रुसद्वारा युक्रेनका नयाँ तीन सहरमा आक्रमण

रुसी हमलाको नयाँ लहरमा युक्रेनको उत्तर-पश्चिममा रहेको लुट्स, मध्य-पूर्वमा रहेको नीप्रो र पश्चिमी शहर इभानो-फ्रान्किभिस्क निशानामा परेका छन्।

लाइभ कभरेज

  1. तस्बिरमा: नीप्रोमा आज भएको क्षति

    युक्रेन

    मध्य युक्रेनको नीप्रो शहरमा आज हवाई हमलाहरू हुँदा त्यसको असर जुत्ता कारखानादेखि अपार्टमेन्ट भवनसम्ममा परेको हामीले यसअघि जनाइसकेका छौँ।

    त्यहाँ रहेकी हाम्री संवाददाता सारा रेन्सफोर्डले यी तस्बिरहरू पठाएकी छन्।

    "रुसी क्षेप्यास्त्रले पारेको क्षति यस्तो छ," उनले भनिन्। "जुत्ता कारखाना नीप्रोको आवासीय क्षेत्रको बिचमा छ। सुरक्षा गार्ड र उनको कुकुरको मृत्यु भएको छ।"

    "धेरैवटा तलामा निकै क्षति पुगेको छ। एकजना महिला आफ्ना छोराको अत्तालिएको आवाजसँगै ब्युँझिएकी थिइन्। र सबै रुसी भाषा बोल्ने उनीहरू रुसप्रति आक्रोशित बनेका छन्। "

    युक्रेन
    युक्रेन
  2. युक्रेन-रुस वार्तामा 'सकारात्मक' विकास- पुटिन

    युक्रेन

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी र युक्रेनी अधिकारीहरूबिच जारी वार्तामा ‘सकारात्मक’ विकासक्रम देखिएको बताएका छन्।

    "हाम्रो तर्फका वार्ताकारहरूले मलाई बताए अनुसार त्यहाँ केही सकारात्मक परिवर्तनहरू भएका छन्," पुटिनले रुसको एक मुख्य साझेदार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग मस्कोमा भेट्दै भने।

    युक्रेन-बेलारुस सीमामा दुई पक्षका टोलीबिच तीन चरणमा वार्ता भएका छन् भने बिहीबार युक्रेन र रुसका विदेशमन्त्रीहरू टर्कीमा भेटेका थिए।

    तर अहिलेसम्म ती वार्ताबाट कुनै ठोस नतिजा देखिएको छैन।

    पुटिनले रुसविरुद्ध लगाइएका प्रतिबन्धबारे समेत बोल्दै त्यसले आफ्नो देशमा सकारात्मक प्रभाव पार्ने बताए।

    "हाम्रो अर्थतन्त्र र प्रविधिको सम्प्रभुतालाई बलियो बनाउनेतर्फ अघि बढ्न यो समयको अवसर छ," उनले भने।

  3. नेटोले किन ‘नो फ्लाई जोन’ लागु गरिरहेको छैन?

      • Author, फ्र्याङ्क गार्डनर
      • Role, बीबीसी सुरक्षा संवाददाता

    नो फ्लाई जोन झट्ट सुन्दा सामान्य र रक्षात्मक देखिए तापनि यो खासमा आक्रामक सैन्य गतिविधि हो।

    यसलाई लागु गर्न शत्रुको हवाई प्रतिरक्षा प्रणालीलाई हटाउनु पर्ने हुन्छ, रुसीहरूले सञ्चालन गरिरहेका जमिनमा रहेका राडार केन्द्रहरूमा क्षेप्यास्त्र हान्नुपर्ने, उनीहरूको ज्यान लिनुपर्ने र त्यसपछि आकाशमा उनीहरूका पाइलटलाई निशाना साँध्नुपर्ने हुन्छ। .

