ट्याङ्क, पर्यटन र तस्बिर: किन किम जङ अन र पुटिन बेइजिङ गइरहेका छन्

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जङ अन उत्तर कोरियाको झन्डा सामुन्ने उभिएर  रेड वाइनसहित टोस्ट गर्दै
तस्बिरको क्याप्शन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जङ अनबीच बेइजिङमा भेटवार्ता हुनेछ
Published
पढ्ने समय: ६ मिनेट

बेइजिङमा हुने सैनिक परेडमा विश्वका प्रमुख नेताहरूको भेटघाटबाट के अपेक्षा गर्न सकिन्छ? बीबीसीको कोरियाली, रुसी र चिनियाँ भाषा सेवाले गरेको विश्लेषण।

बुधवार बेइजिङको तिआन्अन्मेन स्क्वाएरमा चीनले आफ्नो विशाल सैनिक सामर्थ्य प्रदर्शन गर्नेछ। त्यसक्रममा परमाणु क्षेप्यास्त्र र ट्याङ्कहरू प्रदर्शन गरिनेछन् भने आकाशमा फिफ्थ जेनेरेशन लडाकु जेटहरू उडाइने छन्।

तर चीनको उक्त 'विजयोत्सव दिवस' को परेडमा धेरैको नजर त्यहाँ प्रदर्शन गरिने युद्ध प्रविधि भन्दा पनि उत्तर कोरियाली नेता किम जङ अन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमा हुनेछ। उनीहरू राष्ट्रपति सी जिनपिङको पाहुनाका रूपमा उक्त समारोहमा उपस्थित हुनेछन्।

दुवै नेताहरूले हालैका वर्षहरूमा कमै मात्र विदेश भ्रमण गरेका छन्। दोस्रो विश्व युद्ध अन्त्य भएको ८० औँ वर्षगाँठ समारोहमा उनीहरूको उपस्थितिले यी तीन देशको सम्बन्धमा र भविष्यको उनीहरूको योजनाबारे के बताउँछ?

बीबीसीको कोरियाली, रुसी र चिनियाँ सेवाका विज्ञहरूले परेडलाई लिएर उनीहरूको धारणा यसरी उल्लेख गरेका छन्।

कोरियाको प्रतिष्ठा र पर्यटन

चिनियाँ सेनाका महिला सदस्यहरूको क्लोज अप तस्बिर जसमा गम्भीर मुद्रामा सबै एकै दिशामा हेरिरहेका छन्
तस्बिरको क्याप्शन, उक्त परेडका लागि बेइजिङमा रिहर्सलहरू सुरु भइसकेका छन्

"किम र सीबीचको भेटवार्ता करिब ६ वर्ष यताकै पहिलो हुनेछ," बीबीसी न्यूज कोरियनकी जुना मुन भन्छिन्।

"किमले सन् २०१९ मा राष्ट्रपति डोनल्ड ट्रम्पको पहिलो कार्यकालमा हनोइमा भएको शिखर बैठकमा भाग लिनुअघि चीनको भ्रमण गरेका थिए र त्यही वर्षको अन्त्यतिर सीले प्योङयाङको भ्रमण गरेका थिए।"

यसपटकको घटनामा धेरै कुरा पहिलो हुनेछ। उदाहरणका लागि उत्तर कोरियाली, चिनियाँ र रुसी नेताहरूको जमघट एकैसाथ पहिलो पटक हुँदैछ।

हालैका उत्तर कोरियाका नेताहरूका लागि यो अस्वाभाविक पनि हो किनभने किम जङ अन र उनका बुवा र पूर्ववर्ती किम जोङ-इल दुवैले एक्ला एक्लै हुने कूटनीतिक भेटवार्ताहरूमा नै आफूलाई सीमित राख्दै आएका थिए।

चाखलाग्दो के पनि छ भने, उत्तर कोरियाली नेताले कुनै पनि चिनियाँ सैनिक परेडमा सन् १९५९ यता पहिलो पटक सहभागिता जनाउँदै छन्।

