हसिनाको बहिर्गमनसँगै बाङ्ग्लादेशमा राजनीतिक अन्योल, बेगम खालेदा जिया रिहा

बेगम खालेदा जिया (फाइल तस्बिर)
तस्बिरको क्याप्शन, बेगम खालेदा जिया (फाइल तस्बिर)
Published
पढ्ने समय: ५ मिनेट

बाङ्ग्लादेशमा दुई दशकभन्दा लामो समयदेखिको राजनीतिक प्रभाव अन्त्य गर्दै प्रधानमन्त्री शेख हसिनाले  राजीनामा दिएपछि राजनीतिले नयाँ मोड लिएको छ।

छयत्तर वर्षीया शेख हसिना देश छोडेर भारत पुगेकी छन् भने जेलमा रहेकी पूर्वप्रधामन्त्री बेगम खालेदा जिया मुक्त भएकी छन्।

सोमवार सेनाप्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन गरिने बताएका थिए।

बाङ्ग्लादेशमा प्रधानमन्त्री हसिनाको सत्ता ढाल्ने आन्दोलनको झिल्को कसरी सल्कियो?

राष्ट्रपति मोहम्मद शाहबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालेदा जियालाई रिहा गर्ने आदेश दिएपछि उनी मङ्गलवार अपराह्ण जेलमुक्त भइन्।

राष्ट्रपतिले कोटा प्रणाली र सरकारको विरोधमा यसअघि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीहरूलाई समेत रिहा गर्न निर्देशन दिएका छन्।

शाहबुद्दिनले आफूले सेनाप्रमुख र राजनीतिक दलका प्रतिनिधिहरूसँग बैठक गरेको जानकारी दिएका छन्।

बाङ्ग्लादेशका राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने, नयाँ निर्वाचन घोषणा हुने र देशभरि लगाइएको कर्फ्यू अन्त्य हुने बताए। तर सरकार कसको नेतृत्वमा बन्छ भन्ने स्पष्ट हुन बाँकी छ।

बाङ्ग्लादेशका प्रदर्शनकारीहरू
तस्बिरको क्याप्शन, पदत्याग गरेर शेख हसिना विदेश पलायन भएपछि प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका थिए

राजनीतिक शून्यता

बाङ्ग्लादेशका प्रदर्शनकारीहरू
तस्बिरको क्याप्शन, प्रदर्शनकारीहरूले शेख हसिनाको सत्तावसानपछि हर्षोल्लास गरेका थिए

हसिनाको बहिर्गमनसँगै बाङ्ग्लादेशको राजनीतिमा अन्योल उत्पन्न भएको छ।

यसअघि हसिनाको अवामी लीग र विपक्षी बाङ्ग्लादेश न्याश्नल पार्टीबीच प्रतिस्पर्धाको राजनीति रहेको यो देशमा एकाएक शून्यताको अवस्था सिर्जना भएको हो।

बाङ्ग्लादेशमा कैयौँ पटक सैन्य कू भएको थियो। सबैभन्दा पछिल्लो पटक सन् २००७ मा त्यहाँ सेनाले सत्ता आफ्नो हातमा लिएको थियो।

शेख हसिनाका बुवा शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्यको सन् १९७५ मा सैन्य कूका बेला हत्या भएको थियो।

पछिल्लो राजनीतिक उथलपुथलमा सेनाले देखाएको धैर्यको अमेरिकाले प्रशंसा गर्दै अन्तरिम सरकारको गठनमा जोड दिएको छ।

युरोपेली सङ्घले पनि प्रजातान्त्रिक प्रणालीबाट निर्वाचित सरकारलाई “शान्तिपूर्ण सत्ता हस्तान्तरण” गर्न आग्रह गरेको छ।

यो क्षेत्रकै शक्तिको रूपमा रहेको छिमेकी देश भारतले भने पछिल्लो घटनाक्रमबारे कुनै प्रतिक्रिया जनाएको छैन।

ढाकामा प्रदर्शनकारीहरूले शेख हसिनाको सत्तावसानपछि हर्षोल्लास गरेका थिए

हर्षोल्लास र हिंसा

सेन्टर फर पोलिसी डाइअलगका वरिष्ठ अर्थशास्त्री देवप्रिय भट्टाचार्यले प्रधानमन्त्री हसिनाको राजीनामाले सडकमा हर्षोल्लास छाएको बताए।

उनका अनुसार हसिनाको राजीनामासँगै बाङ्ग्लादेशमा अल्पसङ्ख्यक हिन्दूमाथि आक्रमण बढेको छ र नयाँ प्रशासनका लागि चुनौती बढेको छ।

पदत्याग गर्दै हसिना विदेश पलायन भएको समाचारसँगै उत्साहित प्रदर्शनकारीहरूको भिड सोमवार प्रधानमन्त्री निवासमा प्रवेश गर्‍यो। केही व्यक्तिले त्यहाँ लुटपाट गरेको देखिने तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन्।

