रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई

डेमिस हसाबिस
तस्बिरको क्याप्शन, डेमिस हसाबिस गुगल डिपमाइन्डका प्रमुख कार्यकारी हुन्
Published
पढ्ने समय: ३ मिनेट

यो वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन्।

वासिङ्टन विश्‍वविद्यालयका डेभिड बेकरलाई 'कम्प्युटेसनल प्रोटिन डिजाइन'का निम्ति र गुगल डिपमाइन्डका डेमिस हसाबिस तथा जोन एम जम्परलाई 'प्रोटिनको स्ट्रक्चर प्रेडिक्सन'का निम्ति पुरस्कार दिइने भएको हो।

पुरस्कारको आधा हिस्सा नितान्त नयाँ प्रकारको 'प्रोटिन'को विकास गरेका बेकरले प्राप्त गर्नेछन् भने बाँकी आधा 'प्रोटिन'को जटिल ढाँचालाई 'आर्टिफिसल इन्टेलिजन्स'को मद्दतले मापन गर्ने मोडेल विकास गरेका जम्पर र हसाबिसले पाउनेछन्।

रसायनशास्त्रतर्फ अहिलेसम्म ११६ पटक नोबेल पुरस्कार दिइएकोमा सन् १९०१ देखि २०२४ सम्ममा १९७ जनाले यो पुरस्कार पाएका छन्। दुईजना वैज्ञानिक दुई–दुई पटक पुरस्कृत भएका छन्।

यसअघि नोबेल पुरस्कार समितिले सोमवार चिकित्साशास्त्रतर्फ र मङ्गलवार भौतिक शास्त्रतर्फ विजेताहरूको नाम घोषणा गरेको थियो।

अब बिहीवार साहित्य, शुक्रवार शान्ति र आगामी साता सोमवार अर्थशास्त्रतर्फ पुरस्कार विजेताको नाम घोषणा हुने छ।

संयुक्त राज्य अमेरिकामा कार्यरत तीन वैज्ञानिक मूङ्गी बावेन्डी, लुई ब्रुस र अलेक्सी एकिमोभला गत वर्ष यो विधामा पुरस्कृत भएका थिए। उनीहरूले न्यानोटेक्नोलजीमा विशिष्ट योगदान पुर्‍याएका थिए।

उनीहरूले 'क्वान्टम डट' भनिने सूक्ष्म कण विकास गरेका हुन्। ती कणका विशिष्ट गुणहरू हुन्छन् र तिनले अहिले टेलिभिजनको स्क्रीन र एलईडी बत्तीबाट आफ्नो प्रकाश फैलाउँछन्। तिनले रासायनिक प्रतिक्रियामा उत्प्रेरकको काम गर्छन्। अनि शल्यक्रिया गर्दा तिनको स्पष्ट प्रकाशले ट्यूमरका कोषलाई देखिनेगरी उज्यालो पारिदिन सक्छ। सौर्य प्यानलमा पनि तिनको प्रयोग हुन्छ।

यस वर्ष चिकित्साशास्त्रतर्फको पुरस्कार अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनले 'माइक्रोआरएनए' (microRNA)को आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि पाउने भएका छन्।

भौतिक शास्त्रतर्फको पुरस्कार आर्टिफिशल इन्टेलिजन्स (एआई)सम्बन्धी अनुसन्धानका लागि अमेरिकी वैज्ञानिक जोन जे हप्फील्ड र ब्रिटिश क्यानडेली कम्युटर वैज्ञानिक जेफ्री ई हिन्टनले पाउने भएका छन्।

यसअघि कसले पाएका थिए पुरस्कार

मूङ्गी बावेन्डी, लुई ब्रुस र अलेक्सी एकिमोभलाई 'क्वान्टम डट' विकास गरेकाले
तस्बिरको क्याप्शन, न्यानोटेक्नोलजीको क्षेत्रमा काम गर्ने तीन वैज्ञानिक गत वर्ष पुरस्कृत भएका थिए
  • सन् २०२३ः मूङ्गी बावेन्डी, लुई ब्रुस र अलेक्सी एकिमोभलाई 'क्वान्टम डट' विकास गरेकाले
  • २०२२ः क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्प्लेसलाई 'क्लिक केमिस्ट्री' पनि भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि। उनीहरूको खोज क्यान्सरविरुद्ध उपचारविधि निर्माण गर्न उपयोगी बनेको थियो। त्यसले सोझै ट्यूमर गराउने कोषहरूलाई लक्ष्य बनाउन सघाएको थियो।
  • २०२१: बेन्जामिन लिस्ट र डेभिड म्याक्मिलनलाई एक अर्काको प्रतिबिम्ब हुने अणुहरू निर्माणका लागि
  • २०२०: एमानुएल शार्पन्टिएर र जेनिफर डाउड्नालाई डीएनए सम्पादन गर्ने प्रविधिका लागि
  • २०१९: जोन बी गुडइनफ, एम स्टान्ली ह्विटिङहम र अकिरा योशिनोलाई लिथिअम-आयन ब्याट्रीको विकासका लागि
  • २०१८: अमेरिकी वैज्ञानिकहरू फ्रान्सेस आर्नोल्ड र जोर्ज पी स्मिथ र ब्रिटेनका वैज्ञानिक ग्रेगरी विन्टरलाई एन्जाइमबारे गरिएका अनुसन्धानका लागि।
  • २०१७: ज्याक डुबोचे, युआकिन फ्रान्क र रिचर्ड हेन्डर्सनलाई जैविक अणुहरूको तस्बिरलाई परिस्कृत बनाएकाले
  • २०१६: जीन-पिएर सोभाज, फ्रेजर स्टोडार्ट र बर्नार्ड फेरिङ्गालाई अणुहरूको आकारमा सूक्ष्म यन्त्र बनाएकाले
  • २०१५: थोमस लिन्डाल, पोल मोर्ड्रिच र अजिज सान्चरलाई डीएनए मर्मतको अन्वेषणका लागि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।