तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकामा ट्रम्पको पार्टी पराजित, अब दुवै सदन डेमोक्र्याटहरूको नियन्त्रणमा
डोनल्ड ट्रम्पको बाँकी राष्ट्रपतीय कार्यकालको दिशा तय गर्ने ठानिएको अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटहरू तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) र माथिल्लो सदन (सीनेट) विजयी भएका छन्।
रिपब्लिकन पार्टीका ट्रम्पको राष्ट्रपतीय कार्यकालका बाँकी दुई वर्षमा अब डेमोक्र्याटिक पार्टीको नियन्त्रण कायम हुन भएको छ। कङ्ग्रेसमा नियन्त्रण कायम भएकाले डेमोक्र्याटहरूले राष्ट्रपति ट्रम्पविरुद्ध तेस्रो पटक महाभियोग लगाउन सक्ने सम्भावना पनि छ।
फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले डेमोक्र्याटहरूले "राम्रो गरेको" भन्दै इरान युद्ध र इन्धनको मूल्यवृद्धिका कारण आफ्नो पार्टी पराजित भएको स्वीकार गरे।
सीनेटमा नियन्त्रण कायम गर्ने महत्त्वपूर्ण प्रतिस्पर्धामा डेमोक्र्याटहरूले १८ वर्षयता पहिलो पटक नोर्थ क्यारोलाइना जितेका छन्। त्यहाँ रोय कूपरले रिपब्लिकनहरूबाट उक्त सीट खोसेका छन्।
रिपब्लिकन पार्टीको वर्चस्व कायम रहँदै आएका टेक्सस, ओहायो र क्यान्ससमा सीनेटमा डेमोक्र्याटिक पार्टी विजयी भएको छ। क्यान्ससमा १०० वर्षअघि मात्र डेमोक्र्याटिक पार्टीका उम्मेदवार सीनेटमा निर्वाचित भएका थिए।
मतगणना हुँदै गर्दा राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालका पोस्टहरूमा निराशा व्यक्त गर्न थालेका थिए।
यस मध्यावधि निर्वाचनमा तल्लो सदनका सबै ४३५ सीट, माथिल्लो सदनका १०० मध्ये ३५ सीट र गभर्नरहरूसहित पदका लागि चुनावी प्रतिस्पर्धा थियो।
मतदाताहरूको मनोदशा डोनल्ड ट्रम्प र रिपब्लिकनहरूको विपक्षमा गएको देखिन्थ्यो।
सीनेटका मुख्य प्रतिस्पर्धामा डेमोक्र्याटिक सिनेटर जोन ओसफ जोर्जामा पुन: निर्वाचित भएका छन्।
ओसफलाई सन् २०२८ को सम्भावित राष्ट्रपति पदको उम्मेदवारको रूपमा व्यापक रूपमा हेरिँदै आएको छ।
उनले समर्थकहरूलाई सम्बोधन गर्दै मतदाताहरूले "ट्रम्पको भ्रष्टाचार र अक्षमतालाई अस्वीकार गरेको" बताए।
'स्पष्ट सन्देश'
पूर्वराष्ट्रपति बराक ओबामाले आफ्नो पार्टीको ठूलो जित अमेरिकीहरू परिवर्तन चाहन्छन् भन्ने प्रमाण भएको बताएका छन्।
"आज राति अमेरिकी जनताले एक स्पष्ट सन्देश दिएका छन् - उनीहरू विभाजित गर्नेभन्दा मानिसहरूलाई एक ठाउँमा ल्याउने राजनीति चाहन्छन् अनि आफूले सामना गरिरहेका चुनौतीहरूको ठोस समाधान दिने नेताहरू चाहन्छन्," 'एक्स'मा ओबामाले लेखेका छन्।
मिशिगन र जोर्जाजस्ता 'स्विङ स्टेट'मा ओबामा डेमोक्र्याटिक उम्मेदवारहरूसँगै निर्वाच प्रचारप्रसारमा सहभागी भएका थिए।
"अब हाम्रो काम भनेको कम्मर कसेर लाग्नु, हामीसँग जहाँजहाँ अधिकार छ त्यहाँ परिवर्तन गर्नु, थप हुन नदिनु र भविष्यका लागि आधार तयार पार्नु हो।"
सदन नियन्त्रण गर्ने प्रतिस्पर्धा
यो परिणामले कङ्ग्रेसमा विपक्षी डेमोक्र्याटिक पार्टीको नियन्त्रण हुने सुनिश्चित गरेको छ।
अमेरिकी कङ्ग्रेस दुई सदन मिलेर बनेको छ। तल्लो सदनलाई 'हाउस अफ रिप्रिजेन्टेटिभ्स' भनिन्छ भने माथिल्लो सदनलाई 'सीनेट' भनिन्छ।
तल्लो सदनमा बहुमत प्राप्त गर्न कुनै पनि दललाई २१८ सीट आवश्यक पर्छ। सीनेटमा स्पष्ट बहुमतका लागि ५१ सिट चाहिन्छ।
यसअघि दुवै सदनमा रिपब्लिकन पार्टीको नियन्त्रण थियो।
शेअर बजारमा प्रभाव
डेमोक्र्याटिक पार्टीको जित हुने देखिएपछि शेअर मूल्यमा गिरावट आएको थियो।
विश्लेषकहरूका अनुसार यसको एउटा कारण उक्त पार्टीले डेटा-सेन्टर परियोजनाहरू र आर्टिफिशल इन्टेलिजन्स (एआई) पूर्वाधारमा हुने खर्चका विषयमा कडा नीति अपनाउन सक्ने हुनु हो।
जापानमा मुख्य 'निक्केई' सूचकाङ्क करिब तीन प्रतिशतले घटेको थियो भने अमेरिकी बजार बन्द रहे पनि 'स्टक फ्यूचर्स' कम मूल्यमा कारोबार भएको थियो।
अमेरिकी डलरको मूल्यमा पनि गिरावट आएको छ र जापानी येनको तुलनामा यो कमजोर बनेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।