राष्ट्रिय सभा: सांसदको कार्यकालको टुङ्गो असार ४ मा

राष्ट्रिय सभा
Published

राष्ट्रिय सभाका कुन-कुन सदस्यहरूको कार्यकाल दुई, चार वा छ वर्ष, कति हुने भन्ने निर्धारण आउँदो असार ४ गते गोलाप्रथाबाट हुने भएको छ।

राष्ट्रिय सभाको कार्यसञ्चालन नियमावली आइतवार पारित भएसँगै सांसदहरूको कार्यकाल कति हुने भन्ने निर्धारण गर्न लागि बाटो खुलेको हो।

राष्ट्रपतिले मनोनित गरेका तीनजनासहित सातवटै प्रदेशबाट निर्वाचित आठ-आठजना गरी ५९ जना सदस्यको कार्यकालबारे टुङ्गो लाग्ने राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारीले बताए।

विधि

उनले भने, "प्रत्येक प्रदेशका खुला, महिला, मनोनित, दलित र अपाङ्ग तथा अल्पसंख्यक समूहमा पर्ने सांसदहरूको गोलाप्रथाद्वारा कसको कति वर्ष कार्यकाल रहने छुट्टिने छ।"

त्यसरी कार्यकाल निर्धारण गर्दा खुला, महिला, मनोनित, दलित र अपाङ्ग तथा अल्पसंख्यक आआफ्ना समूहभित्रका सदस्यबीचमात्रै गोलाप्रथा गरिने बताइएको छ।

सातवटै प्रदेशबाट तीन-तीन जना खुलातर्फको अनि तीन-तीनजना महिलातर्फ रहेकाहरूको दुई, चार वा छ वर्षको कार्यकालका लागि छुट्टाछुट्टै गोलाप्रथा गरिने छ।

त्यसबाहेक दलित र अपाङ्गता भएका तथा अल्पसंख्यक समूहमा रहेका एक-एक जनाबीच भने सबै प्रदेशको सामूहिक रूपमा गोलाप्रथाबाट कार्यकालको टुङ्गो लगाइने बताइएको छ।