नेदरल्यान्ड्सविरुद्ध नेपालको 'टी २० शैलीको' जित

अनिल साह र आशिफ शेख
तस्बिरको क्याप्शन, नेपालको जितमा अनिल साह र आशिफ शेखले महत्त्वपूर्ण योगदान दिए
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू
  • Published

प्रभावकारी बलिङ र आक्रामक ब्याटिङ गरेको नेपाल नेदरल्यान्ड्सलाई पराजित गर्दै विश्वकप क्रिकेट लीग २ मा पहिलो दुई अङ्क जोडेको छ।

उद्घाटन खेलमा नामिबियासँग भोगेको नमिठो पराजयमा मल्हम लगाउँदै नेपाली खेलाडीहरूले शनिवार कीर्तिपुर क्रिकेट मैदानमा सानदार प्रदर्शन गरे। उनीहरूले गएको विश्वकप क्रिकेटमा प्रभावशाली खेल देखाएको नेदरल्यान्ड्सलाई आफ्नो घरेलु मैदानमा ९ विकेटले हराएका छन्।

नेपालको जितमा ब्याटिङतर्फ अनिल साह र आशिफ शेखले सबैभन्दा महत्त्वपूर्ण योगदान दिए भने पहिलो इनिङ्समा कुशल भुर्तेलले नेपालका लागि सर्वाधिक चार विकेट लिए।

नेदरल्यान्ड्सले दिएको १३८ रनको लक्ष्य पछ्याउने क्रममा साह र शेख दुवैले अर्धशतक बनाए र १५.२ ओभरमै नेपालले आफ्नो लक्ष्य भेट्यो।

आक्रामक ब्याटिङ

कुशल भुर्तेल नेपाल क्रिकेट
तस्बिरको क्याप्शन, ओपनर कुशल भुर्तेलले नेपालको ब्याटिङ इनिङ्स आक्रामक तरिकामा सुरु गरे

ओपनर कुशल भुर्तेलले ११ बलमा तीन छक्काको मद्दतले २८ रन जोडेर नेपालको सुरुवात निकै आक्रामक बनाएका थिए।

उनी आउट भएपछि आशिफ शेख र अनिल साहले उनको शैलीलाई निरन्तरता दिँदै टीयू मैदानमा रनको वर्षा गरे।

आशिफ र अनिल दुबैले अविजित रही अर्धशतक प्रहार गरे।

आशिफले ५४ रनको पारी खेल्ने क्रममा आठ चौका र एक छक्का प्रहार गरे, १८ रन बनाएर खेल्दा उनले जीवनदान पाएका थिए।

अनिल साहको इनिङ्स झनै रोमाञ्चक थियो। उनले ३६ बलको सामना गर्ने क्रममा छ चौका र चार छक्का प्रहार गर्दै ५७ रन बनाएका थिए।

निरीह नेदरल्यान्ड्स

नेपाल क्रिकेटविरुद्ध नेदरल्यान्ड्स
तस्बिरको क्याप्शन, टस जितेको नेपालले नेदरल्यान्ड्सलाई ब्याटिङ गर्न लगाएर १३७ रनमा सीमित राख्यो

कीर्तिपुर मैदानको बिहानीमा टस जित्नु निकै महत्त्वपूर्ण मानिन्छ। टस जितेको नेपालले नेदरल्यान्ड्सलाई ब्याटिङ गर्न लगाएर १३७ रनमा सीमित राख्यो।

सुपर लीग खेलेर आएको नेदरल्यान्ड्स लीग २ को उच्च तहको प्रतिद्वन्द्वी हो।

हालै भारतमा जारी एकदिवसीय विश्वकपमा बाङ्ग्लादेश र दक्षिण अफ्रिकालाई हराएर आएको नेदरल्यान्ड्स शनिवार नेपाली बलरसामु निरीह बन्यो।

पाहुना टोलीलाई ३९ ओभरमा अलआउट गराउनमा 'कामचलाउ' लेग स्पिनर कुशल भुर्तेलले चार विकेट लिए।

ललितनारायण राजवंशीले दुई तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले एकएक विकेट लिए। नेदरल्यान्ड्सका दुई ब्याटर रनआउट भएका थिए ।

पहिलो ओभरमा नै सोमपाल कामीले विपक्षी ओपनर मिचेल लेभिटको विकेट लिएपछि नेदरल्यान्ड्सको पतनको क्रमले निरन्तरता पाएको थियो।

स्पिनरहरू ललितनारायण राजवंशी, यूएईबाट फर्केका दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्लको स्पिन आक्रमण झेल्न नेदरल्यान्ड्सका खेलाडीहरूलाई धौधौ पर्‍यो।

नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन जोड्न सकेका थिए। उनीसहित मध्यक्रममा साइब्रान्ड एङ्गलब्रेक्टले २३, बास डे लिडले २७ रन बनाएर इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए।

त्यसपछि २० औँ ओभरमा पुग्दा नेदरल्यान्ड्स ६७-४ को अवस्थामा थियो। ललितपछि भुर्तेल चम्किएपछि २८ ओभरमा १०१-७ को खराब अवस्थामा पुगिसकेको थियो।

अनिल साह
तस्बिरको क्याप्शन, नेपाली ब्याटरसामु डच टीम निरीह देखियो

नेपालले आज टोलीमा दुई परिवर्तन गर्ने क्रममा दीपेन्द्रसिंह ऐरी र देव खनाललाई खेलाएको थियो। पछिल्लो खेलमा खेलेका करण केसी र पवन सर्राफ बाहिर राखिएको थियो।

यो नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिपक्षीय शृङ्खलाको दोस्रो खेल हो।

पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।