क्वालालम्पुरको स्कूलमा ठूलो आगलागी

तहफिज दारुल कुरान इत्तिफाकियाको भवन
तस्बिरको क्याप्शन, इस्लामिक तहफिज विद्यालयहरु आवासीय हुन्छन् जहाँ विद्यार्थीहरुले कुरानको अध्ययन गर्दछन्।
Published

मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको एक धार्मिक विद्यालयमा भएको आगलागीमा कम्तीमा २४ विद्यार्थी तथा शिक्षकको मृत्यु भएको छ।

तहफिज दारुल कुरान इत्तिफाकियाको भवनमा विहानै सवेरै आगो दन्किएको थियो।

अग्नि नियन्त्रण विभागका निर्देशक खिरुदीन द्रहमानले एएफपी समाचार संस्थालाई भने, "२२ विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको पुष्टि भएको छ।"

"हाम्रो देशमा विगत २० वर्षमा यस्तो आगलागी भएको छैन। यति धेरै मानिसको ज्यान जानु दु:खको कुरा हो।"

प्रहरीका अनुसार मृत्यु भएका विद्यार्थीहरु १३ देखि १७ वर्ष उमेरका पुरुष हुन्।

इस्लामिक तहफिज विद्यालयहरु आवासीय हुन्छन् जहाँ विद्यार्थीहरुले कुरानको अध्ययन गर्दछन्।

क्षति

भिडिओ र तस्वीरहरुमा विद्यालको माथिल्लो तला पूरै जलेको देखिएको छ।

आगलागी भएलगत्तै दमकलहरु पुगेका थिए।

केही विद्यार्थीहरुलाई घाइते अवस्थामा अस्पताल पुर्‍याइएको छ।

प्रधानमन्त्री नजीब रजकले घटनाप्रति दु:ख व्यक्त गर्दै घटनाको तुरुन्तै छानबिन हुने बताएका छन्।

आगलागीपछि
तस्बिरको क्याप्शन, प्रधानमन्त्री नजीब रजकले घटनाप्रति दु:ख व्यक्त गर्दै घटनाको तुरुन्तै छानबिन हुने बताएका छन्।

उनले ट्वीटरमा लेखेका छन्, "छानबिनपछि भविष्यमा यस्ता घटना रोक्न सकिन्छ।"

मलेसियाली अधिकारीहरुले अव्यवस्थित निजी धार्मिक विद्यालयको सुरक्षा अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्।

सन् २०१५ यता यस्ता विद्यालयहरुमा आगलागीका २०० भन्दा बढी घटना भइसकेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।