अमेरिका भन्छ- इरान रुसको प्रमुख 'सैन्य सहयोगी'

युक्रेन
तस्बिरको क्याप्शन, इरानले रुसलाई ड्रोन उपलब्ध गराएको युक्रेनको आरोप सुरुमा तेहरानले अस्वीकार गरेको थियो
Published

रुस र इरानबीचको सम्बन्धमा न्यानोपन देखिएको र त्यो पूर्णस्तरको रक्षा साझेदारीमा बदलिएको संयुक्त राज्य अमेरिकाले बताएको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीका अनुसार रुसले अभूतपूर्व तहको सैन्य सहयोग तेहरानलाई दिइरहेको छ।

उनले दुई देशले घातक ड्रोनहरूको संयुक्त उत्पादन गर्ने विषयमा विचार गरिरहेको विवरण अमेरिकाको जानकारीमा रहेको बताए।

अस्ट्रेलियाले युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई ड्रोनहरू आपूर्ति गरेकोमा तीन इरानी नागरिक र एउटा इरानी व्यवसायलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ।  

अमेरिकी अधिकारीले के भने

पछिल्लो समयमा रुस र इरानबीच सहकार्य बढ्दै गएको छ र युक्रेनले रुसले आफूमाथि आक्रमण गर्न इरानी ड्रोनहरूको प्रयोग गरिरहेको आरोप लगाएको छ।

प्रारम्भिक रूपमा रुसलाई ड्रोन उपलब्ध गराएको अस्वीकार गरेको उक्त मध्यपूर्वी देशले पछि युक्रेनमाथि आक्रमण हुनुअघि केही मात्रामा आपूर्ति गरेको उल्लेख गरेको थियो।

कर्बी ले ड्रोनहरूको उत्पादनमा इरान र रुसको साझेदारी युक्रेन, इरानका छिमेकी र अन्तर्राष्ट्रिय समुदायका लागि घातक हुने टिप्पणी गरे।

“रुसले इरानसँग अस्त्रको विकास र तालिमका क्षेत्रमा सहकार्य गर्न खोज्दैछ,” भन्दै उनले रुसले इरानलाई अत्याधुनिक सैन्य सामाग्री जस्तै हेलिकोप्टर र हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउने आशङ्का अमेरिकाको रहेको बताए।

उनले थपे, “इरान रुसको प्रमुख सैन्य समर्थक बनेको छ… रुसले इरानी ड्रोनहरूको प्रयोग गरेर ऊर्जा केन्द्रहरूमा हमला गरेको छ र दशौँ लाख युक्रेनीहरूलाई ऊर्जा र अन्य संवेदनशील सेवाहरूबाट वञ्चित गरिरहेको छ। इरानको कदमका कारण अहिले युक्रेनमा मानिसहरूले ज्यान गुमाइरहनु परेको छ।”

इरान र रुसका नेताहरू

यूके र अस्ट्रेलियाको धारणा के छ

कर्बीको प्रतिक्रियामा धारणा राख्दै यूकेका विदेशमन्त्री जेम्स क्लिभर्लीले इरान रुसको प्रमुख सैन्य समर्थक बनिसकेको र ती दुई बीचको सम्बन्ध विश्व सुरक्षाका लागि खतरा भएको बताए।

‘कुत्सित सम्झौता’ अन्तर्गत रुसले सयौँ ड्रोनहरू रुसमा पठाएको उनले बताए।

उनले रुसले इरानी सत्तालाई उपलब्ध गराउने सैन्य र प्राविधिक सहयोगले मध्यपूर्वका आफ्ना साझेदार र अन्तर्राष्ट्रिय सुरक्षामा जोखिम थप्ने टिप्पणी गरे।

बलिस्टिक क्षेप्यास्त्रसहित थप अस्त्रहरू प्राप्त गर्ने प्रयास गरिरहेको  रुसले आगामी दिनमा इरानलाई दिने सैन्य सहयोग थप बढ्ने अमेरिकी धारणामा आफ्नो मुलुक सहमत रहेको पनि यूकेका विदेशमन्त्रीले उल्लेख गरे।

युक्रेनले इरानले रुसलाई ‘कामिकाजे’ ड्रोन उपलब्ध गराएको आरोप लगाएको छ।

अक्टोबर १७ मा कम्तीमा ८ जनाको ज्यान जाने गरि भएको हमलामा उक्त ड्रोन प्रयोग भएको उसको भनाइ छ।

युक्रेन

सुरुमा यसलाई अस्वीकार गरेको भए पनि पछि इरानले ‘सीमित सङ्ख्यामा’ युक्रेन युद्धको कैयौँ महिनाअघि ड्रोनहरू पठाएको बताएको थियो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यो झूटो भएको र युक्रेनले प्रत्येक दिन करिब १० वटा इरानी ड्रोनहरू खसालिरहेको धारणा राखेका थिए।

शनिवार अस्ट्रेलियाकी विदेशमन्त्री पेन्नी वाङले एउटा विज्ञप्तिमा ‘ड्रोनहरूको आपूर्ति इरानले विश्व सुरक्षा अस्थिर बनाउन भूमिका खेलिरहेको प्रमाण भएको’ बताइन्।

उनले तीन इरानी व्यक्ति र एउटा व्यवसायमा लगाइएको प्रतिबन्ध रुसलाई भौतिक समर्थन जनाउनेले त्यसको परिणाम बेहोर्नुपर्ने सन्देश भएको बताइन्।