इजरेल अधीनस्थ वेस्ट ब्याङ्कको एउटा गाउँका प्यालेस्टिनी परिवारलाई 'घर छाड्न आदेश'

इजरेली सेना र सर्वसाधारण

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, इजरेली सेनाले उक्त कारबाहीको उद्देश्य त्यहाँका बासिन्दाहरूको सुरक्षा गर्नु रहेको बताएको छ
Published
पढ्ने समय: ३ मिनेट

अधीनस्थ वेस्ट ब्याङ्कको एउटा गाउँमा बस्ती बसाउन पुगेका इजरेलीहरूलाई हटाउन गरिएको एउटा सैन्य अभियानका क्रममा इजरेलले त्यहाँ बसोबास गर्ने झन्डै एक दर्जन परिवारलाई पनि घर छोड्न आदेश दिएको खुलेको छ।

इजरेली बस्ती बसाउनेहरूले उक्त स्थानमा तीनवटा घरका मानिसहरूलाई आइतवारदेखि घेराबन्दी गर्नुका साथै विद्युत् र पानीको आपूर्ति बन्द गरिदिएका थिए।

आफ्नो गाउँलाई निषेधित सैन्य क्षेत्र घोषणा गरिएको अनि खाली गराइएका केही घरलाई इजरेली सेनाले ब्यारेकका रूपमा प्रयोग गरेको कुस्राका मेयर अब्देल अजिम वादीले बीबीसीलाई बताए। इजरेली सेनाले त्यहाँका "बासिन्दाहरूको सुरक्षाका निम्ति" त्यसो गरिएको जनाएको छ।

उक्त गाउँमा रहेका थप ११ वटा घरका मानिसलाई पनि सेनाले घर छाड्न आदेश दिएको बताइएको छ।

सार्वजनिक भएका भिडिओहरूमा सो गाउँमा इजरेली सुरक्षा बलका करिब एक दर्जन सवारीसाधन देखिएका छन् र त्यसमा एउटा बुल्डोजर पनि छ। एउटा भिडिओमा प्यालेस्टिनी गाउँतर्फ जाने सडकमा इजरेली सुरक्षा बलका जवानहरूको लामो लस्कर देखिन्छ।

इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) ले "दुइटा अवैध चौकी हटाएको" जनाएको छ।

त्यस्तै कुस्रा र जलुद क्षेत्रको बाहिरी क्षेत्रबाट एक इजरेलीलाई नियन्त्रणमा लिइनुका साथै केही उपकरणहरू जफत गरेको पनि आईडीएफले जनाएको छ।

गाउँलेहरू के भन्छन्

अधीनस्थ वेस्ट ब्याङ्कको एउटा गाउँ

तस्बिर स्रोत, Reuters

घर छाड्न भनिएका व्यक्तिमध्येका क्वहर ओदेहले बिहीवार बिहान २० भन्दा बढी सैनिक आफ्नो घरमा प्रवेश गरेको बताए।

"म र भाइ सुतिरहेका थियौँ। उनीहरू आए र 'ढोका खोल!' भन्दै चिच्याए अनि ढोका फोडे। आँखैअघि त्यसो भए पनि के भएको हो अझै बुझ्न सकिरहेको छैन।"

"धेरै मानिसलाई तिनका घरबाट जबर्जस्ती निकालिँदै थियो," ओदेहले भने।

करिब १० घण्टापछि केही परिवारलाई घर फर्कन अनुमति दिइयो। घर छिर्दा उनीहरूले सामानहरू अस्तव्यस्त पाए।

सैनिकहरूले फ्रिजमा रहेको सबै खाना बाहिर फालिदिएका र १,५०० अमेरिकी डलर नगद समेत चोरेका एक व्यक्तिले बताए।

इजरेली सेना के भन्छ

बीबीसीको प्रश्नमा आईडीएफले यी आरोपहरूबारे प्रतिक्रिया दिएन।

"कुस्राका बासिन्दाहरू आफ्ना घरमै रहून् भनेर सैनिकहरूलाई निर्देशन दिइएको थियो," आईडीएफले भनेको छ।

"सम्पर्क अधिकारीहरू कुस्राको स्थानीय नेतृत्वसँग निरन्तर सम्पर्कमा छन् र त्यस क्षेत्रका बासिन्दाहरूको दैनिक जीवनमा अवरोध नहोस् भनेर काम गरिरहेका छन्," उसले भनेको छ।

घेराबन्दीमा परेका प्यालेस्टिनी परिवारहरूले पानी र बिजुली काटिएपछि आइतवार सामाजिक सञ्जालमार्फत् सहयोगको अपील गरेका थिए।

झडप पनि भयो

त्यसपछि इजरेली सुरक्षा बल त्यहाँ पुग्यो तर बस्ती बसाउने इजरेलीहरूलाई हटाउने क्रममा बुधवार उनीहरूको ठूलो समूहसँग झडप हुन पुग्यो।

बीबीसीले प्राप्त गरेको भिडिओमा सेना र सीमा प्रहरी तथा ठूलो सङ्ख्यामा रहेका बस्ती बसाउनेहरूबीच झडप भएको देखिन्छ। त्यस क्रममा सुरक्षा बलले अश्रुग्यास र 'स्टन ग्रेनेड' प्रयोग गरेको थियो।

कुस्रामा रहेका बस्ती बसाउने इजरेलीहरू वास्तवमा के चाहन्छन् भन्ने स्पष्ट छैन। विगतमा पनि उनीहरूले प्यालेस्टिनीहरूलाई उनीहरूका घरबाट बलपूर्वक निकालेर उनीहरूको सम्पत्ति कब्जा गरेका छन्।

उनीहरूको घोषित उद्देश्य चाहिँ उक्त क्षेत्रबाट प्यालेस्टिनी बासिन्दाहरूलाई हटाउनु हो।

अन्तर्राष्ट्रिय कानुनअनुसार उनीहरूले बसालेका बस्तीहरू अवैध मानिन्छन् तर इजरेलले तिनको पछिल्ला तीव्र विस्तारलाई प्रोत्साहित गरेको देखिन्छ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले यो वर्ष वेस्ट ब्याङ्कमा इजरेली सेना वा बस्ती बसाउने इजरेलीहरूबाट ७६ जना प्यालेस्टिनीहरू मारिएको देखाउँछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।