विश्वकप २०१८: इङ्ग्ल्यान्ड, बेल्जियम र स्वीडन विजयी

फुटबल
Published

विश्वकप फुटबलअन्तर्गत गएराति भएका खेलमा तीन युरोपेली टोलीहरू- इङ्ग्ल्यान्ड, बेल्जियम र स्वीडन- विजयी भएका छन्।

इङ्ग्ल्यान्डले ट्युनिसियालाई २-१ गोलले हराउँदा ह्यारी केनले अन्तिम समयमा गरेको गोल निर्णायक बन्न पुग्यो।

इङ्ग्ल्यान्डलाई पहिलो गोल गरेर अग्रता दिलाएका केनले खेल समाप्त हुनुअघि थप गरिएको समयमा चतुर्‍याइँपूर्वक हेड गरेर आफ्नो टोलीलाई जिताएका थिए।

'फल खेलेको' दण्डस्वरूप इङ्ग्ल्यान्डविरुद्ध पेनाल्टीमा ट्युनिसियाका फेरजानी सासीले बारबारी गोल गरेका थिए।

पहिलो खेलाडी

सन् २००६ को विश्वकपमा पाराग्वेलाई पारजित गरेयता इङ्ग्ल्यान्डले कुनै पनि ठूला प्रतियोगिताको यो पहिलो खेलमा हात पारेको जित हो।

इटलीमा सन् १९९० मा भएको विश्वकपमा गेरी लिनेकरले क्यामरूनविरुद्ध इङ्ग्ल्यान्डका लागि दुई गोल गरेका थिए।

फुटबल

त्यसयता आफ्नो टोलीका लागि एउटै खेलमा दुई गोल हान्ने केन पहिलो इङ्ग्लिश फुटबल खेलाडी बनेका छन्।

अब इङ्ग्ल्यान्डले सोमवार भएको खेलमा बेल्जियमसँग ३-० ले पराजित पनामासँग खेल्नेछ।

बेल्जियमको जितमा रोमेलु लुकाकुले ६ मिनेटमा दुई गोल हानेका थिए।

विश्व फुटबल वरियतामा ५५ औँ स्थानमा रहेको पनामाले खेलको पहिलो 'हाफ'मा बेल्जियमलाई गोलरहित बराबरीमा रोकेको थियो।

बराबरी

बेल्जियमले विश्वकप फुटबलका आफ्ना पछिल्ला १० वटा समूह चरणका खेलमा एउटामा पनि हारेको छैन।

उनीहरूले पाँच वटा खेल जितेका थिए र पाँचवटा बराबरी खेलेका छन्।

बेल्जियमले विश्वकपमा गरेका पछिल्ला ११ गोल खेलको मध्यान्तरपछि दोस्रो 'हाफ' मा भएका छन्।

फुटबल

सोमवारकै अर्को खेलमा स्वीडनले दक्षिण कोरियालाई १-० गोल अन्तरले हराएको छ।

स्वीडनले उक्त एक मात्रै गोल पेनाल्टीमार्फत् गरेको थियो।

एक जना सहायक रेफ्रीले टेलिभिजन 'रिप्ले' हेरेर हस्तक्षेप गरी उक्त मौका स्वीडनलाई दिलाएका थिए।