इजरेलले कसरी हमासका नेता याह्या सिन्वारलाई भेट्यो र मार्‍यो?

याह्या सिन्वार
    • Author, ग्रेम बेकर
    • Role, बीबीसी न्यूज
  • Published
  • पढ्ने समय: ५ मिनेट

अक्टोबर ७ को हमलाको मुख्य योजनाकार रहेका हमास नेता याह्या सिन्वारलाई इजरेली फौजले एक वर्षभन्दा बढी समयदेखि खोजिरहेको थियो। उनी इजरेलविरुद्ध एक वर्षअघि हमला गरेयता गाजामा देखिएका थिएनन्।

६१ वर्षीय सिन्वार आफ्नो अधिकांश समय गाजा स्ट्रिपका सुरुङमा आफ्ना सुरक्षाकर्मीसाथ र इजरेलबाट बन्धक बनाएर लगिएका मानिसहरूलाई 'मानव ढाल'का रूपमा राखेर बसेको ठानिन्थ्यो।

तर उनको अन्त्य भने दक्षिण गाजामा गस्ती गरिरहेको एक इजरेली सेनासँग संयोगवश आमने सामने हुँदा भएको देखिन्छ।

उनलाई पहरेदारी गर्नेहरू थोरै थिए। कुनै बन्धकहरू भेटिएनन्।

त्यसबारे विस्तृत विवरणहरू आउने क्रम जारी छ। तर अहिलेसम्म सिन्वारको हत्याबारे थाहा भएका कुरा यस्ता छन्।

नियमित गस्ती

इजरेल डिफेन्स फोर्सेसले बुधवार आफ्नो ८२८औँ बिस्लमाच ब्रीगेडले रफाहको तल अल-सुल्तान क्षेत्रमा गस्ती गरिरहेको थियो।

इजरेली फौजले तीन जना लडाकुहरूको पहिचान गर्दै उनीहरूसँग भएका लडाइँमा ती मारिए।

बिहीवार बिहान त्यस ठाउँमा पुनः सैनिकहरू नफर्कँदासम्म अघिल्लो दिनको उक्त लडाइँलाई खासै उल्लेख्य ठानिएको थिएन।

मृतकहरूको खानतलासी गर्ने क्रममा एउटा शव हमास नेताको जस्तो देखियो।

तर सन्दिग्ध 'बुबी ट्र्याप'का कारण त्यो प्रस्ट बुझिने अवस्थामा थिएन। जसका कारण शवको औँलाको एउटा भाग काटेर परीक्षणका लागि इजरेल पठाइयो।

उक्त क्षेत्रलाई सुरक्षित पारिएपछि त्यसैदिन ढिलो गरी उनको शवलाई इजरेल ल्याइयो।

पछिल्ला सातामा इजरेलले रफाह क्षेत्रमा गस्ती बढाएको थियो
तस्बिरको क्याप्शन, पछिल्ला सातामा इजरेलले गाजाको रफाह क्षेत्रमा गस्ती बढाएको थियो

आईडीएफ प्रवक्ता ड्यान्यल हेगारीले आफ्ना फौजलाई "उनी त्यहाँ भएको थाहा नभए पनि कारबाही जारी राखेको" बताए।

उनले आफ्ना फौजले तीन जना मानिसहरू घर-घर भागिरहेको देखेपछि उनीहरूसँग लडाइँ भएको बताए।

पछि सिन्वारका रूपमा पहिचान गरिएका ती व्यक्ति "एक्लै एउटा भवनमा कुदिरहेको" र ड्रोनका सहायताले अवस्थिति पहिचान गर्दै मारिएका थिए।

सिन्वारले मानव ढाल बनाएको ठानिएका कोही पनि बन्धकहरू त्यहाँ थिएनन्।

उनीसँग सानो सङ्ख्यामा अन्य लडाकु हुनुले कि त उनी कसैको ध्यानमा नपर्ने गरी कतै जान लागेको वा उनलाई सुरक्षा दिने अधिकांश मारिइसकेको हुनसक्छ।

इजरेली रक्षामन्त्री योअफ गालान्टले भने: "सिन्वारको मृत्यु प्रताडित, भयभीत र भाग्ने क्रममा भयो - उनी कमान्डरका रूपमा नभईकन स्वयंको मात्र मतलब गर्ने व्यक्तिका रूपमा मरे। यो हाम्रा सबै शत्रुहरूलाई प्रष्ट सन्देश हो।"

सिन्वार 'मारिए'

इजरेली प्रहरीले सिन्वारको शवलाई इजरेल पुर्‍याएको छ
तस्बिरको क्याप्शन, इजरेली प्रहरीले सिन्वारको शवलाई इजरेल पुर्‍याएको छ

बिहीवार इजरेलले स्थानीय समय अनुसार मध्याह्नमा सिन्वार गाजामा मारिएको "सम्भावनाबारे अनुसन्धान गरिरहेको" घोषणा गरेको थियो।

