ट्रम्प-रुस अनुसन्धानमा 'ग्र्याण्ड जुरी'

विरोध
तस्बिरको क्याप्शन, रोबर्ट मुलर(दायाँ) ले गरिरहेको अनुसन्धानको राष्ट्रपति ट्रम्पले विरोध गरिरहेका छन्
Published

संयुक्त राज्य अमेरिकामा गत राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेको विशेष समितिले एउटा वृहत् निर्णायक मण्डल 'ग्र्याण्ड जुरी' गठन गरेको बताइएको छ।

अमेरिकी मिडियाले त्यसलाई रोबर्ट मुलर अनुसन्धानमा सम्भावित अपराधिक अभियोगमाथि काम गर्न पहिलो कदम भनेको छ।

रोयटर्स समाचार संस्थाका अनुसार जुरीले राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा र रुसी कानून व्यवसायीबीच जुन २०१६ मा भएको बैठकका सहभागीहरुलाई उपस्थित हुन आदेश जारी गरेको छ।

राष्ट्रपति ट्रम्पले हिलरी क्लिन्टनलाई हराउन रुससँग साँठगाँठ गरेको भन्ने अस्वीकार गर्दै आएका छन्।

विधेयक

अमेरिकामा ग्र्याण्ड जुरीहरु कुनै पनि काण्डका प्रमाणहरु अपराधिक अभियोग लगाउन यथेष्ट छन् कि छैनन् भनेर खोजी गर्न गठन गरिन्छन्।

तर त्यस्तो जुरीले सम्भावित व्यक्ति निर्दोष या दोषी भन्ने निर्क्यौल गर्दैन।

उक्त प्यानेलले अभियोजनकर्तालाई कसैलाई बोलाउन, रिट हाल्न, दस्तावेज हात पार्न या बयान दिन बोलाउन अनुमति दिन्छ।

यसैबीच बिहीबार अमेरिकी सिनेटले ट्रम्प प्रशासनले मुलरलाई बर्खास्त गर्नमा कडाइ गर्ने व्यवस्था गरिएको दुईदलीय दुई विधेयक प्रस्ताव गरेको छ।

गत मे महिनामा राष्ट्रपतिले तत्कालीन एफबीआइ निर्देशक जेम्स कोमीलाई रुसी हस्तक्षेप अनुसन्धान सम्बन्धमा बर्खास्त गरेका थिए।

ट्रम्पले मुलरलाई पनि बर्खास्त गर्लान् भन्ने गम्भीर चासोकाबीच यो विधेयक ल्याइएको छ।

बीबीसीका उत्तर अमेरिका रिपोर्टर एन्थनी जर्चरको विश्लेषण छ- रोबर्ट मुलरको विशेष समिति ट्रम्प प्रशासनका लागि गम्भीर चासोको विषय थियो अहिले त्यो झन् बढी गम्भीर भएको छ।

अनुसन्धान अब राष्ट्रपतिको भित्रि घेरामा केन्द्रित भएको स्पष्ट भएको छ।