लसुनको विश्वयात्रा : दासहरूको खानेकुरा र प्राचीन औषधिदेखि आधुनिक परिकारसम्म

बाँसबाट बनाइएको गोलो टोपी पहिरेकी एक चिनियाँ महिलाको हातमा लसुन
तस्बिरको क्याप्शन, चीन लसुनको विश्वकै सबभन्दा विशाल उत्पादक हो
    • Author, द फूड चेन प्रोग्र्याम
    • Role, बीबीसी विश्व सेवा
  • Published
  • पढ्ने समय: ५ मिनेट

कडा गन्ध मात्र नभई औषधीय गुणका कारण पनि मानिसहरूले हजारौँ वर्षदेखि लसुनलाई मन पराएका छन्। कीटाणुहरू मार्न सक्ने क्षमता भएकाले युगौँदेखि लसुन भान्छा तथा परम्परागत औषद्यालय दुवैमा पाइन्छ।

आरम्भमा मध्यएशियामा पाइएको लसुन मानिसहरूसँगै युरोप र अमेरिका पुग्यो। अहिले चीन लसुनको विश्वकै सबभन्दा विशाल उत्पादक हो।

बीबीसी विश्व सेवाको 'फूड चेन प्रोग्र्याम'ले लसुनको इतिहास, अनि सांस्कृतिक महत्त्व केलाएको छ र सोधेको छ : के लसुनले हामीलाई साँच्चिकै फाइदा गर्छ?

भान्छामा अपरिहार्य

काँचो लसुन र कुखुराको मासुको छेउमा चक्कु
तस्बिरको क्याप्शन, अहिले विभिन्न देश तथा विभिन्न संस्कृतिका मानिसहरूले लसुन उपभोग गर्छन्

असङ्ख्य किसिमका भोजनका निम्ति लसुन अपरिहार्य छ। डेनिश शेफ पोल एरिक जेन्सनको उत्तरपश्चिमी फ्रान्सस्थित पाककला सिकाउने फ्रेन्च डाइनिङ स्कूलमा संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, यूके तथा एशियाका विद्यार्थीहरू पढ्न आउँछन्। हालसम्म उनले लसुन नचिन्ने कुनै विद्यार्थी नभेटेको सुनाए।

खानाको स्वादलाई लसुनले नाटकीय ढङ्गले उठाइदिने उनी ठान्छन्। लसुनबिना फ्रेन्च परिकार कस्तो होला भनेर उनी कल्पना गर्छन्।

"उनीहरूले [फ्रान्सका मानिसहरूले] लसुनबिना कुनै स्वादिलो खानेकुराको कल्पना गर्न सक्लान् जस्तो मलाई लाग्दैन," उनले भने। "सूपदेखि तरकारी वा मासुका परिकार जेमा पनि कतै न कतै लसुनको एक पोटी मिसाइएकै हुन्छ। लसुनबिनाको परिकार कल्पना गर्न सकिन्न।"

तर डेन्मार्कको ग्रामीण भेगमा सन् १९७० को दशकमा हुर्कँदा उनले लसुन चिनेका थिएनन्।

कडा गन्धका कारण लसुन कुख्यात भएको उनी सम्झन्छन्। तर टर्कीबाट मानिसहरू डेन्मार्क आउन थाले अनि ती आप्रवासीले बनाएको खानेकुरामा लसुन हुन थाल्यो। जेन्सनलाई लसुनको बानी इटालियन पिज्जाले पनि बसाल्यो। अचेल उनी जाडोमा लसुन स्वास्थ्यका लागि गुणकारी पाउँछन्।

"मेरा साझेदार र म बिहानै एक-एक कचौरा सूप पिउँछौँ जसमा सिङ्गो एक पोटी लसुन हाल्छौँ," उनी भन्छन्। "हामीलाई कडा रुघा वा फ्लू लागेको छैन। लसुनकै कारण त्यसो भएको भन्नेमा म निश्चिन्त छु।"

लामो यात्रा

कालो पन्जा लगाएका एक पुरुषको हातमा लसुन
तस्बिरको क्याप्शन, बीसौँ शताब्दीमा आप्रवासीहरूले नयाँ ठाउँहरूमा लसुन पुर्‍याए

