युक्रेनको दोहोरो चुनौती : युद्धको मोर्चामा रुसको अग्रता र ट्रम्पको पुनरागमन

अनास्तासिआ बोल्भिहिना
तस्बिरको क्याप्शन, अनास्तासिआ बोल्भिहिना घेराबन्दीमा परेको पोक्रोभ्स्क सहरबाट पलायन भइन्
    • Author, पल एडम्स
    • Role, कूटनीतिक संवाददाता, डिनिप्रो, युक्रेन
  • Published
  • पढ्ने समय: ५ मिनेट

रुसी सेनाले बिस्तारै पूर्वी युक्रेनमा युद्धमोर्चमा प्रगति गरिरहँदा त्यसबाट सो क्षेत्रमा मानवीय पीडाको लहर निम्त्याइरहेको छ।

वासिङ्टनमा प्रशासनिक फेरबदलका निम्ति दुई महिना बाँकी रहँदा युक्रेन रुसको प्रगतिलाई कसरी रोक्ने र डोनल्ड ट्रम्पका निम्ति कसरी तयार हुने भन्ने दुईवटा समस्यासँग जुधिराखेको छ।

रुस अघि बढ्दै जाँदा विस्तारै परिवर्तन भइराखेको युद्धरेखाबाट सय किमिजति पश्चिमस्थित प्याभ्लोराडको शिविरमा निरन्तर रूपमा मानिसहरू थपिइराखेका छन्। ती मानिसहरू युद्धका क्रममा नियन्त्रण गरिएका गाउँ र नगरबाट त्यहाँ आएका हुन्।

एकतीस वर्षकी अनास्तासिआ बोल्भिहिना आफ्ना दुई छोरासहित त्यहाँ छिन्। उनीहरूको बिरालो उनीहरूको सामानको थुप्रोमाथि सुतिरहेको छ, जसलाई उनीहरूले घेरामा परेको सहर पोक्रोभ्स्कको बाहिरपट्टी रहेको उस्पेनिभ्का गाउँबाट जसोतसो आफूसँगै ल्याएका हुन्।

उनीहरू बस्न सकिञ्जेल आफ्नो घरमा बसे, तर जताततै विस्फोटन हुन र पसलहरू बन्द हुनुका साथै एकएक गरी बाटोहरू बन्द हुन थालेपछि उनीहरूलाई अन्तत: परिस्थितिअघि झुक्न बाध्य हुनुपर्‍यो। त्यसपछि उनीहरूले झोलितुम्बा कसे, ढोकामा ताला ठोके र घर छाडेर हिँडे।

"युद्धले हामीलाई छुँदैन र यो छिट्टै अन्त्य हुनेछ भन्ने हाम्रो आशा छ," अनास्तासिआले मसँग भनिन्।

विद्युत र इन्टरनेटबिनाका दुई महिनापछि अहिले भने उनको 'ल्यापटप' खुला छ र उनी समाचारहरूसँग अद्यावधिक भइरहेकी छन्।

"अब सबै कुरा राम्रो हुनेछ र युद्ध अन्त्य हुनेछ भन्ने आशा गरेका छौँ," अमेरिकामा भएको राजनीतिक परिवर्तनबारे मेरो प्रश्नमा उनले भनिन्।

"हालका तुलनामा नयाँ राष्ट्रपति राम्रा हुनेछन् भन्ने मेरो आशा छ।"

कब्जामा रहेका पूर्वी युक्रेनका क्षेत्र दर्शाउने चित्र

पलायन भइ आएका वृद्धवृद्धाहरू नजिकैको प्रेक्षालयमा राखिएका छन्। स्वयंसेवीहरूले उनीहरूको रेखदेख गर्छन्। त्यहाँ मधुरो उज्यालो र न्यानो हिटरको पनि प्रबन्ध छ।

यहाँ निराशाको दृश्ष छ। थकित मानिसहरू ओछ्यानमा बसेका वा पल्टिएका छन् भने कोही सोचमग्न देखिन्छन्।

