इजरेली गुप्तचर निकाय 'मोसाद' सफल र विफल भएका घटना

हमास नेता खालिद मशाल र याह्या अय्याश र मास्क लगाएका एक इजरेली सुरक्षाकर्मीको तस्बिर
तस्बिरको क्याप्शन, हमास नेता खालिद मशाल र याह्या अय्याश अनि मास्क लगाएका एक इजरेली सुरक्षाकर्मीको तस्बिर
Published
पढ्ने समय: १० मिनेट

अहिले हिज्बुल्लाहले प्रयोग गर्ने पेजर र अन्य सञ्चार उपकरणहरूमा विस्फोटन भएपछि तिनलाई बम बनाइएको ठानिएको छ। इजरेलको अत्याधुनिक निगरानी प्रणालीलाई छल्न प्रयोग भएका ती उपकरण प्रयोगकर्ताहरूसँग भएकै बेला पड्किए। ती घटनामा दर्जनौँ मानिसको ज्यान गएको छ भने हजारौँ जना घाइते भएका छन्।

लेबनन सरकारले ती आक्रमणमा इजरेल संलग्न भएको आरोप लगाउँदै त्यसलाई "अपराध" को सङ्ज्ञा दिएको छ। हिज्बुल्लाहले "उपयुक्त प्रतिशोध" लिने उद्घोष गरेको छ।

इजरेलले ती हमलाबारे कुनै टिप्पणी गरेको छैन। कतिपय इजरेली सञ्चारमाध्यमले सरकारले मन्त्रीहरूलाई उक्त घटनाबारे कुनै प्रतिक्रिया नदिन निर्देशन दिएको विवरण प्रकाशित गरेका छन्।

इजरेलले हिज्बुल्लाहका गतिविधिको सूक्ष्म निगरानी गर्दै आएको छ। त्यसैले यो साता भएका कारबाही दुई पक्षबीचको द्वन्द्वको हिस्सा भएको ठानिन्छ।

पेजर र वाकीटकी विस्फोटनमा इजरेल संलग्न रहेको पुष्टि भयो भने हिज्बुल्लाहमाथि उसले गरेको यो सबैभन्दा आश्चर्यजनक र सफल कारबाही भएको ठानिने छ।

त्यसले इजरेल र त्यसमा पनि विशेष गरी उसको राष्ट्रिय गुप्तचर निकाय 'मोसाद'सँग जोडिएका विगतका कतिपय सफल अभियानको सम्झना गराउने छ।

सञ्चार उपकरण विस्फोटनमा ज्यान गुमाएका एक जना हिज्बुल्लाह लडाकुको अन्तिम संस्कार
तस्बिरको क्याप्शन, लेबननामा सञ्चार उपकरण विस्फोटनमा परेर कैयौँ मानिसको मृत्यु भएको छ
मोसाद सफल भएका घटना

इजरेलले गरेका कैयौँ सफल कारबाहीको श्रेय मोसादले पाउने गरेको छ। तीमध्ये सबैभन्दा उल्लेख्य केही कारबाहीबारे यहाँ चर्चा गरिएको छ।

नाजी अधिकारी अडोल्फ आइख्मानको अपहरण

आर्जेन्टिनाबाट अपहरण गरेर इजरेल लगिएका आइख्मानविरुद्ध त्यहाँ मुद्दा चलाइएको थियो
तस्बिरको क्याप्शन, आर्जेन्टिनाबाट अपहरण गरेर इजरेल लगिएका आइख्मानविरुद्ध त्यहाँ मुद्दा चलाइएको थियो

सन् १९६० मा आर्जेन्टिनाबाट नाजीका एक अधिकारीको अपहरण भयो र उनलाई इजरेल लगियो।

अडोल्फ आइख्मान नाम गरेका ती अधिकारीलाई 'होलोकस्ट' का योजनाकार मानिन्थ्यो।

उनी द्वितीय विश्वयुद्धताका नाजीहरूले बनाएका 'कन्सन्ट्रेशन क्याम्प'मा यहुदीहरूमाथि भएको दमनका लागि जिम्मेदार थिए। त्यति बेला नाजी जर्मनीले ६० लाख यहुदीको हत्या गरेको थियो।

