माटोमा काम गर्दा केही सातामै तपाईँको स्वास्थ्यमा सुधार आउन सक्छ

अन्जुलीमा माटो राखिएको तस्बिर
    • Author, बेका वार्नर
  • Published
  • पढ्ने समय: ५ मिनेट

माटोमा काम गर्दा घाँस, रूख वा झ्याउ छुँदा हाम्रो छाला र समग्र प्रतिरक्षा प्रणालीमा विभिन्न खालका लाभहरू पुग्छन्।

म दिनहुँ प्रायजसो आफ्नो घरनजिकैको उद्यानमा लामो समय हिँड्छु। त्यहाँ विभिन्न प्रजातिका धेरै रूखहरू छन्, वसन्त ऋतुमा निरन्तर परिवर्तन भइरहने सुगन्ध आउने आउने फूलहरू छन् र चराहरूको चिरबिरले वातावरण गुञ्जायमान हुन्छ। मेरो जुत्ता जतिसुकै हिलाम्मे भए पनि म प्राय: सफा हात लिएर घर फर्किन्छु।

तर अनुसन्धानले प्राय: रूख, झाडी र माटोलाई हातले छोएर अनुभव गर्नुमा पनि फाइदा हुन सक्ने देखाएको छ। फिनल्यान्डको वातावरण संस्थाकी प्रकृति स्वास्थ्य अनुसन्धानकर्ता मिरा ग्रनरूसले एउटा प्रयोगका क्रममा मानिसहरूलाई २० सेकेन्डसम्म माटो, पिट र झ्याउले आफ्ना हात मोल्न लगाइन्। उनले धाराको पानीले हात धोएपछि पनि उनीहरूको छालामा रहेका सूक्ष्मजीवहरूको सङ्ख्या र विविधता बढेको पत्ता लगाइन्। "नाङ्गो आँखाले हेर्दा (उनीहरूको हात) सफा देखिन्थे, तर परिवर्तन ठूलो थियो।"

हाम्रो छालामा धेरै ब्याक्टेरिया भएको कुरा सुन्दा त्यति राम्रो नलाग्न सक्छ। तर विभिन्न प्रकारका सूक्ष्मजीवहरू प्रशस्त मात्रामा सँगसँगै बस्दा, तिनीहरूले एक अर्कालाई नियन्त्रणमा राख्छन् र अझ हानिकारक तथा रोगजन्य ब्याक्टेरियाबाट हाम्रो रक्षा गर्छन्। बढ्दो अनुसन्धानले माटो र बिरुवाजस्ता प्राकृतिक पदार्थसँग सम्पर्कमा आउनु हाम्रो छालामा रहेका सूक्ष्मजीवहरूको विविधता बढाउने सजिलो उपाय भएको देखाइरहेका छन्। यसले हाम्रो छालालाई मात्रै नभई हाम्रो प्रतिरक्षा प्रणालीलाई पनि फाइदा पुर्‍याउँछ।

बीस सेकेन्ड समय भनेको धेरै होइन – म आफ्नो पैदल यात्राका क्रममा केही बेर रोकिएर रूखको बोक्रा छुन वा घाँसमै बस्न खुसी भएर तयार हुन्छु। तर अझ बढी प्रकृतिसँग सम्पर्कमा रहनु अझ राम्रो हुने ग्रनरूस बताउँछिन्। उनको प्रयोगमा "छालामा रहेका सूक्ष्मजीवहरू निकै छिट्टै प्रयोगअघि जस्तै अवस्थामा फर्किए।" यी परिणामहरूले प्रकृतिसँग लामो समयसम्म वा बारम्बार छालाको सम्पर्क हुँदा हाम्रो छाला र शरीरभित्र भइरहेको प्रक्रियामा उल्लेखनीय परिवर्तन आउन सक्ने सङ्केत गर्छन्।

माटोमा खेल्दै

हात र बिरुवाको चित्रकला
तस्बिरको क्याप्शन, माटो र बिरुवासँग खेल्दा त्यसले हाम्रो छालामा मात्रै नभई प्रतिरक्षा प्रणालीमा पनि मद्दत गर्छ

