डेनमार्ककी महारानीका श्रीमान्‌को निधन

डेनमार्क
तस्बिरको क्याप्शन, महारानी मार्गरेटा द्वितीया र राजकुमार हेनरिक (फाइल तस्वीर)
Published

डेनमार्ककी महारानी मार्गरेटा द्वितीयाका श्रीमान्‌को निधन भएको छ।

८३ वर्षीय राजकुमार हेनरिकलाई अन्तिम दिनहरू बिताउन अस्पतालबाट कोपेनहेगनस्थित फ्रेडेन्सबर्ग राजदरबारमा सारिएको थियो।

दरबारका एकजना प्रवक्ताले बताएअनुसार राजकुमार हेनरिकको देहान्त हुने बेलामा उनको छेउमा महारानी र युवराज फ्रेडेरिकसहित दुई छोरा उपस्थित थिए।

अन्तर्राष्ट्रिय ओलिम्पिक समितिका सदस्य समेत रहेका युवराज फ्रेडेरिक शीतकालीन ओलिम्पिक्समा सहभागी भएर दक्षिण कोरियाको प्युङ्चाङबाट फर्केका हुन्।

फोक्सोमा संक्रमण भएपछि राजकुमार हेनरिकलाई गत महिना अस्पताल भर्ना गरिएको थियो। गत वर्ष उनलाई बिर्सने रोग डिमेन्सिया भएको पत्ता लागेको थियो।

असन्तुष्ट

फ्रान्समा जन्मिएका हेनरिकको विवाह सन् १९६७ मा डेनमार्ककी राजसिंहासनकी उत्तराधिकारी राजकुमारी मार्गरेटासँग भएको थियो।

मार्गरेटा सन् १९७२ मा महारानी बनिन्। तर आफूलाई महाराजको साटो राज‍कुमारको उपाधिमै सीमित राखिएकोमा हेनरिकले आफ्नो असन्तुष्टि लुकाएनन्।

राजकुमार हेनरिक
तस्बिरको क्याप्शन, राजकुमार हेनरिक फ्रान्समा जन्मेका थिए

'प्रिन्स कन्सोर्ट' अर्थात् 'राजकुमार श्रीमान्'को उपाधि त्याग्दै राजकुमार हेनरिकले सन् २०१६ मा औपचारिक दायित्वबाट अवकाश लिएका थिए।

तत्पश्चात् अधिकांश समय उनी फ्रान्सस्थित निजी अंगुरको बगैँचामा बस्दथे।

राजदरबारका अधिकारीहरूका अनुसार महारानी बराबरको सम्मान नदिइएको असन्तुष्टिका कारण गत वर्ष राजकुमार हेनरिकले महारानी मार्गरेटासँगैको आफ्नो समाधि नगिरियोस् भन्ने चाहना व्यक्त गरेका थिए।

महारानी मार्गरेटाले आफ्ना पतिको सो निर्णय स्वीकार गरेको बताइएको छ।

यसो हुँदा डेनमार्कको राजपरिवारमा चलेको ४५९ वर्षे परम्परा भंग हुनेछ।