"उत्तर कोरियाले आर्थिक सङ्कट भोगिरहेको र कैयौँ महत्त्वपूर्ण राजनीतिक वर्षगाँठहरूको तयारी गरिरहेको छ। चिनियाँ सहायता अपरिहार्य रहेको समयमा यो भ्रमण हुन लागेको छ," मुन भन्छिन्। उनले उत्तर कोरियामा चामलको मूल्यमा उच्च वृद्धि भएको पनि उल्लेख गरिन्।

किम जङ अनले चीनबाट सहायता सुनिश्चित गर्न चाहनेछन् ताकि अक्टोबरमा हुने उत्तर कोरियाको वर्कर्स पार्टीको ८० औँ स्थापना दिवस र अर्को वर्ष हुने नवौँ पार्टी कङ्ग्रेस मितव्ययी भएर भन्दा पनि भव्य ढङ्गले मनाउन सकियोस्।

किम जङ अन र सी जिनपिङ केही झन्डाहरू अगाडि उभिएर गम्भीर मुद्रामा एक अर्कासँग हात मिलाउँदै।
तस्बिरको क्याप्शन, बेइजिङमा हुने परेडले सी जिनपिङ र किम जङ अनबीचको सम्बन्ध गहिरो बनाउन पनि सक्छ

तर उत्तर कोरियासँग चिनियाँ मद्दत आवश्यक रहेको अझ छक्क पार्ने खालको आर्थिक मुद्दा छ।

'प्योङयाङले हालै सञ्चालनमा आएको वोन्सान-काल्मा तटीय पर्यटक क्षेत्रमा ठूलो सङ्ख्यामा चिनियाँ पर्यटकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ," मुन भन्छिन्। "जसको लागि चिनियाँ कम्युनिस्ट पार्टीको आशीर्वाद आवश्यक पर्छ।"

तर उत्तर कोरियाका नेताको बेइजिङ यात्राको अर्थ केवल पैसामा मात्रै सीमित हुने छैन। किमले मस्को र बेइजिङसँगको आफ्नो सम्बन्धलाई सन्तुलनमा राख्न चाहन्छन्। जसले गर्दा उनी कुनै एउटामा मात्रै अति निर्भर हुनु नपरोस्। बेइजिङको समारोहले उनलाई दुवैसँग उपस्थित हुने दुर्लभ अवसर उपलब्ध गराउनेछ।

"सी र पुटिनसँगै आफूलाई उभ्याएर किमले महाशक्तिहरूको मित्रको रूपमा आफूलाई प्रस्तुत गर्ने र सम्भावित चीन-रुस-उत्तर कोरिया गठबन्धनमा उत्तर कोरियाको केन्द्रीय भूमिकाको सङ्केत गर्ने प्रयास गर्नेछन्," मुन भन्छिन्।

किम जङ अनले अक्टोबरमा हुने उत्तर कोरियाको वर्कर्स पार्टीको समारोहमा चिनियाँ राष्ट्रपति सीले सहभागिता जनाउने अपेक्षा गर्नेछन्। त्यसले देशभित्र र बाहिर उनको कदलाई उँचो बनाउनसक्छ।

उत्तरको छिमेकी दक्षिण कोरियाका लागि भने यसको के अर्थ हुन्छ?

मुन भन्छिन्, "किमको भ्रमणलाई अमेरिका, दक्षिण कोरिया र जापानबीच बढिरहेको सहकार्यप्रतिको रणनीतिक चुनौतीका रूपमा पनि व्यापक व्याख्या गरिएको छ। र, यसलाई प्योङयाङ चीन र रुससँग त्रिपक्षीय गठजोड बढाउन तयार रहेको सङ्केतका रूपमा पनि हेरिएको छ।"

