इरानले इजरेलमा 'चाँडै' आक्रमण गर्न सक्ने बाइडनको दाबी

जो बाइडन
Published

अमेरिकी राष्ट्रपति जो बाइडनले इरानले "चाँडै नै" इजरेलमा हमला गर्न सक्ने आफूले ठानेको बताएका छन्।

एप्रिल महिनाको सुरुमै भएको एक हवाई हमलामा इरानका शीर्ष कमान्डरहरू मारिएपछि तेहरानले बदला लिने त्रास बढिरहँदा बाइडनले त्यसो भनेका हुन्।

इजरेलले सिरियास्थित अमेरिकी नियोगमा हमला गरेको स्वीकारेको छैन। तर त्यो हमला उसकै योजनामा भएको ठानिएको छ।

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई अमेरिकी अधिकारीहरूले बताएअनुसार इजरेलमाथि एउटा मुख्य हमला तत्कालै हुन सक्छ।

इजरेलले आफू प्रतिरक्षाका लागि तयार रहेको जनाएको छ भने बाइडनले हमला "नगर्न" इरानलाई चेतावनी दिएका छन्।

"हामी इजरेलको रक्षाका लागि प्रतिबद्ध छौँ। हामीले इजरेललाई साथ दिनेछौँ," बाइडनले भने।

"हामी इजरेललाई प्रतिरक्षामा सहयोग गर्नेछौँ र इरान सफल हुने छैन।"

इरानले के गरिरहेको छ?

 इरानको सुरक्षा संस्थापनले कस्तो जबाफ दिने भनेर बहस गरिरहेको छ

इरानको साथ रहेको प्यालेस्टिनी समूह हमास इजरेलसँग गाजामा लडिरहेको छ।

त्यसका साथै तेहरानको साथ उक्त क्षेत्रभरि कैयौँ छद्म समूहहरूलाई छ। तिनैमा लेबननको हिज्बुल्लाह समेत पर्छ जसले बारम्बार इजरेलीविरुद्ध हमला गर्छ।

हिज्बुल्लाहले शुक्रवार लेबननबाट इजरेलतर्फ "दर्जनौँ" क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ।

इजरेल डिफेन्स फोर्सेस (आइडिएफ)का एकजना प्रवक्ताका अनुसार झण्डै ४० वटा क्षेप्यास्त्र र दुईवटा विस्फोटक ड्रोन प्रहार भएका थिए।

त्यसमा हताहत भएका विवरण आएका छैन् र इरानको संलग्नताको छनक देखिएको छैन।

एकजना अमेरिकी अधिकारीले सीबीएसलाई बताए अनुसार ती प्रहारहरू इजरेलमा अपेक्षित इरानी हमला बाहेकका हुन्।

बीबीसीका सुरक्षा संवाददाता फ्र्यान्क गार्डनरले इरानले नियतवश मध्यपूर्व र वासिङ्टनलाई अनुमान गर्नमा अल्झाइरहेको बताएका छन्।

एप्रिल १ मा दमास्कसस्थित इरानी कूटनीतिक नियोगमा भएको घातक हमलायता इरानले आफ्ना अस्त्रहरू गोप्य रूपमा सिरिया र लेबननमा रहेका आफ्ना प्रोक्सीहरूतर्फ पठाइरहेको इजरेलले ठानेको छ।

यसबीचमै इरानको सुरक्षा संस्थापनले कस्तो जबाफ दिने भनेर बहस गरिरहेका छन्।

इरानमा चलिरहेको बहस

त्यो मूल्याङ्कनको विषय समेत बनेको छ।

कडा हमला गर्दा इजरेलले जबाफ स्वरूप भयानक बल प्रयोग गर्नेछ भने हलुका हमला गर्दा इरान कमजोर र फितलो देखिने जोखिम रहन्छ।

रणनीतिक दृष्टिकोणबाट इरानले यतिखेर हमला गर्नु अर्थपूर्ण देखिँदैन।

यतिखेर त्यस क्षेत्र पूरा सजग भएर बसेको छ र अमेरिकाले पूरा विश्वलाई सम्भावित परिस्थितिबारे बताइरहेको छ।

एप्रिल १ मा इजरेली युद्ध विमानहरूमाथि दमास्कसस्थित इरानी नियोगमा बम खसालेको आरोप लागेको छ।
तस्बिरको क्याप्शन, एप्रिल १ मा इजरेलमाथि दमास्कसस्थित इरानी नियोगमा बम खसालेको आरोप लागेको छ

तेहरान र कोमका कतिपय यथार्थवादीहरूले धैर्यताका लागि आह्वान गरेका छन्।

जबकि सर्वोच्च नेता आयातोल्लाह खामेनेईसहित अतिवादी पक्षले कडा जबाफ दिनुपर्ने भनिरहेका छन्।

तर न इरान न त खाडीमा अरबतर्फका उसका छिमेकीले पूर्ण आकारको युद्ध चाहेका छन्।

त्यस क्षेत्रका सरकारहरूले तेहरानलाई धैर्य रहन आग्रह गरिरहेका छन्।

त्यसैले बीबीसी संवाददाताका भनाइमा अहिलेको प्रश्न भनेको सैन्य बल प्रयोग गर्न चाहने र नचाहने पक्षमा को हावी हुन्छ भन्ने रहेको छ।

