काम गर्न देऊ: ट्रम्प

ट्रम्प
Published

आफ्नो चुनावी अभियान र रुसबीच साँठगाँठ रहेको आरोपले विवादको स्वरुप ग्रहण गरिरहँदा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले सहज ढङ्गले शासन चलाउन चाहेको बताएका छन्।

वासिङटनमा एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त आरोपको जाँच गर्न विशेष अनुसन्धानकर्ता नियुक्त गर्ने निर्णयलाई आफूले स्वागत गर्नेपनि भएपनि त्यो विषयले देशलाई विभाजित बनाइरहेको बताए।

राष्ट्रपति ट्रम्पले रुससँग आफ्नो कुनै सम्बन्ध नरहेको दोहोर्याएका छन्।

अस्वीकार

उनले अमेरिकी संघीय जाँच ब्युरो एफबीआइले रुसमाथि गरिरहेको छानविन प्रभावित पार्न त्यसका निर्देशक जेम्स कोमीलाई बर्खास्त गरेको भन्ने आरोप पनि अस्वीकार गरे।

उनले कोमीलाई एकदमै अलोकप्रिय व्यक्तिका रुपमा व्यख्या गरेका थिए।

त्यसअघि एक जना वरिष्ठ डेमोक्र्याट नेतृले यदि ट्रम्पसँग लुकाउनुपर्ने कुनै विषय नरहेको भए उनले रुसले हस्तक्षेप गरेको भन्ने दाबीमाथि पूर्ण स्वतन्त्र छानविन गराउन दिनुपर्ने धारणा राखेकी थिइन्।

ट्रम्प
तस्बिरको क्याप्शन, मलर सन् २००१ देखि २०१३ सम्म एफबीआइका प्रमुख थिए।

अमेरिकी तल्लो सदनकी डेमोक्र्याट नेतृ न्यान्सी पेलोसीले त्यस्तो अनुसन्धानले मात्र केही लुकाइएको भन्ने आशंकाहरु पूर्ण रुपमा समाप्त पार्ने बताइन्।

उनले हाल नियुक्त गरिएका विशेष अभियोजक पूर्व एफबीआइ प्रमुख रोबर्ट मलर अझै पनि अमेरिकी न्याय मन्त्रालयकै सुपरीवेक्षणमा हुने बताइन।

यसअघि उपमहान्यायाधिवक्ता रड रोजेन्सटाइनले अनुसन्धानबारे सांसदहरुलाई जानकारी गराएका थिए।

त्यसपछि एक जना डेमोक्र्याट सिनेटर रिचर्ड ब्लुमेन्थोलले विशेष अभियोजकले फौजदारी छानविन अघि बढाउन लागिरहेको बताएका थिए।