बस दुर्घटना: दुई दिनमा सडक दुर्घटनामा लुम्बिनी प्रदेशमा २० जनाको निधन

सडक दुर्घटना
तस्बिरको क्याप्शन, क्षमताभन्दा धेरै यात्रु, तीव्र गति, खराब सडक अवस्था तथा यान्त्रिक कारणले दुर्घटना हुने गरेका छन् (फाइल फोटो)
Published

कपिलवस्तुको शिवराज नगरपालिकाको सुरईमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

महेन्द्रनगरबाट काठमाण्डूतर्फ जाँदै गरेको उक्त बस गएराति करिब दुई बजेतिर दुर्घटनाग्रस्त भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनीका प्रवक्ता प्रहरी नायव उपरिक्षक होमबहादुर थापाले बताए।

दुर्घटनास्थलमा बाटोको अवस्था खराब नरहेकाले दुर्घटनाको कारण तीव्र गति वा यान्त्रिक गडबडी हुन प्रारम्भिक अनुमान गरिएको छ।

घाइते पनि धेरै

उक्त दुर्घटनामा परेर ३० जना घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेहरूको स्थानीय अस्पताल र बुटवलका अस्पतालमा उपचार भइरहेको छ।

बस सडकबाट एक्कासी तल खसेको यात्रीहरूले बताएको प्रवक्ता थापाले भनेका छन्।

उनले भने, “दुर्घटनाको कारण अझै पत्ता लाग्न सकेको छैन। बसका चालक पनि घाइते भएकोले सोधपुछ गरिएको छैन।”

दुर्घटनास्थलमा बाटोको अवस्था ठिकै रहेकाले दुर्घटनाको कारण तीव्र गति वा यान्त्रिक गडबडी हुन सक्ने उनले बताए।

ट्राफिक प्रहरी
तस्बिरको क्याप्शन, सडक दुर्घटनाका कारण नेपालमा बर्सेनि सयौँको ज्यान जाने गरेको छ

लगातार दुर्घटना

यसअघि मङ्गलवार साँझ पनि पाल्पाको मस्याममा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो।

१३ जना मात्र चढ्न मिल्ने उक्त जीपमा २६ जना चढेको पाइएको बताइएको छ।

पाल्पाको दुर्घटनाको कारण क्षमताभन्दा अधिक भार र कच्ची बाटो रहेको भन्दै प्रवक्ता थापाले ओभरलोडका कारण उकालोमा जीपले तान्न नसकेको देखिएको बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।