कमला ह्यारिस र डोनल्ड ट्रम्पको यसअघि नदेखिएको भिन्न जीवन

Published
पढ्ने समय: ५ मिनेट

चुनावी प्रचारका क्रममा अमेरिकी मतदाताले कमला ह्यारिस र डोनल्ड ट्रम्प दुवै उम्मेदवारहरूका विभिन्न प्रकारका तस्बिरहरू देख्न पाउँछन्।

मञ्चबाट सम्बोधन गर्दै गरेका, मानिसहरूको भीडप्रति सम्मान प्रकट गरिएकादेखि विमानका भर्‍याङबाट ओर्लँदै गरेका अनेकन् तस्बिर देखिन्छन्।

तर यहाँ तिनीहरू को हुन् र ती कहाँबाट आए भन्ने गरी तपाईँले दुवै उम्मेदवारका भिन्न-भिन्न तस्बिरहरू देख्नुहुनेछ।

माथि दिइएको तस्बिर कमला ह्यारिस र डोनल्ड ट्रम्पको बाल्यकालको हो। त्यस बेला दुवै जना तीन वर्षका थिए र उनीहरूलाई ह्वाइट हाउस के हो भनेर पनि थाहा थिएन।

डेमोक्र्याटिक पार्टीको राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले आफ्नो प्रारम्भिक वर्ष क्यालिफोर्नियाको ओकल्याण्डमा बिताइन्।

जबकि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प न्यूयोर्कको क्वीन्स नगरमा हुर्केका थिए।

ह्यारिस र उनकी बहिनी मायालाई उनकी भारतीय आमा श्यामला गोपालन ह्यारिसले हुर्काएकी थिइन्। उनी क्यान्सर अनुसन्धानकर्ता र सामाजिक कार्यकर्ता थिइन्।

ट्रम्पका बुबा फ्रेड ट्रम्प जर्मन आप्रवासीका छोरा थिए र उनकी आमा मेरी एनी म्याक्लियोड ट्रम्प स्कटल्याण्डमा जन्मेकी थिइन्।

उनीहरूले १३ वर्षको उमेरमा ट्रम्पलाई न्यूयोर्क मिलिटरी एकेडेमीमा भर्ना गरेका थिए ।

कमला ह्यारिस र डोनल्ड ट्रम्प

ह्यारिसले आफ्नो पाँच वर्ष क्यानडाको मोन्ट्रियलमा हाई स्कुलमा बिताइन्।

उनकी आमाले म्याक्गिल विश्वविद्यालयमा पढाउन थालिन्। त्यसपछि कमला ह्यारिस अमेरिकाको होवार्ड विश्वविद्यालयमा भर्ना भइन्।

सन् १९५९ मा एकेडेमीमा भर्ना भएर बिताएका पाँच वर्षले आफूलाई सैन्य प्रशिक्षणसँगै नेतृत्व क्षमतामा सुधार्न मद्दत गरेको ट्रम्पले बताउँछन्।

उनी आफ्नो शैक्षिक कारण र हड्डीको चोटका कारण भियतनाम युद्धमा भाग लिन पाएनन्।

सानैदेखि ह्यारिसलाई उनकी आमाले नागरिक अधिकार आन्दोलनको महत्त्वबारे सिकाएकी थिइन्।

सन् २००४ मा उनले वाशिङ्गटनमा आयोजित वार्षिक मार्टिन लुथर किङ्ग जुनियर स्वतन्त्रता मार्चमा भाग लिइन्।

ट्रम्प भने पेन्सिल्भेनिआ विश्वविद्यालयको व्हार्टन स्कूलबाट डिग्री हासिल गरेपछि पारिवारिक व्यवसायको जिम्मा लिन आफ्नो बुबाको रोजाइमा परे।

कमला ह्यारिस र डोनल्ड ट्रम्प

ह्यारिस क्यालिफोर्निया फर्किइन् जहाँ उनी छिट्टै नै राज्यको आपराधिक न्याय प्रणालीको शीर्ष तहमा पुग्दै महान्यायाधिवक्ताको रूपमा काम गरिन्।

यसपछि उनले सन् २०१६ मा अमेरिकी सिनेटको चुनावमा प्रतिस्पर्धा गर्दै विजयी भइन्।

उनी कङ्ग्रेसमा प्रवेश गरिरहेकै बेला ट्रम्प पहिलो पटक ह्वाइट हाउसमा प्रवेश गरिरहेका थिए। ट्रम्पले हिलारी क्लिन्टनलाई हराएर विश्वलाई चकित पारेका थिए।

तीन वर्षपछि ह्यारिसले ढिलो राष्ट्रपतिको अभियान चलाइन्। तर डेमोक्र्याटिक उम्मेदवारका रूपमा चुनिएका जो बाइडनले उनलाई उपराष्ट्रपति बनाउने गरी आफ्नो चुनावी अभियानका सहयात्री बनाए।