    त्यो तेस्रो विश्वयुद्ध सुरु हुने अवस्था हो।

    राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसको माग बारम्बार गरेका छन् र धेरै मानिसहरूले त्यसो किन भइरहेको छैन भन्ने बुझेका छैनन्।

    यसले नेटो फौजलाई आकाशमा अग्रसर गराउँदै रुसी पाइलटसँग लड्ने अवस्थामा पुर्‍याउँछ। त्यो भयानक अवस्था हो।

  4. युक्रेनका शरणार्थी २५ लाख नाघे

    संयुक्त राष्ट्रसङ्घका शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले युक्रेनी शरणार्थीको सङ्ख्या २५ लाख पुगेको बताएका छन्।

    तीमध्ये झण्डै १,१६,००० तेस्रो देशका नागरिकहरू रहेको ग्रान्डीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ।

    अर्को झण्डै २० लाख मानिसहरू युक्रेनभित्रै विस्थापित बनेको ग्रान्डीले बताएका छन्।

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  5. रुसद्वारा नयाँ तीन सहरमा आक्रमण, रुसद्वारा लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण

    शुक्रवार रुसी सेनाले युक्रेनको दुई फरक दिशामा रहेका सहरमा आक्रमण गरेको विवरणहरू आएका छन्।

    युक्रेनी टीभी र सञ्चारमाध्यमहरूले उत्तर-पश्चिममा रहेको लुट्स र मध्य-पूर्वमा रहेको नीप्रो सहरमा विस्फोटहरू भएको बताएका छन्।

    यी दुवै सहरमा यसअघि आक्रमण भएको थिएन।

    लुट्समा गरिएको आक्रमणमा त्यहाँको वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखानामा भएको बताइएको छ।

    लुट्सका नगरप्रमुखले विस्फोट भएको पुष्टि गर्दै सबैलाई सुरक्षित स्थानमा बस्न फेसबुकमा लेखेका छन्। उनले नागरिकलाई आफ्नो तस्बिर, ठेगाना र अन्य विवरण प्रकाशन नगर्न अनुरोध गरेका छन्।

    नीप्रोमा तीन स्थानमा विस्फोट भएको बताइएको छ।

    नीप्रोमा विस्फोटका तस्बिरहरू युक्रेनले सार्वजनिक गरेको छ।

    यसैबीच रुसी रक्षा मन्त्रालयले लुट्स र अर्को पश्चिमी सहर इभानो-फ्रान्किभिस्कमाथि आक्रमण गरेको पुष्टि गरेको रुसी समाचार माध्यमले जनाएका छन्।

    इभानो-फ्रान्किभिस्कका नगरप्रमुखले फेसबुक पोस्टमा आक्रमणको पुष्टि गरेका छन्। उनले शत्रुले हमला गरेको लेखेका छन्।

    नीप्रोमा विस्फोट
    नीप्रोमा विस्फोट
    नीप्रोमा विस्फोट
    नीप्रोमा विस्फोट
  6. युक्रेनी युद्धबन्दीलाई रुसका लागि युद्धमा लगाउने प्रयत्न- युक्रेन

    युक्रेनको रक्षा मन्त्रालयले आफ्नो पछिल्लो रिपोर्टमा युक्रेनी युद्ध बन्दीहरूलाई रुसी फौजका लागि लड्न आग्रह गरिएको र दक्षिण पूर्वी रस्तभ क्षेत्रमा रुसी फौजको सङ्ख्या घटेपछि त्यस्तो प्रयत्न गरिएको दाबी गरेको छ।

    रक्षा मन्त्रालयले सैन्य अनुभव नभएकाहरूलाई पनि आफ्नो फौजमा राख्न चाहेको पनि दाबी गरिएको छ।

    यसलाई बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

    मन्त्रालयको विज्ञप्तिमा रुसी फौजले लुटपाट मच्चाइरहेको र अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गर्दै सर्वसाधारणको हत्या गरिरहेको उल्लेख गरिएको छ।

