मान्छे पृथ्वीको कति गहिराइसम्म पुगेको छ?

पृथ्वीको एक टुक्रा काटेको जस्तो देखाइएको एक चित्र जसले क्रस्ट, मोटो म्यान्टल तथा चम्किलो र तातो गर्भ देखाएको छ
Published
पढ्ने समय: ५ मिनेट

हाम्रो ग्रह पृथ्वीको केन्द्रमा के हुन सक्छ भन्नेबारे कैयौँ फिल्महरू, किताबहरू र टेलिभिजन कार्यक्रमहरू छन्।

त्यहाँ प्राग ऐतिहासिक जीवहरू बस्ने जमिनमुनिको संसारदेखि वैकल्पिक मानव सभ्यतासम्मका कथाहरू छन् जुन समानरूपमा रोमाञ्चक र डरलाग्दा छन्।

हामी जमिनको सतहमुनि धेरै तल नपुगेको भए पनि वास्तवमा हाम्रो पैतालामुनि के छ भन्नेबारेमा हामीलाई धेरै कुरा थाहा छ, र वास्तविकता धेरै नै फरक छ।

त्यसो भए हामी जमिनको सतहमुनि कति तल पुगेका छौँ? र त्यहाँ के छ भन्नेबारे हामीलाई के थाहा छ ?

पृथ्वीका तहहरू

पृथ्वीभित्रै चार प्रमुख तह छन्।

युनिभर्सिटी कलेज लन्डनमा भूगर्भ विशेषज्ञ प्रोफेसर आना फरेराका अनुसार हरेक तह फरक फरक छन्।

उनले बीबीसी रेडियो ४ को कार्यक्रम द इन्फिनिट मङ्की केजलाई बताए अनुसार "सबभन्दा बाहिर असाध्यै पातलो र नाजुक तह छ जसलाई क्रस्ट भनिन्छ। र यो तहमा हामी सबै बस्छौँ।"

पृथ्वीको सतह देखाइएको तस्बिर जहाँ महासागरीय क्रस्ट, त्यसपछि म्यान्टल र बाह्य गर्भ तथा भित्री गर्भ देखाइएको छ
तस्बिरको क्याप्शन, पृथ्वीको सतह देखाइएको तस्बिर जहाँ महासागरीय क्रस्ट त्यसपछि म्यान्टल र बाह्य गर्भ तथा भित्री गर्भ देखाइएको छ

समुद्रको तल रहेको पृथ्वीको 'क्रस्ट' पातलो छ तर महादेशहरूबीच यो तह ७० किलोमिटरसम्म मोटो हुन सक्छ।

'क्रस्ट' भन्दा तल 'म्यान्टल' हुन्छ। त्यसको तह ३००० किलोमिटर मोटो हुन्छ र म्याग्मा भनिने 'चट्टान'बाट बनेको हुन्छ जुन हेर्दा ठोस देखिन्छ।

फरेरा भन्छिन्, "तर यो वास्तवमा लाखौँ वर्षदेखि बगिरहेको छ।"

र त्यसमा बाहिरी गर्भ 'आउटर कोर' हुन्छ जुन खासमा तरल फलाम र निकेल भन्ने तत्त्वबाट बनेको हुन्छ जसले गर्दा पृथ्वीमा चुम्बकीय क्षेत्र उत्पन्न हुन्छ।

भित्री गर्भ 'इनर कोर' ठोस फलाम र निकेलबाट बनेको हुन्छ जुन पृथ्वीको सबभन्दा तातो अंश हो र त्यसको तापक्रम ५,५०० °C सम्म पुग्छ।

'सुपरडीप' जानु

अहिलेसम्म मान्छे पृथ्वीको सबभन्दा गहिरोसम्म पुगेको भनेको दक्षिण अफ्रिकाको सुनखानी, एमपोनेङ गोल्ड माइनमा हो जुन जोहानेसबर्गबाट करिब ७५ किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ। यहाँको खाडल पृथ्वीको बाहिरी सतहदेखि करिब ४ किलोमिटरको गहिराइसम्म पुगेको छ।

शर्ट र नीलो हेल्मेट लगाएका क्यामेरातर्फ पिठ्यूँ फर्काएका एक व्यक्त एक गुफामा पानीको फोहोरा प्रयोग गरिरहेका देखिन्छन्
तस्बिरको क्याप्शन, पनेङ गोल्ड माइनमा सतहभन्दा करिब ४ किलोमिटर तलसम्म प्वाल बनाइएको छ

मानिसहरू भौतिक रूपमा धेरै तल पुग्न नसकेको भए पनि ड्रील प्रयोग गरेर तलसम्म खनेका छन्।

अहिलेसम्मको मान्छेले बनाएको सबभन्दा गहिरो प्वालचाहिँ 'कोला सुपरडीप बोरहोल' हो जुन तत्कालिन सोभियतहरूले उत्तरी रुसमा खनेका थिए र त्यो बीस वर्षसम्म खनेर सन् १९९२ मा सम्पन्न गरिएको थियो। यो पृथ्वीको बाहिरी सतहदेखि १२.२ किलोमिटर तलसम्म जान्छ।