उक्त घोषणाको केही मिनेटमै सोसल मिडियामा प्रेषित तस्बिरमा ती हमास नेतासँग मिल्दाजुल्दा तस्बिरहरू राखिएका थिए।

भयावह रूपमा टाउकोमा चोट लागेका कारण विचलित पार्न सक्ने भएकाले तिनलाई पुनः प्रकाशित गरिएको छैन।

यद्यपि अधिकारीहरूले "उक्त अवस्थामा" ती तिनैजना मानिसहरूको पहिचान पुष्टि गर्न नसकिएको भन्दै सजग गराएका थिए।

तेल अभिभमा राखिएको सिन्वारको पोस्टरमा इजरेलीहरूलाई सबैभन्दा खोजिएका आफ्ना शत्रूविरुद्ध एकजुट हुन आह्वान गरिएको छ
तस्बिरको क्याप्शन, तेल अभिभमा राखिएको सिन्वारको पोस्टरमा इजरेलीहरूलाई सबैभन्दा खोजिएका आफ्ना शत्रुविरुद्ध एकजुट हुन आह्वान गरिएको छ

त्यसपछि बीबीसीसँग धेरै ढिलो नगरीकनै इजरेली स्रोतहरूले सिन्वारलाई मारिएको कुरामा नेताहरू "बढ्दो रूपमा आश्वस्त" बनिरहेको बताए।

तर मृत्यु पुष्टि गर्नुअघि सबै आवश्यक परीक्षणहरू गर्न आवश्यक रहेको उनीहरूले बताएका थिए।

ती परीक्षण गर्न धेरै समय लागेन।

बिहीवार साँझसम्म ती पूरा भएको भन्दै इजरेलले सिन्वार "मारिए"को पुष्टि गर्‍यो।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले "दुष्ट"ले "झट्का बेहोरेको" बताए। तर उनले "गाजामा इजरेली युद्ध पूरा नभएको" बताए।

कडा निगरानी

सिन्वार मारिएको क्षेत्र पुगेका आईडीएफ कमान्डरहरू
तस्बिरको क्याप्शन, सिन्वार मारिएको क्षेत्र पुगेका आईडीएफ कमान्डरहरू

योजनाबद्ध रूपमा निशानामा पारेर गरिएको कारबाहीमा सिन्वार मारिएको नभए पनि आईडीएफले कैयौँ सातादेखि गुप्तचरी सूचनाका आधारमा उक्त क्षेत्रमा उनी रहेको भन्दै कारबाही चलाएको थियो।

इजरेली फौजले दक्षिणी सहर रफाहमा सिन्वार भएको अस्पष्ट आकलन गर्दै बिस्तारै उनलाई खोज्न काम जारी राखेका थिए।

सिन्वार एक वर्षदेखि लुकिरहेका थिए। मोहम्मद डेफ र इस्माइल हानियासहितका हमास नेताहरू मारिएपछि उनले स्वाभाविक रूपमा दबाव खेपिरहेका थिए।

उनले अक्टोबर ७ को हमला कार्यान्वयन गर्ने क्रममा प्रयोग गरेको पूर्वाधार समेत इजरेलले ध्वस्त पारिदिएको थियो।

आफ्नो एक विज्ञप्तिमा आईडीएफले दक्षिणमा पछिल्ला सातामा गरिएका कारबाही आफ्ना "फौजले खोज्दै याह्या सिन्वारलाई कारबाही सञ्चालन गर्ने गरी हिँड्डुल गर्न रोक्दै उनलाई मार्न सकेको" जनाएको छ।

मुख्य लक्ष्य, तर अन्त्य होइन

इजरेली सेनाले सार्वजनिक गरेको भिडिओमा देखाइएका व्यक्ति सिन्वार रहेको बताइएको छ
तस्बिरको क्याप्शन, इजरेली सेनाले सार्वजनिक गरेको भिडिओमा देखाइएका व्यक्ति सिन्वार रहेको बताइएको छ

अक्टोबर ७ को हमलापछि सिन्वारको हत्या इजरेलको एउटा मुख्य लक्ष्य थियो।

तर उनको मृत्युसँगै गाजा युद्ध अन्त्य हुँदैन।

नेतन्याहूले अक्षम्य अपराधका लागि दण्ड दिएको बताए पनि हमासले बन्धक बनाएका १०१ जना मानिसहरूलाई नछुटाएसम्म युद्ध जारी रहने जनाएका छन्।

गाजा

"प्रिय बन्धकका परिवारहरू, म भन्छु: यस युद्धमा यो एउटा महत्त्वपूर्ण क्षण हो। तपाईँहरूका प्रियजन, हाम्रा प्रियजन घर नफर्केसम्म हामी पूरा बलसाथ लागिरहने छौँ," नेतन्याहूले भने।

इजरेललमा बन्धकहरूका परिवारले अब युद्ध विराममा पुग्न सकिने र त्यसले बन्धकहरूलाई घर फर्काउने आशा राखेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।