बिस्तारै रुसी नियन्त्रणमा गइरहेको कुराखोभ नजिकैको सुखी याली गाउँबाट ८३ वर्षकी केटरेना क्लेम्को भर्खरै आइपुगेकी छन्।

उनले सुक्सुकाउँदै आफ्नो घर तथा सम्पत्ति कसरी जलेर नष्ट भयो भन्ने संक्षेपमा सुनाइन्।

"उनीहरूले असाध्यै बम हाने," अघि बढिराखेको रुसी सेनाबारे उनले भनिन्, "संसारै सकिन आँटेजस्तो भयो।"

के युक्रेनले अझै जित्न सक्छ? मैले सोधेँ।

"त्यो त देउतालाई मात्रै थाहा छ," उनले सुस्केरा काढिन्। "कुरा सुन्दा मेरो हृदय दुख्छ। हामीमाथि असाध्यै बम हानियो र त्यसमा परेर कैयौँ मान्छे मरे।"

रुसले डिनिप्रोमा रातभर प्रशस्त्र बलिस्टिक क्षेप्यास्त्र खसाल्यो। उक्त प्रहार सहरभरि महसुस गरियो र बीबीसीको समूहसहित सबैजनालाई सुरक्षित स्थानमा जानुपर्ने बनायो।

'अट्याकम्स' क्षेप्यास्त्र र 'ल्यान्डमाइन'बारे बाइडन प्रशासनको पछिल्लो निर्णय प्रष्टसँग युक्रेनलाई आफ्नो र कब्जा जमाइएको रुसको कुर्स्क क्षेत्र जोगाउन सघाउनका निम्ति तयार पारिएका हुन्। यी दुवै अर्को साल हुनसक्ने दुई देशबीचको छलफलमा लेनदेनको विषय बन्न सक्छन्, यद्यपि त्यो कुरा डोनल्ड ट्रम्पले कुन बाटो समात्छन् भन्नेमा निर्भर गर्छ।

अमरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले उनीले कसरी द्वन्द्व टुङ्ग्याउन चाहन्छन् भन्नेबारे चौबीस घण्टामा युद्ध समाप्त गर्ने महत्वाकांक्षी वाचाबाहेक अहिलेसम्म धेरै कम मात्रै प्रष्ट सङ्केत दिएका छन्।

राष्ट्रपति जेलेन्स्कीसहितका युक्रेनी राजनीतिज्ञहरू ट्रम्पलाई शंकाको लाभ दिन उत्साहित देखिन्छन्।

"मेरो विचारमा उनले निकै आकर्षक तरिका अपनाएका छन्," पूर्वविदेशमन्त्री दिमित्रो कुलेबाले मसँग भने, "उनले धेरै विस्तारमा नबताइकन 'म यो ठिक पार्दैछु' भनेर प्रष्ट लक्ष्य तय गरेका छन्।"

"उनी आफ्नो दिमागमा ठूलो चित्र राख्न सक्छन्, म यो सामान्य लेनदेनको कुरामात्रै होइन भन्नेमा पक्का छु।"

ट्रम्पको नयाँ प्रशासन गठन भएसँगै र तिनको समय ट्रम्पको महत्वाकांक्षालाई कसरी साकार पार्ने भन्नेतिर लागेसँगै त्यही मूल विषयले नीतिलाई निर्देशित गर्नेमा यी पूर्वविदेशमन्त्री विश्वस्त छन्।

"राष्ट्रपति ट्रम्प नि:सन्देह आफ्नो क्षमता र नेतृत्व देखाउने एउटा लक्ष्यद्वारा निर्देशित हुनेछन्," उनले भने, "उनले समस्या हल गर्ने आफ्नो क्षमता देखाउनेछन् जसमा उनका पूर्ववर्ती असफल भएका थिए।"

