मृतकको सङ्ख्या १ हजार नाघ्यो, केही शव बगेर भारत पुगे
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण मृत्यु हुने मानिसहरूको शव फेला पर्ने क्रम जारी छ।
नेपाल प्रहरीले आज बिहान ११:०० बजेसम्म १ ,०१० जनाको मृत्यु भएको पुष्टि भएको विवरण आफ्नो वेबसाइटमा दिएको छ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान बीबीसी नेपालीलाई मृतकको सङ्ख्या ९८७ पुगेको जानकारी दिएको थियो।
अझै ठूलो सङ्ख्यामा मानिसहरू सम्पर्कविहीन छन्। अधिकारीहरूले खोजी कार्य जारी रहेको बताएका छन्।
रसुवादेखि नवलपरासी पश्चिमसम्म गरी आठवटा जिल्लामा शवहरू फेला परेका हुन्। नदीमा बगेर गएका शवहरू चितवनमा सर्वाधिक सङ्ख्यामा फेला परेका छन्।
नारायणी नदीमा बगेका केही शव भारतमा पनि फेला परेको प्रहरीले जनाएको छ।
कहाँ कति शव फेला परे?
- रसुवा- ३८
- नुवाकोट- १०३
- धादिङ - ५६
- चितवन - ३२०
- गोरखा - ६५
- तनहुँमा - ३८
- नवलपरासी पूर्वमा - २१६
- नवलपरासी पश्चिम - १६९
- भारत - ५
स्रोतः नेपाल प्रहरी
फेला परेका शवहरूमध्ये निकै कमको मात्रै सनाखत र अन्तिम संस्कार भएको छ।
शवहरू सड्न थालेकाले स्थानीय अधिकारीहरूले तिनलाई अस्थायी व्यवस्थापन गर्न जमिनमुनि गाड्न थालेका छन्।
सम्बन्धित समाचार र भिडिओ