अलास्का : अधिक आप्रवासी कामदारलाई आकर्षित गर्न खोजिरहेको अमेरिकी राज्य

माछा प्रशोधन केन्द्रमा कार्यरत् एड्गर र मिन्डा
तस्बिरको क्याप्शन, एड्गर भेगा ग्रासिआ (बायाँ)का अनुसार उनले केही महिनाकै अवधिमा मेक्सिको फर्केर एक वर्ष आरामले बस्न पुग्ने गरी कमाएका छन्
    • Author, गिल्याइर्मो मोरेनो
    • Role, बीबीसी मुन्डो, अलास्काबाट
  • Published
  • पढ्ने समय: ६ मिनेट

आउँदो अमेरिकी राष्ट्रपतीय निर्वाचनका निम्ति आप्रवासन एउटा मुख्य मुद्दा हो। कमला ह्यारिस र डोनल्ड ट्रम्प दुवैले मेक्सिकोबाट सीमा पार गर्ने मानिसहरूको संख्यामा कडाइ गर्ने प्रतिबद्धता जनाइराखेका छन्। तर त्यहाँको एउटा रिपब्लिकन राज्यले आप्रवासीहरूलाई आकर्षित गर्न सक्दो प्रयास गरिरहेको छ।

अलास्काको खाडीमा रहेको कोपर नदीको 'डेल्टा'सँगैको 'फिसिङ टाउन' भनेर चिनिने कर्डोभा नगरस्थित एउटा माछा प्रशोधन केन्द्रमा यतिबेला खाजा खाने बेला भएको छ।

तर यहाँको मेनुमा अमेरिकी खानाको सट्टा अधिकांशजसो 'ट्याकोज' र 'टर्टिलाज'जस्ता मेक्सिकन खाना छन्। प्रत्येक वर्ष अलास्काका माछा प्रशोधन कारखानाहरूमा काम गर्न हजारौँ माइलको यात्रा गर्ने अन्य आप्रवासीहरू जस्तै मेक्सिकनहरू पनि घर बसेर कमाइनेभन्दा निकै कमाउने सम्भावनाद्वारा आकर्षित भएर यहाँ आइपुग्छन्।

"गत वर्ष मैले चार महिनामै चोखो २७ हजार डलर कमाएँ," एड्गर भेगा ग्रासिआले भने। यो मेक्सिकोको औसत आयभन्दा निकै धेरै हो। 'ओईसीडी'का अनुसार मेक्सिकोमा प्रतिपरिवार वार्षिक आम्दानी १६,२६९ डलर छ।

डुङ्गा चलाउँदै धुमपान गरिरहेका एक माछा मार्ने काममा संलग्न मानिस
तस्बिरको क्याप्शन, माछाको काम कोर्डोभाको स्थानीय अर्थतन्त्रका निम्ति महत्त्वपूर्ण छ

वर्षको धेरैजसो समय कोर्डोभाले शून्यभन्दा तलको तापक्रम, भीषण वर्षा वा हिमपातको सामना गर्छ। त्यसका साथै यसले 'पोलार नाइट' भनिने परिघटनाको पनि सामना गर्छ, जसले गर्दा दुई महिनासम्म घाम लाग्दैन।

तर गर्मीताका चिसो घटेर दिनहरू उज्याला हुन थालेसँगै यहाँका स्थानीयवासी प्रसिद्ध 'वाइल्ड अलास्का साल्मन' तथा कपर नदी र यसको जैविक विविधतायुक्त 'डेल्टा' क्षेत्रमा पाइने विभिन्न प्रकारका माछाको खोजिमा निस्कन्छन्।

त्यसपछि त्यहाँ माछा मार्ने होड चल्छ। यहाँको आधाभन्दा धेरै रोजगारी मत्स्य उद्योगसँग सम्बन्धित छ।

माछाको प्रशोधन, प्याकेजिङ र बिक्रीका निम्ति यहाँका कम्पनीहरू विदेशी जनशक्तिको मुख ताक्छन्।

राज्यको श्रम विभागका अनुसार अलास्काको 'सी–फूड' उद्योगका ८० प्रतिशतजति कामदार गैरआवासीय छन्।

यहाँ गैरआवासीय शब्दले संयुक्त राज्यकै अन्य राज्यका कामदारलाई पनि बुझाउँछ, तर कोर्डोभामा काम गर्ने धेरैजसो कामदारहरूमा युक्रेन, पेरु, टर्की, फिलिपिन्स र सबैभन्दा धेरै मेक्सिकोबाट आएकाहरू छन्।

उनीहरूलाई पारिश्रमिक र कामका सर्तहरूले आकर्षित गर्छ, जुन उनीहरूले आफ्नो ठाउँमा पाउनेभन्दा निकै राम्रो हुन्छ। माछा प्रशोधन गर्नेले प्रतिघण्टा १८.०६ डलर कमाउँछ। अतरिक्त समय काम गर्दा यही रकम बढेर २७.०९ डलर प्रतिघण्टा पुग्छ।