दुवैले चुनावमा ट्रम्प र माइक पेन्सलाई हराए।

कमला ह्यारिस र डोनल्ड ट्रम्प

ट्रम्पले राष्ट्रपति पदबाट राजीनामा दिएपछि र बाइडन-ह्यारिसले आफ्नो कार्यकाल सुरु गरेसँगै अमेरिकाले धेरै घटनाक्रम देख्यो।

ती कोभिड लकडाउन, मास्क जनादेश र मिनिआपुलिसमा प्रहरीद्वारा जोर्ज फ्लोइड मारिएपछि सामाजिक अशान्तिको अवस्था लगायतका थिए।

कमला ह्यारिस र डोनल्ड ट्रम्प

ह्यारिसले उपराष्ट्रपतिको रूपमा आफ्नो पहिचान स्थापित गर्न धेरै कठिनाइहरूको सामना गर्नुपर्‍यो।

तर सन् २०२२मा अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको संवैधानिक अधिकारलाई खारेज गरेसँगै उनले आफ्नो मुद्दा स्थापित गरिन्।

राष्ट्रपति बाइडन ‘प्रो-च्वाइस’ आन्दोलनकी उनलाई ह्वाइट हाउसको अभियानमा समेट्न पाउँदा खुसी थिए।

ट्रम्पले सर्वोच्च अदालतलाई थप रूढिवादी बनाएका थिए। त्यसैले गर्भपतन सम्बन्धी आदेशको बाटो खोलिदिएको थियो।

ट्रम्पले आफ्नो कार्यकालमा अमेरिकालाई प्यारिस जलवायु सम्झौताबाट बाहिर निकाले र आप्रवासन कम गर्न कदम चालेका थिए।

कमला ह्यारिस र डोनल्ड ट्रम्प

ह्यारिसले सन् २०२१ मा उपराष्ट्रपतिको रूपमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय यात्रा ग्वाटेमालाबाट गरिन्। त्यहाँ उनलाई मेक्सिको-अमेरिका सीमामा पुग्ने ल्याटिन अमेरिकी आप्रवासीको सङ्ख्या घटाउने जिम्मेवारी दिइएको थियो।

ह्यारिसको कार्यकालमा युक्रेन र गाजामा भएका युद्धसहित विदेश नीतिका धेरै मुद्दाहरू हाबी भएका थिए। त्यसबाहेक अफगानिस्तानबाट अमेरिकी सेनाको पीडादायी फिर्ता भएको थियो।

ट्रम्पले राष्ट्रपतिको रूपमा आफ्नो पहिलो विदेश यात्रा सन् २०१७ मा साउदी अरब पुगेर गरे।

उनी धेरै एक्लिएर कार्यान्वयन गर्ने खालका नीतिको वकालत गर्छन्। जस्तो, देशलाई विदेशी द्वन्द्वबाट अलग राख्ने र अमेरिकी उद्योगलाई बढवा दिने।

अमेरिकी चुनावमा कमला ह्यारिस र डोनल्ड ट्रम्प

ह्यारिसको विवाह डग एमअफसँग भयो। जो नियमित रूपमा उनको चुनावी अभियानमा सामेल छन्। उनी एमअफका पहिलो विवाहतर्फका सन्तान कल र एलाकी सौतेनी आमा हुन्।

ट्रम्पका परिवारका सदस्यहरू पनि उनको राजनीतिक यात्रामा संलग्न छन्। तर उनकी श्रीमती मेलानिआ ट्रम्प सन् २०२४ को चुनावी अभियानमा कमै संलग्न देखिन्छिन्।

ट्रम्पकी आफ्नी पहिलो श्रीमती इभानासँगका तीन सन्तान – डोनल्ड जुनियर, इभान्का र एरिक छन्।

उनकी दोस्रो श्रीमती मार्ला म्यापल्सले छोरी टिफनीलाई जन्म दिएकी छन्।

सन् २००५ मा उनले आफ्नो तेस्रो पत्नीका रूपमा मेलानियासँग विवाह गरे जोसँग उनका एक छोरा ब्यारोन छन्।

ह्यारिस जो बाइडेनभन्दा पछि सन् २०२४ मा राष्ट्रपतिको दौडमा प्रवेश गरेकी हुन्।

राष्ट्रपतिको उम्मेदवार बन्ने पहिलो अश्वेत र एशियाली-अमेरिकी महिला बनेर इतिहास रच्दै उनले सिकागो, इलिनोइसमा आयोजित डेमोक्र्याटिक राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेकी थिइन्।

कमला ह्यारिस र डोनल्ड ट्रम्प

अर्कोतर्फ डोनल्ड ट्रम्पले तेस्रो पटक आफ्नो पार्टीबाट राष्ट्रपतिको टिकट पाउन सफल भए।

उनले मिलवाउकी, विस्कन्सिनमा आयोजित रिपब्लिकन राष्ट्रिय सम्मेलनमा राष्ट्रपतिको उम्मेदवार बन्ने औपचारिक बैठकमा सम्बोधन गर्दा केही समयअघि हत्या प्रयासबाको घटनाका कारण कानमा पट्टी लगाएका थिए।

तस्बिरहरू सम्पादन: फिल कोमेस

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।