भेनेजुएला: प्रतिस्पर्धी रिहाइको प्रशंसा

खुशी
तस्बिरको क्याप्शन, काराकासस्थित उनको घरबाहिर जम्मा भएका समर्थकहरुले लोपेज रिहाइ भएकोमा खुशी प्रकट गरेका थिए
Published

देशका मुख्य विपक्षी नेतामध्ये एक लीयोपोल्डो लोपेसलाई कैदमुक्त गर्ने निर्णयको भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले प्रशंसा गरेका छन्।

तीन वर्ष कारागारमा बिताएका लोपेसलाई उनकै घरमा नजरबन्दमा सारिएको छ।

काराकस नजिकै रहेको कारागारबाट शनिबार बाहिरिएपछि उनको परिवारसँग पुनर्मिलन भएको थियो।

सन २०१४ मा सरकार विरोधी प्रदर्शनमा हिंसा फैलाएको आरोपमा उनलाई १४ वर्षको जेल सजाय दिइएको थियो जुन आरोप उनले सधैँ अस्वीकार गर्दै आएका थिए।

'स्वास्थ्य'

सर्वोच्च अदालतले स्वास्थ्यका कारण उनलाई कैदमुक्त गरिएको बताएको छ।

लोपेज
तस्बिरको क्याप्शन, परिवारसँगको पुनर्मिलनमा हर्षित विपक्षी नेता लोपेज

मदुरोले सर्वोच्च अदालतको निर्णयको 'सम्मान' र 'समर्थन' गर्ने भन्दै देशमा शान्ति र मेलमिलापका लागि आह्वान गरे।

मुक्त भएको केही घण्टापछि विपक्षी नेता लोपेसले आफ्ना समर्थकहरुलाई राष्ट्रपति मदुरो विरोधी प्रदर्शन जारी राख्न आग्रह गरेका थिए।

विपक्षीले निर्वाचन र पछिल्ला वर्षमा जेलमा पारिएका आफ्ना नेताहरुको रिहाइको माग गर्दै भेनेजुएलामा प्रदर्शन गर्दै आएका छन्।