त्यसमाथि रोजगारदाताहरूले तीन छाक खाना दिनुका साथै करार अवधिभरका निम्ति नि:शुल्क बसोबासको व्यवस्था गरिदिएका हुन्छन्। यसले गर्दा कामदारको लगभग सबै कमाइ जोगिन्छ।

कोर्डोभामा पैसा खर्च गर्न धेरै कम स्थान उपलब्ध छन्। यहाँ न सिनेमाघरहरू छन् न नै सपिङ मलहरू छन्। मौसमका कारणले माछा मार्न जान नपरेका दिन उनीहरू नगरको एकमात्र बारमा बसेर मदिरा पिउँछन् र 'पूल' खेल्छन्।

त्यसमाथि कम्पनीहरूले यात्रा खर्च पनि बेहोरिदिएका हुन्छन्, किनकि कोर्डोभाजस्ता दुर्गम क्षेत्रमा विमान या डुङ्गाबाट मात्र पुग्न सकिन्छ।

माछा प्रशोधनशालामा काम गरिरहेका कामदारहरू
तस्बिरको क्याप्शन, माछा प्रशोधनशालामा झिसमिसेबाटै काम सुरु हुन्छ र १८ घण्टा वा अझै धेरै समयसम्म चल्छ

यहाँको जीवन विलासी किसिमको छैन। कर्डोभाका माछा प्रशोधनशालामा कामदारहरू बङ्क बेड(तह–तह परेका ओछ्यान) मा सुत्छन्। सयनकक्षमा रूपान्तरित गरिएका ढुवानी कन्टेनरको एउटा कोठमा चार जना राखिन्छन्। आफ्ना गर्मीका सामानहरू एउटा सानो खोपामा अटाउनुपर्छ।

यहाँको काम गाह्रो छ। झिसमिसेबाटै सुरु हुने काम १८ घण्टा वा त्योभन्दा धेरै समयसम्म चल्छ। उनीहरूले एकैदिनमा हजारौँ किलो माछा प्रशोधन गर्नुपर्ने हुन्छ।

एड्गर 'कन्भेयर बेल्ट' अर्थात् माछा प्रशोधनका क्रममा प्रयोग हुने फित्तायुक्त उपकरणमा काम गर्ने क्रममा हरेक माछाबाट हड्डी, रगत र अन्य भित्री भागहरू छुट्याउन कुशलतापूर्वक एकैसाथ दुइटा चक्कु चलाउँछन्।

उनी ती माछाहरू जोखाइ र प्याकेजिङका निम्ति 'कन्भेयर बेल्ट'को अर्को छेउमा रहेका अन्य कामदारहरूसमक्ष सफासँग पुग्ने सुनिश्चित हुने गरी द्रुत गतिमा काम गर्छन्।

केहीबेरमै माछाको गन्ध र ओस कामदारको छाला र कपडामा टाँसिन पुग्छ, तर एड्गर खुसी भएर काम गर्छन्।

अलास्काको कमाइले उनलाई मेक्सिकालीमा वर्षभर आरामले बसीबसी खान पुग्छ। मेक्सिकाली मेक्सिकोको उत्तरमा अवस्थित बाजा क्यालिफोर्निया राज्यमा पर्छ। अमेरिकासँगैको उक्त सीमावर्ती सहरमा एड्गरका चार सन्तान बाबुको प्रतीक्षामा छन्।

"मैले यहाँ कमाएको रकमको मूल्य त्यहाँ दुगुना हुन्छ," उनले भने।

कोर्डोभाको कम चहलपहलयुक्त सडक र ससाना दोकानहरू
तस्बिरको क्याप्शन, कोर्डोभामा पैसा खर्च गर्न धेरै कम स्थान उपलब्ध छन्

माछाको काम अलास्काको सबैभन्दा ठूलो व्यवसाय हो।

यहाँको मत्स्य तथा 'सी–फूड' उद्योगले वार्षिक २,२६८ टन माछा उत्पादन गर्छ। अलास्का फेअरब्याङ्क्स विश्वविद्यालयका अनुसार यो परिमाण संयुक्त राज्य अमेरिकाको कूल उत्पादनको आधाभन्दा अधिक हो।

अलास्काका ब्रिस्टोल बे, भाल्डेज, र कोपर नदीको 'डेल्टा'जस्ता क्षेत्रमा 'ओसन ब्यूटी सीफुड्स' र 'ट्राइडेन्ट' जस्ता ठूल्ठूला संस्थानहरूका सयौँ प्रशोधनशालाहरू फैलिएका छन्।

मत्स्य उद्योगमा विदेशी कामदारको आवश्यकता यति बढ्यो कि सन् २०२३ बाट अमेरिकी सरकारले अलास्काका निम्ति ठूलो सङ्ख्यामा तिनका निम्ति लागि अस्थायी भिसा जारी गर्न थाल्यो। सन् २०२२ मा भिसाको सङ्ख्या ६६,००० मा सीमित राखिएकामा सन् २०२३ र २०२४ सम्ममा यो सङ्ख्या बढेर १,३०,००० पुगेको छ।

