प्रमुख पाँचौँ अर्थतन्त्र बन्ने प्रयासमा छ विश्वको ठूलो मुस्लिम देश

श्रमिकको जीवन कठिन छ तर मुसमुलयादी र उनकी पत्नी नुर्मिस राम्रो परिणाम निस्कनेमा आशावादी छन्
तस्बिरको क्याप्शन, श्रमिकको जीवन सजिलो छैन तर मुसमुलयादी र उनकीपत्नी नुर्मिस परिश्रमको फल मिठो हुने ठान्छन्
    • Author, हाना सामोसीर र निकी विडाडिओ
    • Role, बीबीसी इन्डोनेशिअन
  • Published

अधिकांश अधबैँसे जोडीहरू आफूहरूले धान्न सक्ने हैसियत भएको खण्डमा अवकाशका लागि तयारी गरिरहेका छन्, तर ५५ वर्षका मुसमुलयादी र उनकी ५० वर्षीया पत्नी नुर्मिस उक्त परम्पराविपरीत काम गरिरहेका छन्।

उनीहरू हजारौँ किलोमिटर यात्रा गरेर इन्डोनेशियाको नयाँ राजधानी सहर भर्खरै आइपुगेका छन् जहाँ अकस्मात् फैलिरहेको वन क्षेत्रमा ओराङ्उट्यानको बास छ।

“यहाँ पूर्वाधार बनिरहेको समयमा जागिर पाउनु निकै सजिलो छ,” मुसमुलयादीले बीबीसी इन्डोनेशिअनसँग भने।

बोर्नियो टापुमा अवस्थित नुसान्तारामा होम एउटा निर्माण क्षेत्र हो। नुर्मिस सिमेन्ट मुच्छिन् भने मुसमुलयादी टायल बिच्छ्याउँछन्।

उनीहरूको सपना इन्डोनेशियाको सपना हो। मुसमुलयादीले स्थिर काम खोजिरहेका छन् र उक्त बृहत् परियोजनामा ठेकेदार बन्न पाउने उनको आशा छ।

वन क्षेत्रको बीचमा इन्डोनेशियाको नयाँ राजधानी शहर निर्माण गरिदैँछ
तस्बिरको क्याप्शन, वन क्षेत्रको बीचमा इन्डोनेशियाको नयाँ राजधानी सहर निर्माण गरिँदै छ

जोकोवी पनि भनेर चिनिने राष्ट्रपति जोको विडोडोले दुई वर्षअघि नुसन्ताराको निर्माण घोषणा गरेका थिए। त्यसपछि उक्त व्यवसाय विस्तार भएको थियो।

सरकारले उक्त परियोजनाअन्तर्गत २० लाख मानिस सन् २०२९ सम्ममा यहाँ बस्ने जनाएको छ।

तर कैयौँ किलोमिटर पर ५१ वर्षका पन्डी र उनकी पत्नी श्यामसिहा आफूहरू लखेटिने भयका कारण सुर्तामा छन्।

उनीहरू करिब २० हजार जनसङ्ख्या रहेको आदिवासी समुदायका सदस्य हुन् जोसँग आफ्नो परिवार पुस्तौँदेखि बसिरहेको भूमिको कानुनी स्वामित्व छैन।

एक दिन बिहान उठ्दा पन्डीले आफ्नो जग्गाजमिनमा नक्साङ्कन गरिएको देखे। त्यसबारे उनलाई कुनै सूचना दिइएको थिएन।

सरकार बाढी रोक्नका लागि उनको जग्गा खाली गराउन चाहन्छ। तर फेब्रुअरीमा अदालतबाट उक्त कदम स्थगन गराउन पन्डी सफल भएका थिए।

यो पान्डीको पूर्खाको जमिन हो तर त्यसलाई जोगाउन उनी लड्नु परिरहेको छ
तस्बिरको क्याप्शन, यो पान्डीको पुर्खाको जमिन हो, तर त्यसलाई जोगाउन उनी लड्नु परिरहेको छ

“यो म मेरा सन्तान र नातिनातिनाको भविष्यका लागि गर्दै छु,” उनले बीबीसी इन्डोनेशिअनलाई भने।

“यदि मैले केही पनि गरिनँ भने मेरो सन्तान र नातिनातिनाहरू सरकारका लागि रद्दीजस्तै हुन्छन्। यसरी नै हामी न्यायका लागि लड्ने छौँ।”

त्यो आदिवासी समुदायका लागि अस्थायी खुसी हो। किनभने एकदमै कम सरकारी मुआब्जा लिएर अन्य गाउँका मानिसहरू अन्यत्र गइसकेका छन्।

मुल्यादी र पन्डीको कथाले कसरी राष्ट्रपति विडोडोको परियोजना कसरी एकातर्फ विवादित छन् र अर्कोतर्फ तिनले अवसर निम्त्याइरहेका छन् भन्ने देखाउँछ।

ओराङ्उट्यानलाई खानेकुरा दिँदै एक व्यक्ति
तस्बिरको क्याप्शन, वातावरणवादीहरूले वन फँडानी र बसोबास नष्ट हुने कुराप्रति चिन्ता जनाएका छन्

प्रमुख पाँच अर्थतन्त्र?