लसुनको सांस्कृतिक र आध्यात्मिक महत्त्व हजारौँ वर्षदेखि अनवरत छ। प्राचीनकालमा ग्रीकहरू 'हेकेट' नामक 'बोक्सीविद्या'की देवी तथा घरपरिवारकी संरक्षिकालाई अर्पण गर्दै चौबाटोमा लसुन राखिदिन्थे। इजिप्टमा प्रख्यात राजा टूटन्कामनको समाधिस्थलमा पनि लसुन भेटिएको थियो। त्यसले उनलाई "मृत्युपछिको जीवनमा" सहयोग गर्ने विश्वास गरिएको थियो। चिनियाँ र फिलिपिनोका कथाहरूमा पनि मानिसहरूले भ्याम्पायर वा पिशाचसँग लड्न लसुनको प्रयोग गर्ने गरेको उल्लेख छ।

"संसारको सबभन्दा पुरानो परिकारमा मेसोपोटामियाको स्टू वा सूप पर्छ जुन ३,५०० वर्ष पुरानो पाकविधि हो। त्यसमा लसुनका दुइटा पोटी हुन्छन्," 'गार्लिक: एन इडिबल बायोग्राफी' पुस्तकका लेखक रबिन चेरीले भनिन्।

"साथै यसको औषधीय गुणबारे सबभन्दा प्राचीन सन्दर्भ पनि ३,५०० वर्षै पुरानो छ। उक्त सन्दर्भ 'एबर्स प्यापिरस'मा परजीवी नियन्त्रणदेखि लिएर मुटु वा श्वासप्रश्वासका रोग निको पार्न लसुनको प्रयोग गर्ने विधि उल्लेख छ," उनले भनिन्।

प्राचीन ग्रीक चिकित्सक तथा दार्शनिक हिप्पोक्रेटसले लसुनलाई विविध उपचारमा प्रयोग गर्ने गरेको चेरीले बताइन्। साथै अरस्तु तथा एरिस्टोफेन्सजस्ता विख्यात दार्शनिक तथा लेखकहरूले पनि लसुनको औषधीय गुणबारे उल्लेख गरेका छन्।

दासदासीको खानाबाट शाही परिकारसम्म

टेबलमा राखिएको पिज्जा
तस्बिरको क्याप्शन, पिज्जासहित कैयौँ लोकप्रिय परिकारमा लसुन अपरिहार्य छ

प्राचीन मेसोपोटामिया, इजिप्ट, ग्रीस, रोम, चीन र भारतमा लसुन निकै रुचाइन्थ्यो। रोमन सैनिकहरू लसुन खाँदा साहस र बल बढ्ने ठान्थे। लसुनलाई तिनको सैन्य अभियानसँगसँगै युरोपभरि फैलाए।

खाना र औषधि दुवैका रूपमा प्रयोग भए पनि कुनै समय लसुनलाई खानाको रूपमा केवल "तल्लो जाति"ले मात्र प्रयोग गर्थे। "त्यो केवल गरिब मानिसको खाना थियो," रबिन चेरीले भनिन्।

"इजिप्टमा पिरामिड निर्माणमा संलग्न दासदासी हुन् वा रोमन नाविकहरू, तिनलाई लसुनले बल प्रदान गर्थ्यो। यो सस्तो थियो अनि खानाका बेस्वादलाई यसले छोपिदिन्थ्यो। त्यसलै यसलाई गरिबहरूले मात्र खाने चिजका रूपमा हेरिन्थ्यो।"

चौथौँ देखि १६औँ शताब्दीमा जब युरोपेली इतिहासमा शास्त्रीय ज्ञान अनि कला तथा विज्ञानको विस्तारसहित रनसाँ वा पुनर्जागरणको काल भित्रियो त्यही बेलादेखि लसुनको प्रतिष्ठा पनि फेरियो।

"फ्रान्सका हेन्री चौथौँलाई लसुनले 'बाप्टाइज' गरियो। उनी धेरै लसुन खान्थे जसले त्यसलाई प्रख्यात पनि बनायो," चेरीले भनिन्। उनका अनुसार १९औँ शताब्दीमा इङ्ग्ल्यान्डमा भिक्टोरियन युगमा लसुनको ख्याति बढ्यो।

अमेरिकामा चाहिँ लसुन निकै पछि सन् १९५० र १९६० को दशकमा आप्रवासीहरूले भित्र्याए। त्यसपछि लसुनसँग जोडिएको नकारात्मक दृष्टिकोण उल्टियो।

