'बाटो साँघुरो र घुम्ती धेरै': भीमफेदी माइक्रोबस दुर्घटनापछि फेरि उठ्यो पूर्वाधारको प्रश्न

भीमफेदीमा सडकबाट तल खसेको सवारीसाधनको भग्नावशेषमा सुरक्षाकर्मीहरू
    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीस्थित भीमफेदी-कुलेखानी-काठमाण्डू सडकखण्डमा बिहीवार बिहान एउटा यात्रुवाहक सवारीसाधन दुर्घटनामा पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाण्डूबाट सर्लाहीतर्फ जाँदै गरेको उक्त विद्युतीय माइक्रोबस बिहान ५ः४५ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताएका छन्।

"दुर्घटनामा परी ज्यान गुमाउनेमा तीन महिला, दुई बालबालिका र पाँच पुरुष छन्," बीबीसी न्यूज नेपालीसँग उनले भने।

दुर्घटनामा परी घाइते भएका यात्रुमध्ये छ जनाको उद्धार गरी अस्पताल पुर्‍याइएको र उनीहरूको हेटौँडा अस्पालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उक्त सवारीसाधन सडकबाट कम्तीमा पनि ५०० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए। "दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन," उनले भने।

दुर्घटनामा घाइते भई उपचाररत देवेन्द्र राय यादवले गाडी सडकबा तल खसिसकेपछि मात्र आफूले थाहा पाएको बताएका छन्।

"हामी त निदाएका थियौँ। गाडी कुन बेला र कसरी तल खस्यो भनी भएन," सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उनले भने।

बारम्बार घातक दुर्घटना किन

भीमफेदीमा दुर्घटना भएको सडक र दुर्घटनास्थल देखाउने नक्सा

उक्त सडकको प्रकृतिका कारण बारम्बार सवारी दुर्घटना हुने गरेको भूतपूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौला बताउँछन्।

"साँघुरो बाटो र मोड्न गाह्रो हुने 'शार्प टर्निङ'हरू भएर त्यो सडकमा घातक सवारी दुर्घटना दोहोरिने गरेको हो," बीबीसी न्यूज नेपालीसँग उनले भने।

"जलविद्युत्‌ आयोजनाका सीमित गाडीहरूका लागि बनाइएको बाटो हो त्यो, सार्वजनिक यातायातका लागि बनाइएको होइन," उक्त सडकबारे सिटौलाले थपे।

चाडबाडका बेला सीट क्षमताभन्दा बढी यात्रु राख्दा पनि दुर्घटना हुने गरेको उनी बताउँछन्।

खास गरी चाडपर्वका बेला अरू रूटमा चलाउने चालकहरूले त्यो सडकमा चलाउँदा पनि समस्या हुने गरेको प्रहरीको भनाइ छ।

"यो बाटोमा चलाउने अनुभव नभएका अन्यत्र चलाउने सवारीचालकहरू चाडपर्वका बेला चलाउँदा दुर्घटना हुने गरेको छ," प्रहरी नायब उपरीक्षक काफ्लेले भने।

त्यसमा भूतपूर्व सचिव सिटौला पनि सहमत देखिन्छन्। "अनुभवी र दक्ष चालकलाई मात्र त्यो बाटोमा चलाउन दिनुपर्छ, नभए बारम्बार दुर्घटना भइरहन्छ," उनले थपे।

उक्त सडकको बनोट नै असुरक्षित रहेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं संसद्‌को पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल बताउँछन्।

"भिरालो बाटो छ, घुम्ती धेरै छन्। त्यसमाथि सबै किसिमको गाडी गुड्न दिइएको छ," दुर्घटनाको कारणबारे उनले भने।

दुर्घटना हुन नदिने उपाय के हो

कुलेखानी-सिस्नेरी-फर्पिङ सडकको विकल्प सुरुङमार्ग मात्र भएको भूतपूर्व सचिव सिटौलाको तर्क छ।

"सुरुङ बनाएर मात्रै सुरक्षित हुन सक्छ। सुधारका लागि धेरै काम गर्नुपर्ने हुन्छ। 'अलाइन्मन्ट'मा धेरै परिवर्तन गर्नुपर्ने हुन्छ। चौडाइ बढाउन सम्भव छैन। त्यसो भएर त्यहाँ उत्तम विकल्प भनेको सुरुङमार्ग हो," उनले भने।

पूर्वाधार विकास समितिका सभापति गजुरेल नेपालका सडकहरूमा मापदण्डअनुसारको सुधार आवश्यक रहेको औँल्याउँछन्।

"सडकबारे अध्ययन गरी केके सुधार गर्नुपर्छ, त्यसमा हामी लाग्नुपर्छ। पहिलो कुरा सडकबाट सवारीसाधन तल कसरी झर्न नदिने भन्ने प्राथमिकतामा राखेर सुधार गर्नुपर्छ," उनले भने।

सडकको किनारमा राखिने 'रोड क्र्याश बरिअर'देखि सङ्केतसम्मका क्षेत्रमा सुधार आवश्यक रहेको उनको तर्क छ।

"त्यसबाहेक चालकलाई आराम पुगेको छ कि छैन, त्यो सडकमा गाडी गुडाउने उसको क्षमता र अनुभव छ कि छैन। यी सबै कुरा हेरिनुपर्छ," गजुरेलले थपे।

संसद्‌मा दर्ता गरिएको सडक सुरक्षा विधेयक पारित भएपछि धेरै हदसम्म समस्याको समाधान हुने उनी बताउँछन्।

"विधेयकमा सडक सुरक्षा परिषद्‍को व्यवस्था छ। त्यो परिषद्‌ गठन भएपछि चौबिसै सडक सुरक्षाको क्षेत्रमा गर्ने निकाय हुन्छ। त्यसबाट धेरै सुधार हुने अपेक्षा हामीले गरेका छौँ," गजुरेलले भने।

हाल सडक विभाग नै डिजाइनदेखि सडक निर्माण तथा गुणस्तरको जाँचसम्म गर्ने गरेकोले प्रभावकारी हुन नसकेको उनको ठम्याइ छ।

त्यसैले सडक सुरक्षा विधेयकलाई सकेसम्म छिटो पारित गराएर कार्यान्वयनमा लैजानका निम्ति आफूहरू लागिपरेको गजुरेल बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।