उनको अपहरण मोसादको सर्वाधिक चर्चित गुप्तचरी सफलता हो।

आइख्मान एउटा देशबाट अर्को देश भाग्दै आएका थिए। उनी अन्ततः आर्जेन्टिनामा बस्न पुगेका थिए।

मोसादका १४ गुप्तचरहरूको समूहले उनलाई फेला पारेर अपहरण गरेको थियो।

इजरेलमा उनीमाथि मुद्दा चलाइयो र दोषी ठहर गर्दै मृत्युदण्ड दिइयो।

एन्टेबी अपरेशन : विमान अपहरणमा परेका इजरेलीहरूको उद्धार

विमानबाट बन्धक बनाइएका इजरेलीहरू  एक साता मुक्त भएका थिए
तस्बिरको क्याप्शन, विमानबाट बन्धक बनाइएका इजरेलीहरू एक साता मुक्त भएका थिए

सन् १९७६ मा युगान्डामा सञ्चालित 'एन्टेबी अपरेशन' इजरेलको सबैभन्दा सफल सैन्य अभियानमध्ये एउटा हो।

त्यसका लागि मोसादले गुप्तचरी सूचना दिएको थियो भने इजरेली सेनाले उक्त कारबाही सञ्चालन गरेको थियो।

तेल अभिभबाट प्यारिस हुँदै एथेन्स जाने क्रममा रहेको यात्रुवाहक विमानबाट बन्धक बनाइएका १०० जनालाई इजरेली कमान्डोहरूले सफलतापूर्वक उद्धार गरेका थिए। उक्त विमानमा १०३ इजरेलीसहित २५० यात्रु थिए।

अपहरणकर्ताहरूमध्ये दुई जना 'पप्युलर फ्रन्ट फर द लिबरेशन अफ प्यालेस्टाइन' र दुई जना उनीहरूका जर्मन सहयोगी थिए। उनीहरूले उक्त विमानलाई युगान्डातर्फ लगे।

यो प्रकरणमा तीन बन्धकको ज्यान गयो। अपहरणकर्ताहरू मारिए, युगान्डाका कैयौँ सैनिकहरूको पनि ज्यान गयो। अहिलेका इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू भाइ योनाथन नेतन्याहूको पनि मृत्यु भयो।

अपरेशन ब्रदर्श

सुडानबाट लुकाएर इजरेल पठाउन लागिएका इथिओपियाली यहुदीहरूको समूहसँगै मोसादका एक गुप्तचर
तस्बिरको क्याप्शन, सुडानबाट लुकीछिपी इजरेल पठाउन लागिएका इथिओपियाली यहुदीहरूको समूहसँगै मोसादका एक गुप्तचर

सन् १९८० छक्क्याएर गरिएको एउटा अभूतपूर्व कारबाहीमा मोसादले ७,००० इथिओपियाली यहुदीहरूलाई तस्करी गरेर सुडान हुँदै इजरेल पुर्‍याइएको थियो। उक्त काम तात्कालिक प्रधानमन्त्री मेनाखेम बेगिनको निर्देशनमा भएको थियो।

त्यसका लागि नक्कली 'डाइभिङ रिसोर्ट' को आवरण प्रयोग गरिएको थियो।

सुडान अरब लीग अन्तर्गतको एउटा शत्रुराष्ट्र थियो। त्यही भएर गोप्य रूपमा काम गर्नका लागि सुडानमा रक्तसागरको तटीय क्षेत्रमा मोसादले एउटा रिसोर्ट स्थापना गरेको थियो। इजरेली गुप्तचरहरूले त्यसलाई आफ्नो शिविर बनाएका थिए।

इजरेली गुप्तचरहरू दिनमा होटलका कर्मचारी बनेर काम गर्थे भने रातिको समयमा यहुदीहरूलाई सुडानबाट बाहिर पठाउने गतिविधिमा संलग्न हुन्थे।

छिमेकी इथिओपियाबाट गोप्य रूपमा हिँडाएर, हवाई र समुद्री मार्ग प्रयोग गर्दै मोसादले उनीहरूलाई इजरेल पुर्‍याउँथ्यो। सो कारबाही पाँच वर्षसम्म चलेको थियो र त्यसबारे पत्ता लाग्दासम्म मोसादका गुप्तचरहरू भागिसकेका थिए।

