वैकुण्ठ मानन्धरको चार दशक पुरानो कीर्तिमान तोड्न तम्सिएका यी खेलाडी

- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
नेपालका प्रसिद्ध धावक बैकुण्ठ मानन्धरले ३९ वर्ष अगाडि बनाएको म्याराथनको कीर्तिमान अझै सम्म कसैले तोड्न सकेको छैन।
सन् १९८७ मा भारतको कोलकातामा उनले २ घण्टा १५ मिनेट ०३ सेकेन्डमा म्याराथन पूरा गरी स्वर्ण पदक जित्ने क्रममा बनाएको त्यो म्याराथनको दक्षिण एसियाली कीर्तिमान समेत थियो।
उनको उक्त ऐतिहासिक प्रदर्शन नेपाली खेलकुद इतिहासमै सर्वकालीन उच्च मानिन्छ, जसले बैकुण्ठलाई नेपालको ठूलो स्टार खेलाडीको रूपमा स्थापित गरेको थियो।
उनको चाहना छ - "कुनै विदेशी खेलाडीले होइन, नेपाली खेलाडीले नै सो कीर्तिमान भङ्ग गरोस्।"
दाबेदार को?
अहिले जापानको नागोयामा हुन लागेको २० औँ एसियाली खेलकूदमा नेपालको प्रतिनिधित्व गर्न लागेका म्याराथन धावक खड्कबहादुर खड्का उक्त कीर्तिमान तोड्ने दाबेदारको रूपमा उभिएका छन्।
खड्कले गत वर्ष नेपालगन्जमा सम्पन्न ११ औँ नेपालगन्ज म्याराथन २ घण्टा १५ मिनेट ०६ सेकेन्डमा पूरा गरेका थिए।
बैकुण्ठ मानन्धरको कीर्तिमान भङ्ग गर्न उनी ३ सेकेन्डले मात्र टाढा छन्।
अहिले एसियाली खेलकूदको बन्द प्रशिक्षणमा रहेका खड्क भन्छन्, " मेरो अहिलेको लक्ष्य यही नै हो।"
विगत ४ दशकमा नेपालमा थुप्रै म्याराथन धावकहरू आए। लामै समय नेपाली खेलाडीहरूको म्याराथन समय २ घण्टा २० देखि २ घण्टा २४ मिनेटकै बिचमा बसिरह्यो।
तर पछिल्लो समय भने लामो दूरीमा नेपालको प्रदर्शन राम्रो हुँदै आएको देखिएको छ। त्यसमा खड्कको नाम निकै अगाडि देखिएको छ।
जाजरकोट छेडागाड नपा ६ मा जन्मिएका खड्क सेनामा प्रवेश गरेपछि म्याराथनमा आएका हुन्। सेनाको पल्टनमा एकै पटक उनी म्याराथनमा सहभागी भएका थिए।
२०७७ को सेनाको दौड सीओएसमा भाग लिएर उनले म्याराथनमा पाइला अगाडि बढाएका थिए। २०७८ र २०७९ मा लगातार दुई वर्ष उनी प्रधानसेनापति दौडमा रजत पदक जित्न सफल भए।
२०८१ को प्रधानसेनापति कप जित्दा खड्कले समय निकै सुधार गरिसकेका थिए। उनले २ घण्टा १७ मिनेट २० सेकेन्डमा दौड पूरा गरेका थिए।
२०८२ को नेपालगन्ज म्याराथनमा समयमा थप सुधार गर्दै उनले झन्डै झन्डै बैकुण्ठ मानन्धरको कीर्तिमान भङ्ग गर्न भ्याएका थिए।
हुन त नेपालगन्ज म्याराथनको रुट नेपालको सबैभन्दा सहज म्याराथन रुट मानिन्छ। त्यहाँको रुट एकनासे छ र एक घुम्ती मात्र लिनुपर्छ। यद्यपि यो रुट अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएकोले यसको कीर्तिमान आधिकारिक हुन्छ।
बैकुण्ठको आशीर्वाद

तस्बिर स्रोत, KB Khadka
नेपालगन्जमा आफ्नो कीर्तिमान नजिक दौडिएपछि खड्कलाई बैकुण्ठ मानन्धरले सामाजिक सञ्जालमै बधाई दिएका थिए।
त्यो क्षणलाई खड्क विशेष मान्छन्।
उनी भन्छन्, "बैकुण्ठ दाइले बधाई दिनुभयो। अझ राम्रो गर र कीर्तिमान बनाउन शुभकामना दिनु भयो। त्यसले मलाई ठूलो प्रेरणा मिलेको छ।"
बैकुण्ठलाई उनी म्याराथनको आदर्श पनि ठान्छन्। उनी भन्छन्, "हामी बाटोमा दौडिँदा धेरैले बैकुण्ठ मानन्धर बन्न लागेको हो भनी सोध्छन्। अहिले उहाँकै पदचाप पछ्याइरहन पाउँदा गर्व लाग्छ।"
मिसन २६ अन्तर्गत विगत ३ वर्षदेखि नियमित प्रशिक्षणमा रहेका खड्क नागोयाको खेल स्थल र मौसमसँग सतर्क छन्। उनी भन्छन्, "सुने अनुसार, नागोयामा अलिक बढी गर्मी छ। धेरै गर्मी भयो भने प्रदर्शनमा असर पर्न सक्छ। रुट अर्को विषय हो।"
खड्कको प्रदर्शनलाई नियमित नियाली रहेका एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्री खड्कले नयाँ कीर्तिमान बनाउने सम्भावना धेरै रहेको बताउँछन्।
उनी भन्छन्, " एक पटकको संयोग होइन, २ घण्टा १७ मिनेटको रेन्जमा उनी सहजै दौडिरहेका छन्। उनी पाका छन्। परिस्थिति बुझ्न सक्छन्। त्यसैले सम्भावना छ।"
राजनका अनुसार खड्कको दौडिने उमेर पनि राम्रो छ। सन् १९८७ मा बैकुण्ठले कीर्तिमान बनाउँदा उनी ३६ वर्षका थिए। अहिले खड्क ४० वर्षका भएका छन्।
अध्यक्ष राजन खड्कलाई रणनीतिक भएर दौडिन सुझाव दिन्छन्। "एसियामा जापान, दक्षिण कोरिया, जापान जस्ता देशका खेलाडीहरू राम्रा छन्। उनीहरूको पछाडि नलागीकन कीर्तिमानमा मात्रै केन्द्रित भइ दौडिनुपर्छ। पदकवाला खेलाडीको पछि लाग्यो भने बिग्रिन सक्छ।"
दुई हप्ता अगाडि खड्कको घुँडाको समस्याले गर्दा केही दिन नियमित प्रशिक्षणमा असर परेको थियो। तर अहिले उनी पूर्णत: तन्दुरुस्त भइसकेका छन्।
यदि खड्कले बैकुण्ठको कीर्तिमान भङ्ग गर्न सके त्यो नेपाली म्याराथनमा अर्को युगको सुरुआत हुने खेल विश्लेषकहरूले बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





















