भारत: प्रधानमन्त्री मोदीविरूद्ध मनमोहन सिंहको पत्र

मोदी
Published

"कांग्रेसका नेताहरू कान खोलेर सुन्नुहोस्, यदि तपाईँहरूले सीमा नाघ्नुभयो भने निकै गाह्रो पर्ला। यो मोदी हो।"

भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकको हुबलीमा मे ५ मा प्रधानमन्त्री नरेन्द्र मोदीले भाषणमा प्रयोग गरेको भाषालाई लिएर कांग्रेस आईले आपत्ति जनाएको छ।

मोदीले अभद्र भाषा प्रयोग गरेको कांग्रेस आईको आरोप छ।

सोही विषयलाई लिएर भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले राष्ट्रपति रामनाथ कोविन्दलाई एउटा पत्र लेख्दै कडा शब्दमा मोदीको आलोचना गरेका छन्।

राष्ट्रपति रामनाथ कोविन्द
तस्बिरको क्याप्शन, राष्ट्रपति रामनाथ कोविन्द

प्रधानमन्त्री मोदीले पदीय मर्यादाको उल्लङ्घन गरेको कांग्रेस आईको निष्कर्ष छ।

राष्ट्रपतिलाई पठाइएको पत्रमा सिंहका साथै पार्टीका अन्य वरिष्ठ नेताले पनि हस्ताक्षर गरेका छन्।

पत्रका प्रमुख कुरा

  • भारतीय प्रधानमन्त्रीको संविधानअन्तर्गत एउटा विशेष स्थान प्राप्त छ। प्रधानमन्त्रीले सङ्घीय मन्त्रिपरिषद्को नेतृत्व गर्छन्। सङ्घीय कार्यापलिका प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्छ र उनीबाट आदेश लिन्छ।
  • विगतमा सबै प्रधानमन्त्रीले सार्वजनिक र निजी कामकाजमा पदीय मर्यादा कायम राखेका दृष्टान्त छन्।
  • लोकतान्त्रिक राज्य व्यवस्थामा प्रधानमन्त्रीले सरकार प्रमुखका हैसियतमा विपक्षी दलका नेताविरूद्ध धम्कीपूर्ण र उक्साहटपूर्ण शब्दको प्रयोग गर्ने कुरा कल्पना पनि गर्न सकिँदैन।
  • कांग्रेस नेतृत्वलाई प्रधानमन्त्रीले दिएको धम्की निन्दनीय छ।
  • १.३ अर्ब जनसंख्या भएको कुनै पनि संवैधानिक र लोकतान्त्रिक सरकार भएको देशका प्रधानमन्त्रीको यो भाषा हुन सक्दैन। चाहे सार्वजनिक रूपमा गरियोस् वा व्यक्तिगत रूपमा यस्तो भाषा स्वीकारयोग्य हुन सक्दैन।