रिच व्हिलर कोर्डोभास्थित 'नर्थ सिक्स्टी सी फूड्स' नामको एउटा सानो माछा प्रशोधनशालाका सञ्चालक हुन्। एड्गर यो वर्ष यहीँ काम गरिराखेका छन्। व्हिलरका अनुसार अमेरिकी कामदारहरूमा लागुऔषध लिने, मनपरी काममा नआइदिने तथा झैझगडा गर्नेजस्ता समस्या हुने गर्थे।

उनका अनुसार मेक्सिकनहरूले उनको व्यवसायलाई चाहिएजस्तो स्थिरता प्रदान गरेका छन्।

"मेक्सिकनबिना यो सब गर्न सकिने कुरा म चिताउनै सक्दिनँ। उनीहरू सधैँ समयमै काममा आउँछन् र पेशागत हिसाबले सदैव यिनीहरूको भर पर्न सकिन्छ।"

माछा मार्न प्रयोग हुने डुङ्गाहरू
तस्बिरको क्याप्शन, कोर्डोभाका स्थानीयवासीहरू प्रशोधनशालामा काम गर्नुको सट्टा माछा मार्न रुचाउँछन्

धेरै आप्रवासी कामदारहरूका निम्ति अलास्कामा काम गर्नुको सबैभन्दा कठिन पक्ष भनेकै प्रियजनसँग लामो समयका निम्ति बिछोडिनु हो। रोजा भेगा एड्गरकी आमा हुन्। उनी १८ वर्षदेखि वर्षेनि अलास्काको यात्रा गर्दै आएकी छन्।

सतसठ्ठी वर्षे रोजा मेक्सिकोमा रहेकी आफ्नी वयोवृद्ध आमाबारे चिन्तित छिन्।

संयुक्त कोठामा बसेकी उनी आमालाई फोन लगाउने कोसिस गर्छिन्।

उनी भन्छिन्, "उहाँ धेरै बुढी भइसक्नुभयो र अचेल मलाई (यहाँ) नआउन भनिरहनुहुन्छ।"

उनका निम्ति यसपालिको भ्रमण विशेष चुनौतीपूर्ण रह्यो। मेक्सिकालीस्थित आफ्नो घर फर्किनुभन्दा दुई दिनअघि रोजाले आमालाई मस्तिष्काघात भएर अस्पताल भर्ति गरिएको थाहा पाइन्।

"उहाँ ८७ वर्षको हुनुहुन्छ। उहाँ कुनै पनि दिन बित्न सक्नुहुन्छ भन्ने मलाई थाहा छ। त्योबेला म यहीँ पनि हुन सक्छु।"

तर यता सोही समयमा रोजाले अलास्कामा कमाइ पनि गरिराखेकी छन्, जसबाट उनले आमाको उपचारखर्च बेहोर्न सक्छिन्।

रोजा भेगा
तस्बिरको क्याप्शन, रोजा भेगाको विचारमा अलास्काको गाह्रो पक्ष भनेकै बुढी आमालाई छाडेर आउनु हो

आगामी राष्ट्रपतीय चुनावमा डोनल्ड ट्रम्पले अमेरिकीहरूको रोजगार खोस्न आउने अवैध आप्रवासी कामदारहरूमाथि "हस्तक्षेप" गर्ने चेतावनी दिइरहँदा कमला ह्यारिसले भने सीमालाई सुरक्षित पार्ने र "बिग्रिएको" आप्रवासन प्रणालीलाई ठीक पार्ने प्रतिबद्धता जनाएकी छन्।

कोर्डोभामा गर्मीयाममा कामदारहरूको प्रवाह बढ्दा सामान्यतया तीन हजारभन्दा मुनि रहने यहाँको जनसङ्ख्या तीन गुना पुग्छ।

तर नगरका मेयर डेभिड एलिसन यहाँ आप्रवासीहरूलाई रोगजारीका निम्ति खतराका रूपमा भन्दा पनि स्थानीय अर्थतन्त्रका निम्ति महत्त्वपूर्ण सहयोगीका रूपमा लिने गरिएको बताउँछन्।

निकै वर्ष 'क्यानरीहरू'मा काम गरेका उनले "अलास्काका पत्रिकामा २५० जना कामदार चाहियो भनेर विज्ञापन गर्दा २० भन्दा धेरै आवेदन पर्दैन" भन्ने आफ्नो अनुभवद्वारा थाहा पाएका छन्।

विदेशी कामदारहरू नभए स्थानीयले समातेका माछा छिटै सड्ने र मूल्यहिन हुने एलिसन औँल्याउँछन्।

"प्रशोधन गर्ने मान्छे नभए माछाहरू प्रशोधित हुँदैनन् र माछाको काम नभए यो सम्भवत: सुनसान नगरमा परिणत हुन्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।