अन्तर्राष्ट्रिय सतर्कता

विदेश मन्त्रालयले इजरेलमा रहेका आफ्ना कूटनीतिक कर्मचारीहरूलाई तीनवटा सहरभन्दा बाहिर नजान भनेको छ
तस्बिरको क्याप्शन, अमेरिकाले इजरेलमा रहेका आफ्ना कूटनीतिकज्ञहरूलाई त्यहाँका तीन सहरभन्दा बाहिर जान रोकेको छ

तनाव बढिरहँदा अमेरिका, यूके, भारत र अस्ट्रेलिया सहितका देशले इजरेल यात्रा नगर्न चेतावनी दिएका छन्।

जर्मनीले आफ्ना नागरिकलाई इरान छाड्न भनेको छ।

अमेरिकी विदेश मन्त्रालयले इजरेलमा रहेका आफ्ना कूटनीतिक कर्मचारीहरूलाई तेल अभिभ, जेरुसेलम र बिअसिबा सहरबाहिर यात्रा गर्न रोकेको छ।

यसैबीच इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले 'वार क्याबिनेट'का सदस्यहरूलाई भेटेका छन्।

इजरेलमा के भनिएको छ?

हिज्बुल्लाहले शुक्रवार लेबननबाट इजरेलतर्फ प्रहार गरेका "दर्जनौँ" क्षेप्यास्त्रलाई आइरन डोम प्रणालीले निस्तेज पारेको थियो
तस्बिरको क्याप्शन, हिज्बुल्लाहले शुक्रवार लेबननबाट इजरेलतर्फ प्रहार गरेका "दर्जनौँ" क्षेप्यास्त्रलाई आइरन डोम प्रणालीले निस्तेज पारेको थियो

केही इजरेलीहरूले आफूहरू सम्भावित इरानी हमलाबाट चिन्तित नभएको बताएका छन्।

"हामीलाई थाहा छ किन हामी शत्रुहरूबाट घेरिएका छौँ, दक्षिणमा, उत्तरमा, पूर्वमा र पश्चिममा," जेरुसेलमको एक बजारमा डानिएल कोस्मानले समाचार संस्था एएफपीसँग भने।

"म तपाईँलाई कसम खाएर भन्न सक्छु कि हामी आत्तिएका छैनौँ। आसपास हेर्नुस् त: मानिसहरू बाहिर गइरहेका छन्।"

इजरेली सरकारले भने कुनै नयाँ सूचना जारी गरेको छैन। पुरानै नियम अनुसार मानिसहरूलाई तीन दिनलाई पुग्ने पानी, खानेकुरा र अत्यावश्यक औषधी राख्न भन्ने गरिएको छ।

यद्यपि इजरेली रेडियोमा स्थानीय अधिकारीहरूलाई सम्भावित हमलाका लागि तयार रहन भनिएको जनाइएको छ।

गतसाता नै इजरेलले 'रिजर्भिस्ट' भनिने जगेडा सैनिकहरूलाई आफ्नो वायु रक्षा एकाइलाई थप प्रभावकारी बनाउन भन्दै बोलाएर बिदा स्वीकृत नगर्ने घोषणा गरेको छ।

एप्रिल १ को घटना के हो?

सिरियामा मारिएका इरानी सैन्य कमाण्डर र सल्लाहकारहरूको शव यात्रामा तेहरानमा हजारौँ मानिसहरू सहभागी भएका थिए
तस्बिरको क्याप्शन, सिरियामा मारिएका इरानी सैन्य कमाण्डर र सल्लाहकारहरूको शव यात्रामा तेहरानमा मानिसहरूको ठूलो भीड जुटेको थियो

एप्रिल १ मा इजरेली युद्ध विमानहरूमाथि दमास्कसस्थित इरानी नियोगमा बम खसालेको आरोप लागेको छ।

त्यसबारे इजरेली सेनाले प्रतिक्रिया दिन अस्वीकार गरे पनि उसैले हमला गरेको व्यापक रूपमा विश्वास गरिएको छ।

आक्रमणमा एक जना इरानी सैन्य कमान्डर सहित ७ जना इरानी सैन्य सल्लाहकारहरू मारिएको इरानको रिभोल्युशनरी गार्डस्‌ले जनाएको थियो।

मारिनेमा विदेशी गुप्तचर समेत हेर्ने विशेष अर्ध सैनिक बल कुड्स फोर्सका एक जना वरिष्ठ कमान्डर मोहम्मद रेजा जाहेदी पनि छन्।

उक्त घटनामा कुल १३ जना मारिएका थिए।

इरानले ‘निर्णायक प्रतिक्रिया जनाउने’ अधिकार आफूमा रहेको बताएको छ।

कैयौँ देशका अधिकारीहरूले इरानलाई युद्ध सुरु गर्न रोक्ने प्रयास गरिरहेका छन्। उनीहरूले त्यसो हुँदा क्षेत्रिय रूपमै व्यापक युद्ध सुरु हुने चिन्ता व्यक्त गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।