भारत: आँधीबेहरीले ताजमहलका मिनारमा क्षति

ताजमहल
Published

आँधीबेहरीले भारतको आग्रास्थित प्रसिद्ध ताजमहलका मिनारहरूमा क्षति पुर्‍याएको छ। ती क्षतिग्रस्त मिनारहरू दुई भिन्न प्रवेशद्वारमा थिए।

अधिकारीहरूका अनुसार १३० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले ती मिनारहरू ढालिदिएको थियो।

ताजमहलको मुख्य संरचनाका चार ठूला मिनारहरू भने यथावत् छन्।

वर्तमानमा विश्वभरिकै एउटा प्रसिद्ध पर्यटकीय आकर्षणका रूपमा रहेको ताजमहल सत्रौँ शताब्दीमा बनाइएको थियो। अहिले त्यहाँ दैनिक १२ हजार पर्यटकहरू पुग्ने गरेका छन्।

ताजमहलको मिनार

क्षति पुगेको एउटा मिनार ताजमहलको अवलोकन गर्न पर्यटकहरू पुग्ने शाही द्वारमा र अर्को चाहिँ दक्षिणी द्वारमा थिए।

क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न काम थालिसकिएको अधिकारीरूले बताएका छन्।

जोखिम

ताजमहलको मिनार

भारतीय इतिहासका अनुसार मुगल शासक शाह जहाँले आफ्नी दिवङ्गत रानी मुमताजको सम्झनामा ताजमहल निर्माण गरेको हुन्।

ताजमहलमा भएका सेतो सिङ्गमर्मरका गुम्बजहरू एवम् रत्नजडित र बुट्टे मिनारहरूलाई मुगल कलाको उदाहरण मानिन्छ।

तर प्रदूषण र नयाँ निर्माणका कारण ताजमहलमा क्षति पुग्दै आएको छ।

भारतीय पुरातत्व सर्वेक्षणले गत ज्यानुअरीमा बढ्दो प्रदूषणका कारण ताजमहलले आफ्नो तेज र संरचना गुमाउने जोखिम रहेको बताएको थियो।