प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका केही प्रदर्शनकारीले त्यहाँबाट आफूसँगै बहुमूल्य सामान लिएर गए
तस्बिरको क्याप्शन, प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका केही प्रदर्शनकारीले त्यहाँबाट आफूसँगै बहुमूल्य सामान लिएर गए

केही प्रदर्शनकारीहरू प्रधानमन्त्रीको निवासबाट फर्निचर र अन्य सामान बोकेर बाहिर निस्किएका थिए।

प्रदर्शनकारीहरूले शेख हसिनाका पिता तथा स्वतन्त्र बाङ्ग्लादेशका संस्थापक शेख मुजिबुर रहमानको सालिकमा पनि तोडफोडको प्रयास गरेका थिए।

सोमवार अनियन्त्रित भिडले सरकारी कार्यालयहरू, प्रहरी चौकी र अन्य स्थानमा आक्रमण गर्नुका साथै आगजनी समेत गरेको थियो।

हसिनाको पार्टी अबामी लीगका एक नेताको स्वामित्वमा रहेको एउटा होटलमा सोमवार प्रदर्शनकारीहरूले लगाइदिएको आगोमा परी २४ जनाको मृत्यु भएको विवरण सञ्चारमाध्यमहरूले मङ्गलवार सार्वजनिक गरेका छन्।

बाङ्ग्लादेशी डेली स्टारका अनुसार जबीर इन्टरन्याश्नल होटलमा लगाइएको आगो निभाउन १२ घण्टाभन्दा बढी समय लागेको थियो। प्रदर्शनकारीहरूले अग्निनियन्त्रकहरूलाई अवरोध गरेकाले आगो निभाउन बढी समय लागेको बताइएको छ।

केही प्रदर्शनकारीहरूले बाङ्ग्लादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको समेत सालिक तोडफोड गरे
तस्बिरको क्याप्शन, केही प्रदर्शनकारीहरूले बाङ्ग्लादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको समेत सालिक तोडफोड गरे
बाङ्ग्लादेशमा प्रदर्शनकारीहरू हर्षोल्लास गर्दै

सोमवार सहरभरि सेना र प्रहरी परिचालन भएका थिए। मोबाइल फोन र इन्टरनेट समेत कैयौँ घण्टासम्म अवरुद्ध भएका थिए।

सोमवारको हिंसामा पनि दर्जनौँ मानिसहरू मारिएको विवरण आए पनि हताहत हुनेको सङ्ख्या यकिन हुन बाँकी छ।

समाचारसंस्था एएफपीले कम्तीमा ६६ जना मारिएको जनाएको छ भने स्थानीय ढाका ट्रिब्यूनले १३५ जनासम्म मारिएको उल्लेख गरेको छ।

बाङ्ग्लादेशमा हिंसा सुरु भएपछि सोमवारसम्म ३०० जनाभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ।

हसिनाको परिवार राजनीतिमा 'नफर्किने'

शेख हसिना आफ्ना छोरा र छोरीसँग
तस्बिरको क्याप्शन, शेख हसिना आफ्ना छोरा र छोरीसँग

हसिनाका सहयोगीहरूका अनुसार उनी अब देशको राजनीतिमा नफर्किने निष्कर्षमा पुगेकी छन्। सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिना २० वर्ष देशको प्रधानमन्त्री बनेकी थिइन्।

यसपालि पदत्याग गर्न बाध्य हुँदा उनी निरन्तर १५ वर्ष देखि प्रधानमन्त्री थिइन्।

हसिनाका छोरा सजीब अहमद वाजेद जोयले परिवारको आग्रहमा हसिनाले आफ्नो सुरक्षाका लागि देश छोडेको बताएका छन्।

हसिनाले राजीनामा नदिउन्जेलसम्म जोय प्रधानमन्त्रीका सल्लाहकार पनि थिए। अहिले उनी अमेरिकामा छन्।

उनले आफ्नी आमा अब राजनीतिमा नफर्किने सङ्केत बीबीसीको न्यूजआवरसँग गरे। उनका अनुसार "आफूले कडा परिश्रम गरेको भए पनि अल्पमत उनीविरुद्ध उठेको" देखेर हसिना दुःखित भएकी थिइन्।

“मलाई लाग्छ, अब सकियो। मेरो परिवार र हामीले धेरै खेप्यौँ।”

उनले हसिनाको कार्यकालको प्रतिरक्षा गर्दै भने, "उहाँले बाङ्ग्लादेशको कायापलट गर्नुभयो। उहाँ सत्तामा आउँदा बाङ्ग्लादेशलाई विफल राज्य मानिन्थ्यो। यो गरिब देश थियो। आजसम्म यसलाई एशियाको उदीयमान बाघमध्ये एक मानिन्थ्यो। उहाँ निकै दुःखित हुनुहुन्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।