    त्यसैगरी रुसले नियन्त्रण गरेका स्थानहरूमा स्थानीयहरूसँग सम्झौता गर्न रुस समर्थक सन्देशहरू फैलाइरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

    विज्ञप्तिमा दक्षिणी युक्रेनी खेर्सन क्षेत्रमा रुसी फौजले प्रहरी प्रशासित क्षेत्र बनाएर अस्थायी रूपमा नियन्त्रणमा लिइएका स्थानमा व्यवस्थापन गर्न खोजिरहेको पनि जनाइएको छ।

  7. अप्रशिक्षित दस्तालाई अग्रमोर्चामा पठाइन्नः युक्रेन

    अप्रशिक्षित

    युक्रेनको रक्षा मन्त्रालयले रुसविरुद्ध लड्नका लागि नयाँ गठन गरिएको अप्रशिक्षित मानिसहरूको दस्तालाई लडाइँको अग्रमोर्चामा नपठाइने जनाएको छ।

    रुसी फौजसँग लड्न अस्त्र उठाइरहेका नागरिकहरूको समूह युक्रेनमा गठन गरिएको छ।

    “त्यसको अर्थ छैन। हाम्रो सेनाले धेरै शत्रुलाई रोक्छ। किनकि त्यो उत्प्रेरित छ, राम्ररी प्रशिक्षित छ र अस्त्रले सुसज्जित छ,” रक्षामन्त्री एलेक्सी रेज्निकोले भिडिओ सम्बोधनमा भनेका छन्।

    भर्ती भएका गैरसनिकहरूले आफूहरू रहेको स्थानबारे सेनालाई जानकारी गराइरहन र स्थानीय भर्ती केन्द्रसँग सम्पर्कमा रहन उनले भने।

    रुसले युक्रेनमाथि आक्रमण गरेपछि भूमिरक्षा एकाइमा एक लाख जति युक्रेनीहरू भर्ती भइसकेका छन्।

    रक्षामन्त्रीका अनुसार लडाइँमा सहभागी हुन भन्दै दुई लाखभन्दा बढी युक्रेनीहरू स्वदेश फर्किसकेका छन्।

  8. जेलेन्स्कीले रुसलाई सोधेः तपाईँको रासायनिकअस्त्र कहाँ खस्ने हो?

    जेलेन्स्की

    अमेरिकी सहयोगमा युक्रेनले रासायनिक अथवा जैविकअस्त्र विकास गरिरहेको भन्ने रुसी दाबीप्रति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रोश पोखेका छन्।

    “हामीले रासायनिक हमला गर्ने तयारी गरिरहेका छौँ रे,” एउटा भिडिओ सम्बोधनमा उनले भने।

    “यो कुराले मलाई साँच्चिकै चिन्तित बनाएको छ। किनकि हामी यो कुरामा निरन्तर विश्वस्त भएका छौँ कि यदि रुसका योजनाबारे तपाईँले थाहा पाउनु छ भने उसले अरूमाथि लगाउने आरोपलाई हेर्नुपर्छ।”

    “रासायनिक हमला गर्ने तयारी गरिरहेको भन्ने आरोप के हो?” उनले थपे।

  9. रुसमा बहुराष्ट्रिय कम्पनीहरूले कारोबार रोक्ने क्रम जारी

    रुस

    रुसमा विभिन्न बहुराष्ट्रिय कम्पनीले आफ्ना कारोबार रोक्ने क्रम जारी राखेका छन्।

    पछिल्लो पटक अमेरिकामा अवस्थित वाल्ट डिज्नीले रुसमा आफ्नो कारोबार केही समयका लागि स्थगित गर्ने घोषणा गरेको छ।