फिनल्यान्डको मध्य भागमा रहेको एउटा डे केयर अरिन्कोलिन्ना सेन्टरका बालबालिकाका लागि हिलोले फोहोर भएका हातहरू सामान्य कुरा हुन्। उनीहरू हरेक दिन कम्तीमा केही घण्टा रूखहरूले घेरिएको खेल मैदानमा बाहिर खेल्छन्। झाडी र रूखहरूबीच दौडिन्छन्। डोरी चढ्छन्, बालुवाका घर बनाउँछन् पानी जमेका खाल्डामा छ्यापाछ्याप गर्छन् र मुठ्ठीभरि माटो तथा काठका टुक्राहरू उठाउँछन्।

हरेक दिनको अन्त्यसम्म उनीहरू टाउकोदेखि खुट्टासम्म हिलोले ढाकिएका हुन्छन्। अहिले वैज्ञानिकहरूले यस्तो वातावरण उनीहरूको स्वास्थ्यका लागि कसरी फाइदाजनक हुनसक्छ भनेर अध्ययन गरिरहेका छन्। बालबालिकाको छाला, र्‍याल र दिसामा रहेका सूक्ष्मजीवहरूको विश्लेषण गर्नुका साथै रगत र कपालका नमुनाहरू अध्ययन गरेर अनुसन्धानकर्ताहरूले उनीहरूको खेल्ने ठाउँलाई प्रकृतिसँग जोडेपछि तीन वर्षको अवधिमा उनीहरूको प्रतिरक्षा प्रणालीमा के-कस्ता परिवर्तन हुन्छन् भन्ने कुरा बुझ्ने प्रयास गरिरहेका छन्।

फिनल्यान्डमा भएका ४३ वटा डे केयर सेन्टरमध्ये अरिन्कोलिन्ना एउटा हो र यी डे केयरहरू भविस्तु अनुसन्धान परियोजनामा सहभागी छन्। यो परियोजनाले वातावरणसम्बन्धी वैज्ञानिक मार्जा रोज्लन्डको नेतृत्वमा गरिएको हालैको दुई वर्षे अध्ययनलाई अघि बढाउँदै छ।

सन् २०१६-१७ मा उनले डे केयर सेन्टरको खेल मैदानमा जङ्गलको भुईँजस्तो प्राकृतिक वातावरण तयार गरिन् जहाँ पिट र बिरुवा रोप्ने बाकसहरू पनि थिए। त्यसपछि बालबालिकाहरूले २८ दिनसम्म नियमित रूपमा त्यहाँ खेलेपछि उनीहरूको छाला, र्‍याल र आन्द्रामा रहेका ब्याक्टेरियामा परेको प्रभाव हेरियो। एक वर्षपछि पनि फेरि परीक्षण गरियो।

पक्की सतह भएको खेल मैदानमा खेल्ने बालबालिकासँग तुलना गर्दा जङ्गलको भुईँजस्तो प्राकृतिक वातावरणमा खेल्ने बालबालिकाको छालामा एक वर्षपछि सूक्ष्मजीवहरूको विविधता अझ बढी रहेको पाइयो।

स्वस्थ छाला, स्वस्थ शरीर

हाम्रो छालाको हेरचाह गर्नुका फाइदाहरू अरू धेरै छन्। छालाको स्वास्थ्यले हर्मोनको गतिविधि, मुटुसम्बन्धी रोग र हाम्रो मानसिक तथा कोग्निटिभ कार्यक्षमतामा समेत प्रभाव पार्न सक्छ। विशेषगरी, अनुसन्धानले हाम्रो छालालाई विभिन्न प्रकारका ब्याक्टेरियासँग सम्पर्कमा ल्याउँदा यसले हाम्रो प्रतिरक्षा प्रणालीमा प्रभाव पार्न सक्ने देखाउन थालेको छ।

उनले केही साना बालबालिकालाई विभिन्न प्रकारका सूक्ष्मजीवहरू भएको माटो मिसाइएको बालुवा खेल्ने ठाउँमा खेल्न लगाइन्। अर्को समूहका बालबालिकाहरूले बाहिरबाट हेर्दा उस्तै देखिने तर कम सूक्ष्मजीव विविधता भएको माटो राखिएको बालुवा खेल्ने ठाउँमा खेले।

हामीले ठानेजस्तै सूक्ष्मजीवहरूले भरिएको बालुवा खेल्ने ठाउँमा खेल्दा बालबालिकाको छालामा रहेका केही निश्चित प्रकारका ब्याक्टेरियाहरूको विविधता बढ्यो। तर त्यति मात्र होइन यी बालबालिकाको रगतका नमुनामा साटोकाइन भनिने प्रतिरक्षा चिन्हमा पनि परिवर्तन भएको देखियो। यी परिवर्तनहरूले प्रतिरक्षा प्रणालीले अत्यधिक सक्रिय नभइ शरीरलाई विभिन्न हानिकारक तत्त्व तथा सङ्क्रमणबाट जोगाउने क्षमतालाई सहयोग गर्छ।