म्युनिख ओलिम्पिक्स बन्धक प्रकरणपछि गरिएको कारबाही

प्यालेस्टिनी लडाकुहरूले हत्या गरेका मानिसको सम्झनामा आयोजित समारोहमा म्युनिख ओलिम्पिक रङ्गशालामा इजरेली टोलीका सदस्य
तस्बिरको क्याप्शन, प्यालेस्टिनी लडाकुहरूले हत्या गरेका मानिसको सम्झनामा आयोजित समारोहमा म्युनिख ओलिम्पिक रङ्गशालामा इजरेली टोलीका सदस्य

सन् १९७२ मा प्यालेस्टिनी लडाकु समूह 'ब्ल्याक सेप्टेम्बर'ले इजरेली ओलिम्पिक टोलीका दुई सदस्यको हत्या गरिदिएको थियो भने अन्य नौ जनालाई बन्धक बनाएको थियो।

पश्चिम जर्मनीको प्रहरीले बन्धकहरू मुक्त गराउने प्रयास गरेको थियो। तर त्यस क्रममा नौ जनाको मृत्यु भयो।

सन् १९७२ को इजरेली ओलिम्पिक्स टोलीका ११  सदस्यको हत्या भएको थियो
तस्बिरको क्याप्शन, सन् १९७२ को इजरेली ओलिम्पिक्स टोलीका ११ सदस्यको हत्या भएको थियो

त्यसपछि मोसादले 'प्यालेस्टिनी लिबरेशन अर्गनाइजेशन'का कैयौँ सदस्यहरूलाई निसाना बनायो।

मोसादका गुप्तचरहरूको निसानामा पर्नेमध्ये महमुद हमशारी पनि थिए।

मोसादले प्यारिसस्थित उनको निवासमा जडित फोनमा विस्फोटक पदार्थ राखिदिएको थियो।

विस्फोटनमा परेर सुरुमा उनले एउटा खुट्टा गुमाए। तर चोटपटकका कारण पछि उनको ज्यान गयो।

याह्या अय्याश र फोन विस्फोटन

प्यालेस्टाइनको पक्षमा पैरवी गर्नेहरूले बनाएको एउटा पोस्टरमा याह्या अय्याशको तस्बिर
तस्बिरको क्याप्शन, प्यालेस्टाइनको पक्षमा पैरवी गर्नेहरूले बनाएको एउटा पोस्टरमा याह्या अय्याशको तस्बिर

सन् १९९६ मा त्यस्तै खालको कारबाहीमा हमासका एक प्रमुख बमनिर्माता याह्या अय्याशको ज्यान गयो। उनको हत्या गर्न मोटोरोला अल्फा मोबाइल फोनमा ५० ग्राम विस्फोटक पदार्थ राखिएको थियो।

अय्याश हमासको सैन्य सङ्गठनका प्रमुख नेता थिए। बम बनाउने विशेषज्ञता र इजरेलीहरूसँग सम्बन्ध भएका स्थानमा जटिल आक्रमणको योजनाकारका रूपमा उनी चर्चित रहेका थिए।

उनी इजरेली सुरक्षा निकायले सर्वाधिक खोजेका व्यक्तिमध्ये थिए।

सन् २०१९ को अन्त्यतिर इजरेलले उनको हत्यासँग सम्बन्धित निश्चित विवरणहरू सार्वजनिक नगर्ने रोक फुकुवा गरेको थियो। इजरेलको च्यानल१३ टेलिभिजनले अय्याशले आफ्ना पितासँग गरेको अन्तिम फोन कलको रेकर्डिङ सार्वजनिक गरेको थियो।

हमशारी र अय्याश दुवैको हत्याबाट इजरेलले प्रविधि प्रयोग गरेर लक्षित व्यक्तिहमाथि घातक कारबाही गर्ने गरेको देखिन्छ।

महमूद अल-माबहूको घाँटी थिचेर हत्या

सुरुमा करेन्ट लगाइएका महमूद अल-माबहूलाई पछि घाँटी थिचेर हत्या गरिएको थियो
तस्बिरको क्याप्शन, सुरुमा करेन्ट लगाइएका महमूद अल-माबहूलाई पछि घाँटी थिचेर हत्या गरिएको थियो

