विदेशमा काम गर्ने नेपाली युवाको मृत्युको 'तेस्रो ठूलो कारण आत्महत्या', रोक्न भिडिओ कलबाट उपचार

डिप्रेशन र आत्महत्याको विचार देखाउने साङ्केतिक चित्र
    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

नेपालको अर्थतन्त्रमा विप्रेषण अर्थात् रेमिट्यान्सको ठूलो योगदान छ। तर विदेशमा कमाएर स्वदेशको अर्थतन्त्रलाई टेको लगाउन ठूलो भूमिका निर्वाह गर्ने युवाहरूमा आत्महत्याको दर उच्च देखिएकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

असार मसान्तमा सकिएको गत आर्थिक वर्षमा मात्रै १३ खर्ब रुपैयाँभन्दा धेरै विप्रेषण भित्रिएको सरकारी तथ्याङ्कले देखाउँछ। सोही अवधिमा वैदेशिक रोजगारीमा भएका १,३०० जनाको शव पनि भित्रियो।

अर्थात् आफ्नो र परिवारको सुन्दर भविष्यको सपना बुनेर वैदेशिक रोजगारीमा गएका युवाहरूमध्ये प्रत्येक दिन झन्डै चार जनाको मृत्यु उतै भयो। वैदेशिक रोजगार बोर्डका अनुसार गत आर्थिक वर्ष मात्रै १४७ नेपालीले विभिन्न श्रमगन्तव्य देशमा आत्महत्या गरेका थिए।

वैदेशिक रोजगारीमा गएका १,२७३ जनाको गत आर्थिक वर्ष विभिन्न कारणले मृत्यु भएको थियो।

तीमध्ये सबैभन्दा धेरै ३६४ जनाले विभिन्न रोगका कारण ज्यान गुमाए। बोर्डका अनुसार दोस्रो धेरै ज्यान गुमाउनेको सङ्ख्या "प्राकृतिक मृत्यु" छ। सो अवधिमा २८७ जनाको प्राकृतिक मृत्यु भएको बताइएको छ।

श्रमगन्तव्य देशहरूमा हरेक वर्षजसो नेपाली युवाहरूको मृत्युको तेस्रो प्रमुख कारण आत्महत्या रहेको बोर्डको तथ्याङ्कमा देखिन्छ।

बोर्डका अनुसार विगत चार वर्षमा ४६५ जना नेपाली युवायुवतीले श्रमगन्तव्य मुलुकमा आत्महत्या गरे।

वैदेशिक रोजगारीबाट आएको शव

वैदेशिक रोजगारीमा रहेका युवाहरूलाई मनोपरामर्श सेवा दिँदै आएका वीर अस्पतालका चिकित्सक डा सञ्जय धरेल खाडी राष्ट्रका कतार, यूएईका साथै मलेशियाबाट आफूहरूसँग "धेरैले टेलिमेडिसिनका लागि सम्पर्क गर्ने गरेको" बताउँछन्।

“चिन्ता हुने, डर लागेको जस्तो हुने, एकदमै निराश हुने वा एकान्त रुचाउने जस्तो लक्षण देखियो भने तुरुन्त हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ,” उनले भने। उनीहरूलाई ह्वाट्स्याप, भाइबर र इमोको माध्यमबाट अडिओ वा भिडिओ कलमार्फत् उपचार सेवा दिइने गरिएको धरेलले बताए।

विदेशमा किन नेपाली युवाहरू आत्महत्या गर्छन्?