क्षमता देखाउनु भनेको दुवैतर्फलाई समेट्नु भएको कुलेबा बताउँछन्।

युक्रेनबाट टाढिनु विकल्प नभएकोमा उनले जोड दिए।

चेसिभ यारनजिकै बन्दुक पड्काउँदै युक्रेनी सेना
तस्बिरको क्याप्शन, सैन्य सहायताबिना युक्रेन रुससँग परास्त हुनेछ भन्ने जेलेन्स्कीको डर छ

“अफगानिस्तानको पतनले बाइडन प्रशासनको विदेश नीतिको प्रतिष्ठामा जति आघात दियो, यदि तपाईँले भनेको परिदृश्यमा राष्ट्रपति ट्रम्प रमाउँछन् भने युक्रेन उनका निम्ति उस्तै परिणामसहितको उनको अफगानिस्तान बन्नेछ।"

"उनले त्यो चाहेका हुन् भन्ने मलाई लाग्दैन।"

गतसाता राष्ट्रपति जेलेन्स्कीले किएभले सन् २०२५ मा "कूटनीतिक माध्यमहरू"बाट युद्ध अन्त्य गर्न चाहेको बताएका थिए।

ट्रम्प ह्वाइट हाउसमा आएसँगै "छिट्टै" युद्ध समाप्त हुने उनको भनाइ थियो।

देशका धेरैमध्ये डिनिप्रोको कृत्रिम अङ्ग केन्द्रको ढोका भएर नियमित रूपमा घाइते सैनिकहरूको आवतजावत भइरहन्छ।

सत्ताईस वर्षका डेमिअन डुढ्ल्याले युद्धमा एउटा खुट्टा गुमाए। अठार महिनाअघि उनको लडाकु एकाइ क्षेप्यास्त्र आक्रमणमा परेको थियो।

उनी आफ्नो कृत्रिम खुट्टासँग अभ्यस्त भइसकेका छन् र अझ अर्को वर्ष हुने 'इन्भिक्टस् गेम्स'का निम्ति तालिम लिइरहेका छन्। तर जब युद्धको कुरा आउँछ, उनी कम आशावादी हुन्छन्।

"मेरो विचारमा हामीबाट दुई क्षेत्रहरू (डोनेट्स्क र लुहान्स्क) लगिन्छ र क्राइमिया (पनि)।"

"हामी उनीहरूलाई ती क्षेत्रबाट धकेल्न सक्छौँ भन्नेमा म विश्वस्त छैन। हामीसँग न मान्छे छन् न हतियार नै।"

डेमिअन डुढ्ल्या
तस्बिरको क्याप्शन, डेमिअन डुढ्ल्याले सन् २०२३ मा रुसी आक्रमणमा पनि एउटा खुट्टा गुमाए

वैचारिक मत सर्वेक्षणहरूले मिश्रित चित्र प्रस्तुत गरे पनि धेरैभन्दा धेरै युक्रेनीहरू छिट्टै युद्ध अन्त्य होस् भन्ने चाहन्छन् भन्ने देखाउँछन्। खासगरी यहाँबाट पूर्वमा, जहाँ दिनकै केही पटक 'साइरन' बज्ने गर्छ।

भूभाग गुमाएरै भए पनि शान्तिपूर्ण स्थिति सुनिश्चित गर्नुपर्छ भन्ने एकाथरीका अल्पसङख्यक पनि छन्, जसको सङ्ख्या बढ्दो छ।

"मेरो विचारमा त्यसपछि युद्ध अन्त्य हुन्छ," ट्रम्पले पद सम्हालेपछि के अपेक्षा गर्न सकिन्छ भन्ने मेरो प्रश्नमा २८ वर्षका एन्ड्रिल पेट्रेन्कोले भने।

तीन महिनाअघि खुट्टा गुमाएका उनी कृत्रिम अङ्ग राखेपछि विस्तारै निको हुँदैछन्।

"या त तिनीहरू सन् १९९१ को सिमानामा सहमत हुन्छन्, अथवा क्षेत्रहरू सुम्पिइन्छ। मुख्य कुराचाहीँ युद्ध रोकिन्छ र मानिसहरू मर्न छाड्छन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।