सन् २०१० मा हमासका वरिष्ठ सैन्य नेता महमूद अल-माबहूको दुबईस्थित एउटा होटलमा हत्या गरिएको थियो।

सुरुमा उनको मृत्यु अस्वाभाविक लागेन। तर दुबई प्रहरीले सीसीटीभी फुटेज हेरेर ज्यान लिने समूहको पहिचान गरेको थियो।

प्रहरीले अल-माबहूलाई बिजुली लगाएर अनि त्यसपछि घाँटी थिचेर मारिएको खुलासा गर्‍यो।

उक्त कारबाहीको योजना मोसादले बनाएको आशङ्का गरिएको थियो। यूएईले उक्त घटनाप्रति कूटनीतिक रोष व्यक्त गरेको थियो।

इजरेली कूटनीतिज्ञहरूले मोसादसँग उक्त आक्रमणको सम्बन्ध भएको कुनै प्रमाण नरहेको बताएका थिए।

तर इजरेली अधिकारीहरूले आफ्नो संलग्नता अस्वीकार गरेनन्। त्यस्ता घटनामा ‘अस्पष्टता’ कायम राख्ने इजरेली नीति रहँदै आएको छ।

हत्या गर्ने विफल प्रयासहरू

मोसादले गरेका कैयौँ कारबाहीहरू सफल भए पनि उक्त निकाय कैयौँ पटक विफल हुनुपरेका घटनाहरू छन्।

हमासका राजनीतिक नेता खालिद मशाल

हमास नेता खालिद मशाल
तस्बिरको क्याप्शन, खालिद मशालले सन् १९९६ देखि २०१७ सम्म हमासको राजनीतिक नेता थिए

सन् १९९७ मा एउटा घटनाले इजरेलका लागि एउटा ठूलो कूटनीतिक सङ्कट निम्त्याएको थियो। त्यति बेला हमासको राजनीतिक विभागका प्रमुख खालिद मशाललाई विष दिएर उनको हत्या गर्ने प्रयास भएको थियो।

सो घटनामा इजरेली गुप्तचरहरू पक्राउ परेपछि उक्त अभियान विफल भएको थियो।

त्यस बेला मशालको जीवनरक्षार्थ उक्त विष निष्क्रिय बनाउने औषधि उपलब्ध गराउन इजरेल बाध्य भएको थियो।

मोसादका तात्कालिक प्रमुख ड्यानी याटोम त्यति बेला मशालको उपचारमा सघाउन जोर्डन गएका थिए। उक्त प्रकरणले इजरेल र जोर्डनबीचको सम्बन्धमा चिसोपन बढाएको थियो।

हमासका नेता महमूद अल-जहर

महमूद अल-जहर सर्वाधिक खोजी गरिएका हमासका नेता थिए
तस्बिरको क्याप्शन, महमूद अल-जहर सर्वाधिक खोजी गरिएका हमासका नेता थिए

सन् २००३ मा इजरेलले गाजामा रहेको हमास नेता महमूद अल-जहरको घरलाई निसाना बनाउँदै हवाई हमला गरेको थियो।

उक्त आक्रमणबाट उनी बाँच्न सफल भए पनि उनकी पत्नी र उनका छोरा खालिदको ज्यान गयो। उक्त घटनामा अन्य कैयौँ मानसको मृत्यु भयो।

बम आक्रमणमा उनको निवास पूरै क्षतिग्रस्त भएको थियो। उक्त घटनाले घना बस्तीमा सैन्य कारबाही गर्दाको गम्भीर परिणाम देखाइदिएको थियो।

लभन प्रकरण

इजिप्टका राष्ट्रपति गमल एब्देल नासेर सुईज नहर राष्ट्रियकरण भएको घोषणा गर्दै
तस्बिरको क्याप्शन, इजिप्टका राष्ट्रपति गमल एब्देल नासेर सुईज नहर राष्ट्रियकरण भएको घोषणा गर्दै