    अमेरिकी ब्याङ्क गोल्डम्यान स्याक्सले पनि रुसबाट बाहिरिन लागेको जनाएको छ।

    यस्तो कदम चाल्ने गोल्डम्यान स्याक्स अमेरिकाको पहिलो महत्त्वपूर्ण ब्याङ्क हो।

  10. रुसी फौज किएभनजिक पुनः तैनाथ हुँदै

    भूउपग्रह तस्वीर

    रुसी फौजको एउटा लस्कर किएभनजिक पुनः तैनाथ भइरहेको भूउपग्रह तस्वीरबाट देखिएको छ।

    त्यसलाई युक्रेनी राजधानीतर्फ बढ्ने रुसी फौजको ताजा प्रयासको रूपमा हेरिएको छ।

    म्याक्सआर टेक्नोलोजिजका अनुसार आसपास नगरका तैनाथी क्षेत्रतर्फ रुसी लस्कर बढेको छ।

    त्यो लस्कर यसअघि एन्टोनोभ विमानस्थलनजिक पश्चिमोत्तर क्षेत्रमा देखिएको थियो।

    फौज
  11. युक्रेनद्वारा रुसमाथि ‘पारमाणविक आतङ्कवाद’को आरोप

    परमाणु केन्द्र

    रुसी सेनाले आफ्नो पारमाणविक अनुसन्धान केन्द्रमा बम हमला गरेको भन्दै युक्रेनले मस्कोमाथि ‘पारमाणविक आतङ्कवाद’को आरोप लगाएको छ।

    युक्रेनको राज्य स्तरीय पारमाणविक नियामक निकायका अनुसार पूर्वोत्तर सहर खार्किभमा रहेको उक्त अनुसन्धान केन्द्रमा बिहीवार अबेर भएको गोलाबारीका क्रममा विद्युतीय आपूर्ति रोकिएको छ।

    घटनामा कुनै मानवीय क्षति भएकोबारे विवरण आएको छैन।

    रुसले भने हालसम्म यस विषयमा प्रतिक्रिया जनाएको छैन।

    मार्च ३ मा दक्षिण-पूर्वी युक्रेनमा रहेको जापोरिज्या परमाणु ऊर्जा केन्द्रको एउटा भवनमा रुसले अस्त्रको प्रयोग गरी आगो लगायो र लगत्तै कब्जा गर्‍यो।

    बिहीवार पनि संयुक्त राष्ट्रको परमाणुसम्बन्धी नियामक संस्था आइएईएले युक्रेनी अधिकारीहरूले उनीहरूलाई रुसी सेनाले कब्जा गरेको युक्रेनको अर्को परमाणु केन्द्र चर्नोबलसँग पूर्ण रूपमा सञ्चार विच्छेद भएको बताएको जनाएको छ।

    सन् १९८६ मा उत्तरी युक्रेनको चर्नोबलमा संसारको सबैभन्दा भयानक पारमाणविक दुर्घटना भएको थियो।

  12. मानवीय निकास मार्ग दिन्छौँ: रुस

    युक्रेन

    क्रेम्लिनले युक्रेनबाट रुसतर्फ प्रवेश गर्न चाहने मानिसहरूलाई निकासमार्ग दिने बताएको छ।

    रुसी रक्षा मन्त्रालले रुसका सञ्चारमाध्यमहरूलाई शुक्रवारबाट त्यस्तो मार्ग खुला गरिने बताएको छ।

    युक्रेनले पहिले रुसले गरेको यस्तै प्रस्तावलाई अस्वीकार गरेको थियो।

    उसले त्यस्तो प्रस्तावलाई अस्वीकार्य र निन्दनीय भनेको थियो।

    त्यस्तै अमेरिकाले पनि उक्त प्रस्तावलाई हास्यास्पद भनेको थियो।

    संयुक्त राष्ट्रसङ्घले हालसम्म २३ लाख मानिसले युक्रेन छाडिसकेको बताएको छ।

  13. रुसले अस्थायी युद्धविराम उल्लङ्घन गर्‍यो: युक्रेन

    युद्धले प्रभावित मानिसहरू

    युक्रेनी सरकारले रुसी सेनाले पुनः अस्थायी युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाउँदै बिहीवार रुसी मारिओपोलबाट एक जना पनि नागरिक बाहिर निस्कन नसकेको बताएको छ।

    राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका अनुसार सहरमा खाना, पानी र औषधि पुर्‍याउने प्रयास असफल भएको छ।

    उनले त्यहाँ निराशाजनक अवस्था उत्पन्न भएको बताए।

    उनका दाबीमा रुसी फौजले मानवीय सहायताकर्मीहरूको टोलीलाई पनि निसानामा पारेका छन्।

    सहायता निकायहरूले उक्त सहरका बासिन्दाले गम्भीर सङ्कटको सामना गरिरहेको बताएका छन्।

    मारिओपोलको अवस्थाबारे एकजना युक्रेनी सांसदले भने- “मैले हाल मारिओपोलमा रहेकी मेरी बहिनीसँग मैले एक मिनट जति कुराकानी गरेको थिएँ। त्यहाँ मोबाइल सम्पर्कमा समस्या छ। खानेपानीको र खानेकुराको अभाव छ।”

  14. दशवटा रुसी लडाकु विमान खसालियोः युक्रेन

    युक्रेनी हवाई फौजले बिहीवार दशवटा रुसी लडाकु विमान र दुईवटा ठूला बख्तरबन्द गाडीहरूको लस्कर ध्वस्त पारेको जनाएको छ।

    सु-२५ जेट तथा सु-३४ जेटलाई निशाना बनाइएको एउटा विज्ञप्तिमा जनाइएको छ।

    निसाना बनाइएका स्थानबारे भने युक्रेनले केही खुलाएको छैन।

    रुसी सेनाले युक्रेनको दाबीबारे कुनै प्रतिक्रिया जनाएको छैन र घटनाको स्वतन्त्रण पुष्टि भइसकेको छैन।

  15. रुसी आग्रहमा सुरक्षा परिषद् बैठक बस्दै

    सुरक्षा परिषद्

    रुसी आग्रहमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का कूटनीतिज्ञहरूले शुक्रवार बैठक गर्दैछन्।

    रुसले अमेरिकामाथि युक्रेनमा जैविकअस्त्र निर्माणमा सहायता गरिरहेको आरोप लगाउदै त्यसबारे छलफल गर्न सुरक्षा परिषद्‌को बैठक माग गरेको हो।

    अमेरिकाले रुसी आरोपलाई आधारहीन भन्दै खण्डन गरेको छ।

    उसले रुससँग त्यसको प्रमाण नभएको बताएको छ।

    अमेरिकाले रुसले युक्रेनमा रासायनिक र जैविकअस्त्र प्रयोग गर्नसक्ने चेतावनी दिएको छ।

  16. रुसद्वारा सयौँ वस्तुको निर्यातमा प्रतिबन्ध

    रुसी कार

    पश्चिमा देशहरूको आर्थिक प्रतिबन्धको प्रतिउत्तरमा रुसले यो वर्षको अन्त्य सम्मका लागि आफ्नो देशबाट विभिन्न सामग्री निर्यातमा रोक लगाएको छ।

    त्यस्ता वस्तुमा दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै काठ जस्ता कुराहरू रहेका छन्।

    उसले दुई सयभन्दा बढी वस्तुमा लगाएको प्रतिबन्धले ईयूका सदस्य राष्ट्रहरू सहित अमेरिकालाई पनि प्रभाव पर्नेछ।

    युक्रेनमा हमला गरेपछि पश्चिमाहरूले विशेषगरी रुसी तेल खरिदमा प्रतिबन्ध लगाएका छन्।

  17. लाइभ पेजमा स्वागत छ

    शुभप्रभात!

    रुसले युक्रेनमाथि आक्रमण गरेयता महत्त्वपूर्ण घटनाक्रमबारे हामीले निरन्तर अद्यावधिक गर्दै आएका छौँ।

    आज दिनभरि पनि हामी मुख्यमुख्य घटनाक्रमबारे समाचार सामग्री पस्किरहनेछौँ।

    कृपया हामीसँगै रहनुहोला।