"यदी किमको भिक्ट्री डेको भ्रमणले उत्तर कोरिया-चीन-रुस सहकार्यलाई बलियो बनाउँछ भने, यसको प्रभाव दक्षिण कोरियाको सुरक्षा वातावरणमा चरम हुनसक्छ," मुन भन्छिन्।

"अस्त्र प्रणाली, सैन्य प्रविधि, गुप्तचर र बन्दोबस्तीमा औपचारिक नभएपनि प्योङ्याङ, बेइजिङ र मस्कोबीचको सहकार्य निरन्तर बढ्दै गएको छ।"

विश्व मञ्चमा रुसको पुनरागमन

पुटिन र ट्रम्प एक अर्कातर्फ ढल्किएर मुस्कुराउँदै हिँडिरहेको दृश्य
तस्बिरको क्याप्शन, बेइजिङको परेड केही समयअघि अलास्कामा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटघाट गरेका राष्ट्रपति पुटिनलाई आफ्नो अन्तर्राष्ट्रिय छवि थप बढाउने मौका हुनेछ

बीबीसी रसिअनका एलेक्से कालमीकोभका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग अलास्कामा भेटवार्ता गरेको छोटो समयपछि नै बेइजिङबाट आएको निम्तो 'भ्लादिमिर पुटिनलाई प्रसन्न बनाउने कुरा" हो।

"वर्षौँसम्म युक्रेनमाथि उसले गरेको अतिक्रमणका कारण लगाइएको प्रतिबन्धका कारण रुस बढ्दो रूपमा विश्वबाट एक्लिँदै गएको थियो," उनी थप्छन्

"कुनै समय पुटिनको, जी सेभेन (विश्वका सात महाशक्ति राष्ट्रहरूको समूह)मा बराबरको हैसियत थियो तर अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनी बहिस्कृत बनेका छन्।"

तर अहिले छोटो समयको अन्तरालमा विश्वका दुई महाशक्तिहरूले उनलाई रातो कार्पेट बिच्छ्याएका छन्।

"केही समयअघिसम्म रुसी अधिकारीहरूले अन्तर्राष्ट्रिय मञ्चमा यस्तो खालको सफलताको कल्पनासम्म पनि गर्न सक्दैन थिए," कालमीकोभ भन्छन्। "अहिले, यो वास्तविकता हो।"

बेइजिङमा परेडमा भाग लिदाँ उनको अन्तर्राष्ट्रिय छविमात्रै बलियो हुँदैन यसले रुसी नागरिकहरूलाई देशको अन्तर्राष्ट्रिय छविप्रति पनि आश्वस्त पार्नेछ।

"कयौँ हात मिलाउने मौका, मित्रवत् अङ्कमाल गर्ने र रेड कार्पेटहरूको अर्थ रुसी सर्वसाधारणलाई मस्को बेइजिङको कनिष्ठ नभई बराबरको साझेदार हो भन्ने देखाउने अवसर हुनेछ।"

व्यक्तिगत सम्बन्धबाहेक, चीनको 'भिक्ट्री परेड' को अर्को पक्ष पनि हुनेछ। त्यो दोस्रो विश्व युद्धमा जापानले आत्मसमर्पण गरेको ८० औँ वार्षिकोत्सव हुनेछ जुन घटनापछि युद्ध अन्त्य भएको थियो।

"चीनमा शक्तिको प्रदर्शनले बाँकी विश्वमा एउटा महत्त्वपूर्ण सन्देश सम्प्रेषित हुनेछ: ग्लोबल साउथ बेवास्ता गर्न नसकिने शक्ति बनेको छ र यो सी र पुटिनको वरिपरि एकताबद्ध छ।"

अर्को प्रमुख सन्देश ह्वाइट हाउसतर्फ लक्षित हुनेछ जसले मस्को र बेइजिङबीच विभाजनको कुनै पनि प्रयास विफल हुने सङ्केत गर्नेछ।

"रुस र चीनबीचको सीमाविहीन मित्रता अझ पनि जीवन्त र राम्रो रहेको छ," कालमीकोभ भन्छन्।