"वास्तवमा लसुनलाई यहुदी, इटालियन तथा कोरियनहरूसँग जोडेर निकै अपमानजनक रूपमा लिइन्थ्यो। तिनलाई लसुन खानेहरू भनेर एक किसिमले होच्याइन्थ्यो," रबिन चेरीले बताइन्।

औषधिका रूपमा लसुन

यूकेको एक पसलको र्‍याकमा पहेँलो सिसीमा लसुनको तेल अनि हरियो सिसीमा लसुनको क्याप्सुल
तस्बिरको क्याप्शन, औषधीय गुणका लागि लसुनको माग हुने गर्छ

हाल विश्वभरि ६०० थरी लसुन पाइन्छ।

मध्यएशियाको उज्बेकिस्तान र ककेशियाको जोर्जामा पाइने लसुन हालै मात्र संसारभरि उपलब्ध हुन थालेका छन्।

आधुनिक परिकारहरूमा उसको विशिष्ट भूमिकाका अतिरिक्त लसुनलाई रुघा वा चिसोका अन्य लक्षणहरू उपचार गर्न प्रयोग गरिन्छ। यसले रक्तचाप, कलेस्टरोल तथा क्यान्सरमा पार्ने प्रभावको अध्ययन गर्न क्लिनिकल परीक्षणहरू भएका छन्। तर तिनको परिणाम मिश्रित पाइएको छ।

इरानमा गरिएको एउटा सानो अध्ययनले लसुन र कागतीको रसले कलेस्टरोल तथा रक्तचापलाई छ हप्तामा घटाइदिएको देखायो। तर अमेरिकाको स्ट्यान्फर्ड विश्वविद्यालयले २०० जना स्वस्थ्य व्यक्तिहरूमाझ छ महिना लगाएर गरेको विस्तृत अध्ययनमा कलेस्टरोल घटाउनमा यसको उल्लेखनीय प्रभाव पाइएन।

लसुन
तस्बिरको क्याप्शन, खाली पेटमा लसुन खाँदा पेटमा अप्ठेरो, अपान वायु एवं पेटमा हुने सूक्ष्मजीवहरूको विविधतामा परिवर्तन हुन सक्छ

सन् २०१४ मा अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयले गरेको एक अध्ययनले लसुनमा एन्टिमाइक्रोबिअल (कीटाणुनाशक), एन्टिभाइरल (भाइरसनाशक) तथा एन्टिफङ्गल (ढुसीनाशक) गुण भएको निश्चित गर्‍यो।

"लसुनमा उल्लेखनीय स्तरमा पोटासिअम, फोस्फरस, जिङ्क, सल्फर अनि केही मात्रामा म्याग्नेसिअम, म्याङ्गनीज र फलाम तत्त्व पाइन्छ। यो एक किसिमले गजबको तरकारी हो," ब्रिटिश डाइटिक असोसिएशनका प्रवक्ता तथा बालबालिकाको पोषणसम्बन्धी विज्ञ बाही भ्यान डि बोरले भनिन्।

"यसमा सल्फर वा गन्धक मिसिएको 'एलिसिन' भन्ने यौगिक पाइन्छ। यसमा टन्न प्रिबायोटिक फाइबर हुन्छ जुन हाम्रो आन्द्राका निम्ति उपयोगी हुन्छ। यसमा कीटाणुनाशक केही गुण पनि हुन्छ," उनले भनिन्। आन्द्रामा उपयोगी ब्याक्टेरियालाई फैलन दिन अनि कब्जियत तथा पेट फुल्ने समस्यामा सघाउ पुर्‍याउन लसुनमा रहेको फाइबरले मद्दत गर्ने उनले बताइन्।

वयस्क व्यक्तिका लागि हरेक दिन एक वा दुई पोटी काँचो लसुन खानु सुरक्षित मानिन्छ। तर अमेरिकन फ्यामिली फिजिशन नामक क्लिनिकल जर्नलमा प्रकाशित एक शोधपत्रका अनुसार खास गरी खाली पेटमा धेरै लसुन खायो भने पेट तथा आन्द्रामा समस्या हुने, अपान वायु उत्पन्न हुने तथा आन्द्रामा हुने ब्याक्टेरियाको विविधतामा प्रभाव पर्ने उल्लेख छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।