ट्रम्पले किन रोकिदिए विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण

अमेरिका
तस्बिरको क्याप्शन, पोम्पेओ उत्तर कोरियाका लागि नवनियुक्त विशेष दूत स्टेफेन बिगनसँग अर्को साता प्योङ्याङ जान लागेका थिए।
Published

अमेरिकी विदेशमन्त्री पोम्पेओले निकट भविष्यमै उत्तर कोरियाको भ्रमण नगर्ने भएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पोम्पेओको तय भइसकेको यात्रा फिर्ता लिन भनेपछि पोम्पेओको भ्रमण रद्द भएको हो।

प्रगति

ट्रम्पले श्रृंखलावद्ध रुपमा ट्वीट गर्दै कोरियाली प्रायोद्वीपलाई परमाणु कार्यक्रमबाट मुक्त गर्नेबारे पर्याप्त प्रगति नभएको बताएका छन्।

उनले अमेरिकासँग चीनको व्यापारसम्बन्धी तनाबका कारण चीनले उत्तर कोरियालाई परमाणु कार्यक्रमबाट मुक्त गराउनेबारे आवश्यक दवाब नदिएको बताएका छन्।

जुन महिनामा सिंगापुरमा उत्तर कोरियाका नेता किम जङ अनसँगको भेटपछि ट्रम्पले अब उक्त देशबाट परमाणु खतरा नरहेको बताएका थिए।

तर त्यसयता उत्तर कोरियाले आफ्ना परमाणु केन्द्रहरू बन्द नगरेको भन्ने खालका थुप्रै खबरहरू आएका छन्।

भ्रमण

कोरिया
तस्बिरको क्याप्शन, सिंगापुरमा उत्तर कोरियाका नेता किम जङ अनसँगको भेटपछि ट्रम्पले अब उक्त देशबाट परमाणु खतरा नरहेको बताएका थिए।

संयुक्त राष्ट्रसंघको परमाणुसम्बन्धी निकाय आइएइएले पनि उत्तर कोरियाले आफ्ना परमाणु कार्यक्रमहरू यथावत नै राखिरहेको बताएको छ।

पोम्पेओ उत्तर कोरियाका लागि नवनियुक्त विशेष दूत स्टेफेन बिगनसँग अर्को साता प्योङ्याङ जान लागेका थिए।

यो भ्रमण कुनै पनि विदेशमन्त्रीको उत्तर कोरियाको चौथो भ्रमण हुने थियो।

यद्यपि उनले उत्तर कोरियाका नेता किम जङ अनसँग भने नभेट्ने ठानिएको थियो।

पोम्पेओले तय भइसकेको अर्को साताको भ्रमण रद्द हुने भए पनि अर्को भ्रमण भने गर्न सक्छन्।