चिनियाँ सैन्य शक्तिको प्रदर्शन

भिडका सामु परेडमा सामेल भएका चारवटा क्षेप्यास्त्र प्रणाली जसमा सैनिकहरू सतर्क मुद्रामा देखिन्छन्
तस्बिरको क्याप्शन, सन् २०१५ को ७०औँ वर्षगाँठको परेडमा प्रदर्शित चिनियाँ सैन्य उपकरण

परेडमा चीनले विश्वसामु आफूलाई आधुनिक सैन्य शक्तिको रूपमा प्रस्तुत गर्ने आकांक्षा राखेको छ।

"चिनियाँ अधिकारीहरूले भनेका अनुसार ७० मिनेटको परेडमा जनमुक्ति सेनाका अत्याधुनिक अस्त्रहरू देखाइने छन् जसमा अत्याधुनिक हाइपरसोनिक, एअर तथा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरू, एवं रणनीतिक क्षेप्यास्त्रहरू छन्। चीनको विद्यमान मुख्य लडाकू उपकरणहरूबाट ती छानिने छन्," बीबीसी न्यूज चाइनिजले जनाएको छ।

उक्त समारोह अगाडि एक सरकारी प्रवक्ताले उल्लेखनीय मात्रामा नयाँ उपकरणहरू पहिलोपटक प्रदर्शन गरिने बताएका थिए।

यसले विश्वको ध्यान निश्चित् रूपमा आकर्षित गर्नेछ किनभने बुलेटिन अफ एटमिक साइन्टिस्टका अनुसार हाल अन्य कुनै पनि देशभन्दा द्रुत गतिमा चीनले उसका परमाणु अस्त्रको विस्तार तथा विकास गरिरहेको छ।

कूटनीतिक मोर्चामा विगतमा भन्दा यसपालि उसलाई पाहुनाको सूची निर्माणमा सहज भएको छ।

राष्ट्रपति पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फौज्दारी अदालत (आईसीसी)ले पक्राउ पूर्जी जारी गरेको छ र विगतमा पाहुनाहरूलाई यस्ता समारोहमा बोलाउँदा बेइजिङ्ले आलोचना खेप्नु परेको थियो।

तर अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी नेता पुटिनलाई केही साता अगाडि अलास्कामा निम्त्याइसकेको सन्दर्भमा चीनलाई आलोचना गर्नु कठिन हुने बीबीसी न्यूज चाइनिजले जनाएको छ।

क-कसले समारोहमा भाग लिइरहेका छन् भन्ने मात्र पनि महत्त्वपूर्ण होइन - को को आउने छैनन् भन्ने पनि उल्लेखनीय छ।

दश वर्ष अगाडि गरिएको सोही परेडमा ताइवानका तत्कालीन सत्तारुढ दल केएमटीका अध्यक्ष डाकिएका थिए।

'चीन र ताइवानबीच सुमधुर सम्बन्धको अवधि'मा उक्त समारोह भएको बीबीसी न्यूज चाइनिजले जनाएको छ।

तर सन् २०१६ यता ताइवानको सरकार डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीले चलाइरहेको छ जसको बेइजिङ्सँग सम्बन्ध तुलनात्मक रूपमा चिसो रहने गर्छ।

हङ्कङ्मा विरोधीहरूमाथि गरिएको दमनको आंशिक कारणले, "ताइवानले बेइजिङ्मा सैन्य परेडमा भाग लिनका निम्ति यात्रा गर्न सार्वजनिक अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको" बीबीसी न्यूज चाइनिजले उल्लेख गरेको छ।

फलस्वरूप यो वर्षको समारोहमा भाग लिने २६ राष्ट्राध्यक्षहरूमध्ये ताइवानका प्रतिनिधि हुने छैनन्।

स्वशासित ताइवान आफ्नै भूभाग भएको चीनको दाबी छ र उसले लामो समयदेखि 'पुन: एकीकरण'को वाचा गर्दै आएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।