लास भेगस: ५८ को मृत्यु, ट्रम्पद्वारा निन्दा

las vegas
Published

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले लास भेगस शहरमा भएको गोलीकाण्डको निन्दा गर्दै त्यसलाई 'दुष्टताले भरिपूर्ण क्रियाकलाप' भनेका छन्।

आधुनिक अमेरिकी इतिहासमै सबैभन्दा खराब गोलीकाण्ड भनिएको उक्त घटनामा मारिनेको संख्या कम्तीमा ५८ रहेको प्रहरीले जनाएको छ। अन्य ५०० जनाभन्दा बढी घाइते भएका छन्।

ह्वाइट हाउसबाट बोल्दै राष्ट्रपति ट्रम्पले सो घटनापछि अमेरिकीहरु दु:ख, स्तब्धता र पीडामा एकताबद्ध भएको पनि बताए।

उक्त घटनामा स्थानीय प्रहरीले देखाएको प्रतिक्रियालाई चामत्कारिक भन्दै त्यसका कारण धेरैको ज्यान जोगिएको पनि बताएका छन्।

झण्डा

राष्ट्रपति ट्रम्पले राष्ट्रिय शोकको संकेत स्वरुप राष्ट्रिय झण्डा आधा झुकाउन पनि निर्देशन दिएका छन्।

त्यसअघि अमेरिकी प्रहरीले उक्त गोलीकाण्ड नेभाडा राज्यका बासिन्दा ६४ वर्षीय स्टिभन प्याडकले गरेका बताएको थियो।

उनले लास भेगास शहरस्थित एउटा अग्लो होटेलको ३२ औं तलामा रहेको कोठाबाट त्यहां नजिकै आयोजित एक सांगीतिक कार्यक्रम हेर्न भेला भएका भीडमाथि गोली चलाएका थिए।

प्रहरीले उक्त कोठामा आफूहरु प्रवेश गर्दा हमलाकारी प्याडक मृत अवस्थामा भेटिएको बताएको छ।

Las Vegas

त्यहाँबाट दशवटा बन्दुक फेला पारिएको पनि प्रहरीले जनाएको छ।

भयानक

लास भेगस शहर अवस्थित नेभाडा राज्यका स्थानीय सिनेटर डीन हेलरले उक्त गोलीकाण्डलाई 'हिंसाको भयानक कार्य' भनेका छन्।

लास भेगास प्रहरीका शेरिफ जो लोम्बार्डाले उक्त गोलीकाण्डलाई एक्लो व्यक्तिले गरेको हमला भन्दै हमलाकारी प्याडकको उद्देश्यबारे कुनै जानकारी नरहेको जनाएका छन्।

प्रहरीले जारी गरेको विज्ञप्तिमा स्थानीय समय अनुसार आइतवार रातिको १० बजेर ८ मिनेट जाँदा गोलीकाण्ड शुरु भएको थियो।

Las Vegas

र हमलाकारी स्टिभन प्याडक गत सेप्टेम्बर २८ तारिखदेखि नै उक्त होटेलमा बसेका थिए।

लास भेगसस्थित बीबीसी संवाददाता जेम्स कुक भन्छन्, ठूलो संख्यामा मानिसहरुलाई गोली प्रहार गरी मारिएको यो घटनाले लास भेगस शहर र समग्र अमेरिकालाई नै स्तब्ध तुल्याइदिएको छ।