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का अनुसार सन् २०१४ मा विडोडोले सत्ता सम्हाल्दा क्रयशक्ति सामर्थ्यका आधारमा इन्डोनेशिया विश्वको १०औँ ठूलो अर्थतन्त्र रहेको थियो।

एक दशकपछि इन्डोनेशिया विश्वको सातौँ ठूलो अर्थतन्त्र बनेको छ। उक्त मुलुकभन्दा माथि चीन, संयुक्त राज्य अमेरिका, भारत, जापान, जर्मनी र रुस छन्।

विश्वको सर्वाधिक मुस्लिम जनसङ्ख्या रहेको उक्त मुलुक सन् २०२७ सम्म आर्थिक रूपमा रुसभन्दा सम्पन्न बन्ने ठानिएको छ।

उक्त दक्षिणपूर्वी एशियाली देशले फेब्रुअरी १४ मा राष्ट्रपतीय चुनाव भएको थियो। अनौपचारिक आँकडाहरूले रक्षामन्त्री प्रोबावो सुबिआन्तो पहिलो चरणमा नै चुनाव दिशामा रहेको देखाएको छ।

उनले अहिलेको सत्ताकै आर्थिक नीतिहरूलाई निरन्तरता दिने बताएका छन्। विडोडोका छोरा जिब्रान राकाबुमिङ राकाले उनलाई सघाइरहेका छन्।

“जोकोवीका कार्यक्रमहरू कागजमा राम्रा छन् र तिनले इन्डोनेशियालाई आईएमएफको प्रक्षेपणको नजिकै ल्याउन सक्छन्,” इन्डोनेशियाका १० मुख्यमध्येको एउटा प्रिमाटा ब्याङ्कका प्रमुख अर्थविद् जुसा पाराडिडीले भने।

तर उक्त देशको महत्त्वाकाङ्क्षा ठूलो रहेको छ। सन् २०४५ भित्र इन्डोनेशिया प्रमुख पाँच उच्च आय भएको मुलुक बन्न चाहन्छ। उक्त मुलुक स्वतन्त्र भएको १०० वर्ष त्यही साल पुग्ने छ।

त्यसलाई हासिल गर्न इन्डोनेशियाको अर्थतन्त्र प्रत्येक वर्ष ६ देखि ७ प्रतिशतले बढ्नुपर्ने त्यहाँका अर्थमन्त्री श्री मुलयानीले उल्लेख गरेका छन्।

हाल आर्थिक वृद्धि पाँच प्रतिशत छ।

नुसान्तारामा ड्रिलिङ गर्दै मजदुरहरू
तस्बिरको क्याप्शन, उक्त लक्ष्य भेटाउन इन्डोनेशियाको अर्थतन्त्र प्रत्येक वर्ष ७ प्रतिशतले वृद्धि हुनुपर्छ

नीकल दोहन

इन्डोनेशिया बिदा मनाउन चर्चित बाली टापुका लागि प्रख्यात छ। तर उक्त देश संसारको सबैभन्दा ठूलो नीकल खानी भएको मुलुक पनि हो। नीकल विद्युतीय सवारीसाधनका ब्याट्री बनाउन प्रयोग गरिने प्रमुख धातु हो।

सन् २०१९ मा कच्चा निकलको निर्यातमाथि प्रतिबन्ध लगाउने घोषणा राष्ट्रपति विडोडोले पहिलो पटक गर्दा युरोपेली सङ्घले विश्व व्यापार सङ्गठनमा इन्डोनेशियाविरुद्ध उजुरी दिएको थियो।

राष्ट्रपतिले आफूले इन्डोनेशियामा नै त्यसको प्रशोधन विकास गर्न चाहेको जनाएका थिए।

एउटा स्वतन्त्र अनुसन्धान निकाय इन्स्टिट्यूट फर डिभेलप्मन्ट अफ इकनमिक फाइन्यान्सको एउटा शोधमा नीकल धातिसम्बन्धी नीतिले रोजगारी सिर्जना गरेको र अर्थतन्त्र विस्तार गराएको जनाइएको छ।

तर इन्डोनेशिया अझै पनि नीकल धातु पगाल्न चिनियाँ लगानीमा निर्भर छ। त्यस कारण त्यसको भविष्यबारे केही प्रश्नहरू बाँकी छन्। चीनको आर्थिक वृद्धि यो वर्ष ५.२ प्रतिशतबाट झरेर ४.६ पुग्ने आकलन गरिएको छ।