यो न्यूयोर्कको गगनचुम्बी भवन एम्पाएर स्टेट बिल्डिङजस्ता २७ वटा भवन एकमाथि अर्को चाङ लगाउँदा हुने उचाइ जत्तिकै गहिरो हो। तर त्यो पनि पृथ्वीको क्रस्टको एक तिहाइ अंश मात्र हुनजान्छ।

विभिन्न कारणले गर्दा पृथ्वीको क्रस्टको गहिराइसम्म खन्नु असाध्यै कठिन कार्य हो।

जति गहिराइतर्फ प्रवेश गर्‍यो त्यति त्यहाँको तापक्रम बढ्दै गइरहेको हुन्छ।

जुन दरमा तापक्रम बढ्दै जान्छ त्यसलाई जीओथर्मल ग्रेडिएन्ट भनिन्छ। महाद्वीपीय क्रस्टमा यसको औसत तापक्रम प्रति किलोमिटर २५ देखि ३२ डिग्री सेल्सियस हुने ब्रिटिश भूवैज्ञानिक क्रिस ज्याक्सन बताउँछन्।

नीलो आकाशमुनि रहेको एक खन्डहर स्थितिमा रहेको भवन
तस्बिरको क्याप्शन, कोला सुपरडीप बोरहोल रहेको स्थान जहाँ अहिले कुनै काम भइरहेको छैन

पृथ्वीको गहिरो तहमा हुने चाप अर्को ठूलो चुनौती हो।

ज्याक्सनले भन्छन्, "त्यो प्वाललाई खुला राख्न आवश्यक चाप थेग्नु अत्यन्त कठिन काम हो।

पृथ्वीको 'स्क्यानिङ'

यदि हामी सतहबाट धेरै मुनि जान सक्दैनौँ भने हामीले पृथ्वीको भित्री भागका विभिन्न अंशबारे कसरी अध्ययन गर्न सक्छौँ?

जबाफ अनौठो छ - भूकम्पीय तरङ्गको सहयोगले।

ती पृथ्वीको भित्र फैलने भूकम्पले सिर्जना गर्ने कम्पनहरू हुन्।

यी फरक तहहरू हुँदै यात्रा गर्दा फरक गुणहरू हासिल गर्छन् जसलाई सीस्मोमिटरहरूले मापन गर्न सकिन्छ।

"त्यसपछि हामी उन्नत प्रकारको डेटा विश्लेषण गर्छौँ, हामी मोडलिङ पनि गर्छौँ र त्यसलाई पृथ्वीको भित्री भागको तस्बिर बनाउन प्रयोग गर्छौँ", फरेरा भन्छिन्।

ज्याक्सनले ती चित्रहरूलाई "पृथ्वीको सीटी स्क्यान" जस्तो भनेर वर्णन गरे।

भूकम्पीय तरङ्गहरू । यी सुरुमा साना हुन्छन् अचानक ठूला हुन्छन् र विस्तारै विस्तारै कम हुँदै जान्छन्
तस्बिरको क्याप्शन, भूकम्पीय तरङ्गहरू विभिन्न पदार्थ हुँदै यात्रा गर्दा भिन्न प्रकारका गुण तिनमा पैदा हुन्छन्

दुवै विशेषज्ञहरू पृथ्वीका विभिन्न तहहरूको अध्ययनले हाम्रो संसारको धेरै कुराहरू बुझ्न सहयोग गर्नेबारे सहमत छन्, जस्तो कि भूकम्प वा ज्वालामुखीको प्रक्रिया र कसरी हिमालहरू बने भन्ने प्रक्रिया बुझ्न।

फरेरा भन्छिन्, "तपाईँले अन्त्यमा गएर म्यान्टलले कसरी काम गर्छ भन्ने बुझ्नै पर्छ।"

यसबारेमा जानकारी राख्दा प्रकारान्तरले विभिन्न प्रयोगमा सहयोग पुग्न सक्छ जस्तो कि भूतापीय ऊर्जाको सम्भाव्यता बुझ्न। भूतापीय ऊर्जा त्यस्तो प्रकारको नवीकरणीय ऊर्जा हो जसले पृथ्वीको भित्री भागमा रहेको तापको उपयोग गर्छ।

उनले अनुसन्धानको यो क्षेत्र कहिलेकाहीँ धेरै अन्वेषणमुखी हुने बताइन्। यसले पृथ्वीको विभिन्न कालखण्डमा क्रमिक विकास कसरी भयो भन्ने बुझ्न सहयोग गर्छ र शायद यो पृथ्वीभन्दा टाढाको सन्दर्भमा पनि उपयोग गर्न सकिन्छ।

"के हामी त्यसो भए यो बुझाइको उपयोग अन्य ग्रह बुझ्न पनि गर्न सक्छौँ त," उनको प्रश्न छ।

बीबीसी रेडियो ४ मा प्रसारित द इन्फिनिट मङ्की केज भन्ने कार्यक्रममा आधारित ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।