यस्तै कुराहरूले भविस्तु परियोजनालाई प्रेरित गरेको हो। यो अनुसन्धानले जैविक विविधताको अवधारणालाई सघाउँछ, जसअनुसार विभिन्न प्रकारका सूक्ष्मजीवहरूले भरिपूर्ण हावा, वनस्पति र माटोले मानव शरीरमा रहेका सूक्ष्मजीवहरूको समुदायमा महत्त्वपूर्ण प्रभाव पार्छन् र त्यसैले हाम्रो स्वास्थ्यमा पनि असर पार्छ।

हाम्रो वातावरणमा जैविक विविधता घट्दै जानु अहिले बढिरहेका प्रतिरक्षा प्रणालीसँग सम्बन्धित विभिन्न स्वास्थ्य समस्याहरूको एउटा कारण हुनसक्ने कुरा लामो समयदेखि सुझाव दिइँदै आएको छ। उनको अनुसन्धानले यस्तो किन र कसरी हुन्छ भन्ने कुरा बुझ्न सहयोग गर्न सक्छ।

ठूलालाई पनि फाइदा

स्वास्थ्यमा पुग्ने यी फाइदाहरू केवल बालबालिकामा मात्रै देखिएका होइनन्। एउटा अध्ययनमा, जाडोयाममा वयस्कहरूलाई पनि घरभित्रै तरकारीहरू उमार्न लगाइएको थियो। त्यसमा सहभागीहरूले विभिन्न प्रकारका सूक्ष्मजीवहरू भएको माटो प्रयोग गरे भने अरूले बाहिरबाट हेर्दा उस्तै देखिने तर सूक्ष्मजीवहरू कम भएको माटो प्रयोग गरे।

उनीहरूले एक महिनासम्म हरेक दिन बिरुवाहरूको हेरचाह गरे र आफूले उब्जाएका तरकारीहरू खाए। विभिन्न प्रकारका सूक्ष्मजीवहरू भएको माटो प्रयोग गर्ने मानिसहरूको छालामा रहेका ब्याक्टेरियाको विविधता बढेको पाइयो। उनीहरूको रगतमा सुजन कम गर्ने साइटोकाइनको मात्रा पनि बढेको देखियो। अर्को समूहमा भने परिवर्तन त्यस्तो देखिएन।

ग्रनरूसले आफ्नै परिवारमा पनि आफ्नो अनुसन्धानका निष्कर्षहरू व्यवहारमा लागु गरिन्। "जब म आफ्ना बच्चाहरूसँग बाहिर जान्छु, उनीहरूले केही फलफूलका बोक्रा, साना टुक्रा वा लट्ठीहरू टिप्न चाहे भने म हुँदैन भन्दिनँ। म उनीहरूलाई ती घरमा ल्याएर खेल्न दिन्छु।"

हामीले हाम्रो सहरहरूमा पनि यस्ता विचार लागु गर्नुपर्ने उनले बताइन्।

"प्रकृतिसँग सम्पर्कमा आउन सकिने गरी सहरहरू बनाइनुपर्छ। आशययुक्त नभइकन संसर्गमा आए पनि त्यो राम्रो हुन्छ र मानिसहरूले त्यहाँ जाने निर्णय गरिरहनु पनि पर्दैन। उनीहरू स्कुल वा काममा जाँदा प्रकृतिसँग निकट भइहाल्छन्," उनले भनिन्।

प्रकृतिसँग नजिक हुँदा त्यसले हाम्रो प्रतिरक्षा प्रणालीमा ठ्याक्कै कसरी प्रभाव पार्छ भन्ने विषयमा विज्ञानले अझ धेरै कुरा पत्ता लगाउन बाँकी छ। "यसमा जोखिम कम छ," उनले भनिन्, "कुनै ठूलो हानि नभइ धेरै सम्भावित फाइदाहरू छन्।"

सायद यी जे कुरा पत्ता लागे तिनीहरूले हामी सबैलाई झ्याउ लागेको रूखलाई हातले छुन, घाँसमाथि बसेर प्रकृतिलाई अनुभव गर्न र अलिकति हिलोसँग नडराउन प्रोत्साहित गर्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।