राष्ट्रपति विडोडोलाई भूमि विवाद, स्वास्थ्य सवाल र वातावरणको विनाशजस्ता उनका औद्योगिक नीतिहरूलाई बेवास्ता गर्दै चिनियाँ लगानी स्वागत गरेको भन्दै आलोचना गर्ने गरिएको छ।

“नीकलको ज्वरोले सरकारलाई नसोचीकनै निर्णय लिने अवस्थामा पुर्‍याएको छ,” माइनिङ एड्भोकेसी नेटवर्क नामक एउटा गैरसरकारी संस्थाका मेल्की नाहर भन्छन्।

बाली पर्यटकहरूमाझ लोकप्रिय छ
तस्बिरको क्याप्शन, बाली पर्यटकहरूमाझ लोकप्रिय छ

चुनौती कस्ता

सम्पर्क सञ्जाल इन्डोनेशियाको विकासका लागि मूल कुरा हो। त्यहाँका १७ हजार टापुहरूमा तीनवटा भिन्नाभिन्नै समय गणना गरिन्छ। राजधानी जकर्ता समुद्रमा डुब्न लागेको छ।

संसार कोभिड महामारीबाट उम्कन सङ्घर्ष गरिरहेका बेला सन् २०२२ मा राष्ट्रपति विडोडोले राजधानीलाई सार्ने नयाँ कानुनमा हस्ताक्षर गरेपछि धेरै मानिस छक्क परेका थिए।

चीनसहित कतिपय देशले नयाँ सहरका लागि लगानी गर्ने इच्छा देखाएका छन्, तर अहिलेसम्म ठोस केही भइसकेको छैन।

“अहिलेसम्म ठूला विश्वव्यापी लगानीकर्ताहरूलाई नुसान्तारामा आकर्षित गर्न कठिन भइरहेको छ,” एउटा स्वतन्त्र थिङ्कट्याङ्क सेन्टर अफ इकनमिक एन्ड ल स्टडिजका नैलुल हुदाले बीबीसीलाई भने।

राष्ट्रपतिले कैयौँ विधि अपनाएका छन् जसमा लगानीकर्तामैत्री श्रम कानुनको अनुमोदन पनि पर्छ। उक्त कानुनले श्रमिक अधिकारलाई हनन गर्ने नागरिक समाजका समूहहरूले जनाएका छन्।

उनले अक्टोबरमा सत्ता हस्तान्तरण गर्दै छन् र विवरणहरूका अनुसार उनले नुसान्ताराको निर्माणलाई आफ्नो सदैव सम्झना गरिने उपलब्धिका रूपमा हेरिरहेका छन्।

राष्ट्रपति विडोडो नुसनतारा आफूले देशलाई दिएको उपहार ठान्छन् king ceremony for projects funded by private investors at the new national capital Nusantara in Penajam Paser Utara, Indonesia, on Thursday, 21 September 2023
तस्बिरको क्याप्शन, राष्ट्रपति विडोडो नुसन्तारा आफूले देशलाई दिएको उपहार ठान्छन्, तर अधिकारकर्मीहरू त्यसले वातावरणमा क्षति पुर्‍याउने भन्दै चिन्ता व्यक्त गर्छन्

तर सरकारको न्याश्नल इनोभेशन रिसर्च एजेन्सीका राजनीतिक शोधार्थी फिर्मेन नूर त्यसमा दाग लागिसकेको ठान्छन्।

उनले भने, “धेरै कोणबाट नुसन्तारा विगत १० वर्षमा कसरी विकासका नाममा लोकतान्त्रिक मान्यताहरू र राजनीतिक अभ्यासहरू धूमिल भयो भन्ने कुराको प्रतिबिम्ब हो।”

यसैबीच भावी राष्ट्रपति प्रोबावो सुबिआन्तोले आमा र बच्चाहरूलाई निःशुल्क दूध र खाना दिने जस्ता लोकप्रिय वाचाहरू गरेर मन जित्ने प्रयास गरिरहेका छन्।

विज्ञहरूले राष्ट्रपतिका ठूला परियोजनाहरूका कारण दबावमा परेको देशको बजेटलाई यी कार्यक्रमले थप भार थप्न सक्ने बताइरहेका छन्।

“निःशुल्क आहार र कैयौँ अरू नीतिहरूले राज्यको बजेट सुकाउँछ र राष्ट्रिय ऋण बढाउँछ,” हुडाले भने।

“यदि आगामी सरकारको नीतिहरू पनि स्वेच्छाचारी भयो भने मलाई लाग्छ विश्वको ठूलो अर्थतन्त्र बन्ने सपनाका बावजुद सन् २०२९ सम्म ऋण दोबर हुने छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।