दक्षिण भारतको केरलामा भीषण वर्षा र पहिरो, कम्तीमा १५८ जनाको मृत्यु

केरलामा पहिरो गएको स्थानमा उद्धारकर्मीहरू
Published
पढ्ने समय: ३ मिनेट

दक्षिण भारतको केरला राज्यमा भीषण वर्षापछि पहिरो जाँदा कम्तीमा १५८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पहिरोमा दर्जनौँ मानिस फसेको आशङ्का गरिएको छ।

केरलाको वायनाड जिल्लाका विभिन्न स्थानमा मङ्गलवार सबेरै पहिरो गएको थियो।

प्रभावित स्थानमा खोज तथा उद्धार अभियान चलिरहेको छ। तर ठूलो वर्षा तथा एउटा महत्त्वपूर्ण पुल भत्किएका कारण उद्धारकार्य प्रभावित भएको बताइएको छ।

केरलामा पहिरो गएको ठाउँ

स्थानीय अधिकारी डीआर मेघश्रीले सञ्चारमाध्यमलाई बताएअनुसार वायनाडमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको थियो भने छिमेकी मलपुरम जिल्लामा चलियार नदीमा बगेका नौवटा शव फेला परेका थिए।

वायनाड पश्चिम घाट पर्वतशृङ्खलामा पर्ने पहाडी जिल्ला हो। उक्त भेगमा मनसुनमा पहिरो गइरहन्छ।

पहिरोबाट वायनाडका विभिन्न स्थानहरू प्रभावित भएका छन्।

उच्च सतर्कता

भारत केरलाको बाढीपहिरोमा उद्धारकार्य

सामाजिक सञ्जालमा देखा परेका भिडिओहरूमा कच्ची बाटो र जङ्गल छेउछाउका स्थानमा धमिलो भल बगेको र त्यसले घरहरू बगाएको देखिन्छ।

रशिद पादिक्कल्परम्बान नाम गरेका एक स्थानीय बासिन्दाले मध्यरातितिर कम्तीमा तीनवटा पहिरो गएको र त्यसपछि पुल बगेको समाचारसंस्था रोएटर्सलाई बताएका छन्।

उद्धारकार्यमा राज्य तथा सङ्घीय सरकारका विपद् व्यवस्थापन गर्ने निकायहरू सहभागी छन्। प्रभावित स्थानमा सेनाको टोली पनि चाँडै पुग्ने बताइएको छ। उद्धारकार्यमा स्थानीय बासिन्दाहरूले पनि सघाइरहेका छन्।

वायनाड र छिमेकी जिल्लामा उच्च सतर्कता कायम गरिएको छ।

चौधमध्ये १० जिल्लामा शैक्षिक संस्थाहरू बन्द भएका छन्।

वायनाड

केरलाका मन्त्री एके शशीन्द्रनले सेना र वायुसेनालाई पहिरोमा फसेका मानिसहरूलाई उद्धार गर्न र अस्थायी पुल निर्माण गर्न भनिएको बताए।

स्थानीयवासी राघवन सी अरुणमालाले आफूले उक्त स्थानमा देखेको त्रासदीपूर्ण दृश्य बयान गरेका छन्।

उनले भने, “भग्नावशेषमा पुरिएका एक जना व्यक्तिले चिच्याएर मद्दत मागिरहेका थिए। अग्निनियन्त्रक र उद्धारकर्ताहरू पछिल्लो केही घण्टादेखि उनीसम्म पुग्न खोजिरहेका छन्।”

उनले थपे, “हामीले सयौँ मानिसहरू फसेको आशङ्का गरेका छौँ।”

अहिलेको विपद्‌बाट प्रभावित स्थानबाट करिब १० किलोमिटर टाढा पुथुमालामा सन् २०१९ मा पहिरोका कारण १७ जनाको ज्यान गएको थियो।

भारत केरलामा बाढीपहिरो
तस्बिरको क्याप्शन, उद्धारकार्यमा राज्य तथा सङ्घीय सरकारका विपद् व्यवस्थापन गर्ने निकायहरू सहभागी छन्

प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले केरलाका मुख्यमन्त्रीसँग कुराकानी गरेको र सङ्घीय सरकारले उद्धार प्रयासमा सहयोग गर्नेमा आश्वस्त तुल्याएको बताए।

मोदीले मृतकका परिवारलाई २ लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत घोषणा गरेका छन्।

केरलाको विपद् प्रबन्धन विभागले वायनाड, कोझीकोड, मल्लापुरम र कन्नूरमा ‘रेड अलर्ट’ जारी गरिएको बताएको छ।

मौसम विभागले उक्त इलाकामा २४ घण्टामा २०४ एमएमको वर्षा भएको आकलन गरेको छ।

अन्य इलाकामा 'अरेन्ज' र 'येलो' चेतावनी पनि जारी गरिएको छ।

वायनाड केरलाको पहाडी इलाका हो र त्यहाँ घुम्न जाने पर्यटकको सङ्ख्या उल्लेख्य रहने गरेको छ। कोझीकोड एअरपोर्टबाट वायनाडको दूरी करिब ८६ किलोमिटर टाढा पर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।