विश्वभरबाट कोभिड खोप फिर्ता लिने आस्ट्राजेनेकाको निर्णय

आस्ट्राजेनेका भ्याक्सिन
तस्बिरको क्याप्शन, आस्ट्राजेनेका खोप लगभग दस महिनाको अवधिमा विकास गरिएको थियो
    • Author, जेम्स गालागर
    • Role, स्वास्थ्य तथा विज्ञान संवाददाता
  • Published

तीन अर्बभन्दा धेरै 'डोज'को खपतपछि औषधी उत्पादक कम्पनी अक्सफोर्ड आस्ट्राजेनेकाले बजारबाट कोभिड खोप फिर्ता लिन लागिएको बताएको छ।

आफ्नो उत्पादनमा "असाध्यै गर्व" गर्ने बताउँदै उक्त कम्पनीले खोप फिर्ता लिने कार्यलाई व्यावसायिक निर्णय भनेको छ।

कोरोनाभाइरसको नयाँ–नयाँ 'भेरिअन्ट' देखिन थालेसँगै माग पनि नयाँ तथा अद्यावधिक खोपतर्फ सरेको आस्ट्राजेनेकाको भनाइ छ।

आस्ट्राजेनेका खोपले महामारीका क्रममा लाखौँ मनिसहरूको ज्यान बचाएको अनुमान गरिन्छ, तर सँगसँगै यसले रगतसम्बन्धी केही दुर्लभ तथा घातक समस्या पनि निम्त्याएको बताइन्छ।

लकडाउनको समयमा विश्वलाई महामारीबाट त्राण दिने क्रममा अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले छोटो समयमा उक्त खोपको विकास गरेका थिए। सामान्यत: दस वर्ष लाग्न सक्ने उक्त प्रक्रियालाई झन्डै दस महिनामै सम्पन्न गरिएको थियो।

रगत जम्ने समस्या देखिएपछि प्रतिष्ठामा धक्का

अन्य कोभिड खोपको तुलनामा धेरै सस्तो र भण्डारण गर्न पनि सहज भएका कारण सन् २०२० मा "संसारकै लागि आस्ट्राजेनेका" भन्ने घोषणा भएको थियो। विशाल औषधि कम्पनी आस्ट्राजेनेका त्यसपछि ठूलो परिमाणमा खोप उत्पादन गर्न सहमत भएको थियो।

यो खोपका केही सुरुआती मात्राहरू गरिब देशहरूलाई लागत खर्चमै बेचिएको थियो।

आस्ट्राजेनेका यूकेमा लगाइएको पहिलो कोभिड खोप हो। खोप कार्यक्रममार्फत् लकडाउनबाट बाहिर निस्कने ब्रिटेनको प्रारम्भिक योजनाको आधार यही खोप थियो।

ब्रिस्टल विश्वविद्यालयका प्राध्यापक एडम फिनले भने, "यसले धेरै अन्तर पैदा गर्‍यो, वास्तविकता यही हो। यसले हामीलाई त्यो सङ्कटबाट बाहिर निस्काल्यो। यसमा फाइजर कम्पनीका खोपहरूले पनि भूमिका खेले।"

यद्यपि यसको दुर्लभ दुष्प्रभावका रुपमा केही रगत जम्ने समस्याका घटनाहरू बाहिर आएपछि आस्ट्राजेनेकाको प्रतिष्ठामा धक्का लाग्नुका साथै ब्रिटेन पनि अन्य विकल्पतर्फ मोडियो।

आस्ट्राजेनेकामाथि थरिथरीका मुद्दा

आस्ट्राजेनेका
तस्बिरको क्याप्शन, आस्ट्राजेनेका कोभिड खोप उत्पादन गर्ने सुरुवाती कम्पनीहरूमध्ये एक हो

यो औषधी उत्पादकले अहिले आफ्नो कोभिड खोपबारे कैयौँ मुद्दा खेपिरहेको छ। आस्ट्राजेनेकामाथि मुद्दा दायर गरेका कतिपय व्यक्तिहरूले आफ्ना आफन्त गुमाउनुपरेको बताएका छन् भने अरू केहीले खोपले गम्भीर चोट पुर्‍याएको दाबी गरेका छन्।

एउटा वक्तव्यमा आस्ट्राजेनेकाले भनेको छ, "केही आँकडाहरूका अनुसार खोप उत्पादनको पहिलो वर्षमै हामीले ६५ लाखभन्दा धेरै मानिसको ज्यान बचाएका थियौँ।"

"हाम्रो कार्यलाई विभिन्न देशका सरकारहरूले मान्यता दिएका छन् र हामीलाई महामारीलाई समाप्त गर्ने कार्यको महत्वपूर्ण घटकका रूपमा लिइन्छ।"

कोभिडको नयाँ भेरिअन्ट लक्षित नयाँ–नयाँ खोपको विकास र पर्याप्त उपलब्धताका कारण आस्ट्राजेनेका खोपको मागमा कमी आएका कारण यसको उत्पादन र वितरण रोकिएको उक्त कम्पनीले बताएको छ।

प्राध्यापक फिनले भने, "मेरो विचारमा खोप फिर्ता लिने आस्ट्राजेनेकाको निर्णयले अब त्यो उपयोगी छैन भन्ने दर्साउँछ।"

"छिटोछिटो रूप परिवर्तन गर्ने र प्रारम्भिक खोपभन्दा भिन्न तरिकाले विकास हुने यस भाइरसको चरित्रका कारण पुरानो खोप असान्दर्भिक भएको छ र अब नयाँ अद्यावधिक खोपहरू मात्रै प्रयोगमा आउने सम्भावना छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।