानिसहरू उनका कुरा सुन्न आउन थाले।

मन्दिरको दायरा बढ्दै गयो र मन्दिरका नाममा कैयौँ सामाजिक तथा शैक्षिक संस्था खोलिए।

गुठी सञ्चालन

मन्दिरको गुठीले गाउँमा एउटा मेडिकल कलेज पनि चलाउँछ, जहाँ टाढा-टाढाबाट विद्यार्थी पढ्न आउँछन्।

आदि पराशक्ति मन्दिरसँग जोडिएका गुठी पूरै तमिलनाडु र आसपासका राज्यमा पनि सञ्चालनमा छन् र त्यसका अधिकांश प्रमुख पदमा महिला छन्।

हुन त मन्दिरसँग सम्बद्ध संस्थाहरूसँग कैयौँ विवाद पनि जोडिएका छन्।

मन्दिर
तस्बिरको क्याप्शन, धर्मगुरु बंगारु

करिब ३० वर्षसम्म मन्दिरमा पूजा गरेकी मीनाकुमारी कनकराज पहिलो पटक मन्दिरमा प्रवेश गरेको क्षण यसरी सम्झिन्छिन्।

"त्यो अनुभूतिलाई म शब्दमा वर्णन गर्न सक्दिनँ। मन्दिरको गर्भसम्म जान पाउने र पूजा गर्न पाउने अनुमति मलाई दिइयो। मेरो खुशीको सीमा थिएन।"

सो मन्दिरमा लैङ्गिक मात्र नभइ जातीय समानता पनि रहेको उनी बताउँछिन्।

"हाम्रो प्रार्थना सभाका सदस्यमा प्राध्यापकदेखि फोहोर फाल्ने र कपडा धुने महिलासम्म छन्। ती सबैले मन्दिरको पवित्र स्थानसम्म पहुँच पाउँछन्।"