सन् १९५४ मा इजिप्टका अधिकारीहरूले इजरेलले सञ्चालन गरेको ‘अपरेशन सुसन्नाह’ नामक एउटा गुप्त अभियान विफल पारिदिएका थिए।

उक्त योजनाअन्तर्गत इजिप्टस्थित अमेरिकी र ब्रिटिश स्थलहरूमा बम राख्ने र सूईज नहरमा तैनाथ ब्रिटिश सैनिकहरूको उपस्थितिलाई निरन्तरता दिन इजिप्टलाई दबाव दिने रणनीति लिइएको थियो।

इजरेली तत्कालीन रक्षामन्त्री पिन्हास लभोनको नामबाट उक्त प्रकरण चर्चित भयो। त्यसको योजना बुन्न लभोन संलग्न रहेको ठानिएको थियो।

मोसादले कतिपय विनाशकारी विफलताहरू पनि बेहोर्नुपरेको छ।

योम किपर युद्ध

अरब-इजरेल युद्धका क्रममा सन् १९७३ को अक्टोबरमा सुईज नहर पार गर्दै इजरेली सैनिकहरू
तस्बिरको क्याप्शन, अरब-इजरेल युद्धका क्रममा सन् १९७३ को अक्टोबरमा सुईज नहर पार गर्दै इजरेली सैनिकहरू

सन् १९७३ को अक्टोबर ६ मा इजिप्ट र सिरियाले साइनाई प्रायःद्वीप र गोलन हाइट्स नियन्त्रणमा लिने उद्देश्यसहित इजरेलमाथि अप्रत्याशित आक्रमण गरेका थिए।

यहुदीहरूको पर्व 'योम किपर'को दिन भएको उक्त हमलाले लडाइँका प्रारम्भिक दिनहरूमा इजरेललाई रनभुल्लमा पारिदिएको थियो।

इजिप्ट र सिरियाले इजरेललाई दुइटा मोर्चाबाट आक्रमण गरेका थिए। अपेक्षा गरेभन्दा निक्कै थोरै क्षति बेहोरेका इजिप्टका फौजहरूले सुईज नहर पार गरेका थिए भने सिरियाली सैनिकहरू इजरेली घेरा तोड्दै गोलन हाइट्समा प्रवेश गरेका थिए।

सोभियत सङ्घले सिरिया र इजिप्टलाई बन्दोबस्तीका समान सहयोग गरेको थियो। अमेरिकाले इजरेललाई अत्यावश्यक सामग्रीहरू उपलब्ध गराएको थियो।

इजरेल ती फौजहरूलाई फिर्ता पठाउन असमर्थ रह्यो। लडाइँ अक्टोबर २५ मा अन्त्य भयो। त्यसको चार दिनअघि संयुक्त राष्ट्रसङ्घले एउटा प्रस्ताव अनुमोदन गरेको थियो।

अक्टोबर २०२३ को आक्रमण

७ अक्टोबर २०२३ को आक्रमण

त्यसको झन्डै ५० वर्षपछि इजरेल त्यस्तै किसिमको आकस्मिक हमलाका कारण फेरि स्तब्ध बन्न पुग्यो। यसपालि हमासले गाजासँगको सीमानजिकै रहेका इजरेली गाउँमा अक्टोबर ७ , २०२३ मा आक्रमण गरे।

उक्त हमला हुन लागेको अनुमान गर्न नसक्नुलाई मोसादको ठूलो विफलता मानिएको छ। कतिपय विश्लेषकहरूले त्यसलाई हमासलाई पराजित गर्ने इजरेली नीतिमा देखिएको कमजोरी मान्ने गरेका छन्।

अक्टोबर ७ मा भएका आक्रमणमा १,२०० जनाको ज्यान गएको थियो। मृतकमध्ये अधिकांश सर्वसाधारण र केही विदेश नागरिक थिए।

करिब २५१ जनालाई बन्धक बनाएर गाजामा लगिएको थियो। हमासको कारबाहीको जबाफ दिन इजरेलले गाजा क्षेत्रमा आक्रमण गर्‍यो। इजरेली कारबाहीमा परेर अहिलेसम्म गाजामा ४१,००० जनाभन्दा बढीको ज्यान गएको छ। मारिनेमा बहुसङ्ख्यक गैरसैनिक रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।