मानसिक स्वास्थ्य देखाउने साङ्केतिक तस्बिर

श्रमविज्ञ केशव बस्याल वैदेशिक रोजगारीमा जानु अघिको अपेक्षा र त्यहाँ पुगिसकेपछिको अवस्थाका कारण पनि कतिपय युवाहरूमा निराशा र मानसिक समस्या देखिएर आत्महत्यासम्म पुग्ने गरेको बताउँछन्।

“कस्तो प्रक्रियाबाट र कस्तो सूचना लिएर जानुभएको छ भन्ने कुरा पनि यसमा जोडिन्छ। त्यहाँ पुगिसकेपछि डिप्रेशनको स्तर बढ्ने र आत्महत्यासम्म हुने गर्छ,” उनले भने।

“किनभने वैदेशिक रोजगारीमा पारिवारिक विषय र आर्थिक लगानीको विषय जोडिएको छ।”

यद्यपि वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी टीकाराम ढकालका अनुसार नेपाली युवाहरूले श्रमगन्तव्य देशमा आत्महत्या गर्नुका कारणबारे विभागले अध्ययन गरेको छैन।

“हामीले यसबारे छुट्टै अध्ययन नगरे पनि रोकथामका उपायहरू अवलम्बन गरिरहेका छौँ,” ढकालले बीबीसी न्यूज नेपालीसँग भने।

ठूलो खर्च गरेर श्रम गन्तव्य देशमा पुगिसकेपछि आफ्नो योग्यता र अपेक्षाभन्दा फरक काम गर्नुपर्दा पनि नेपाली श्रमिकहरूमा निराशा र मानसिक रोगको समस्या देखिने गरेको अध्ययनहरूले देखाएको बस्याल बताउँछन्।

वीर अस्पतालका चिकित्सक सञ्जय धरेलले विदेशमा काम गर्न गएका युवामा डिप्रेशन र अन्य मानसिक समस्या देखिनुमा प्रमुख तीन कारण पहिल्याएका छन्।

उनका अनुसार वैदेशिक रोजगारीमा गएका अधिकांश युवाहरू २० देखि ४० वर्ष उमेर समूहको हाराहारीमा छन्।

c07e3md4pk9o

“यो उमेर समूहमा अलिकति बढी महत्त्वाकाङ्क्षा हुन्छ। त्यहाँ गएपछि त्यो पूरा नहुनु एउटा कारण देखिन्छ,” धरेल भन्छन्।

“अर्को चाहिँ परिवारसँग छुट्टिएर बस्नुपर्ने अवस्था हो। या त उनीहरू वयस्क हुँदै गरेका वा भर्खरै परिवार र बालबच्चा भएका हुन्छन्। यो अवस्थामा छुट्टिएर बस्नुपर्ने अवस्थाले पनि उनीहरूमा थप समस्या ल्याउँछ।”

“तेस्रो कुरा चाहिँ उनीहरू यहाँ हुँदा पनि डिप्रेशन सुरु भएको, कतिपयले औषधिहरू नै खाइरहेको र त्यहाँ गएपछि यो समस्या बढेका कारण आत्महत्यासम्म पुगेको हाम्रो अनुभवबाट देखिन्छ।”

मृत्युका प्रमुख कारण देखाउने साङ्केतिक तस्बिर
तस्बिरको क्याप्शन, विदेशमा काम गर्न गएका नेपालीको मृत्यु विभिन्न कारणले हुने गरेको छ

आत्महत्या रोक्न के गर्नुपर्छ

श्रम कूटनीतिबारे समेत अध्ययन गरेका बस्याल कतिपय देशमा सामाजिक सुरक्षा र कामदारको शारीरिक तथा मानसिक स्वास्थ्यलाई ख्याल गरिने भए पनि नेपाली कामदारहरूका प्रमुख श्रमगन्तव्य रहेका खाडी राष्ट्र र मलेशियाजस्ता देशहरूमा कामदारको स्वास्थ्यलाई रोजगारदाताले ख्याल नगर्ने बताउँछन्।

“बोझको काम गर्नुपर्ने, लगातार लामो समयसम्म र एकदमै तातो ठाउँमा काम गर्नुपर्ने, बस्ने ठाउँमा पनि राम्रो सुविधा नहुने र रोजगारदाताले पनि त्यसको ख्याल नगर्ने जस्ता कारणहरू खाडी राष्ट्र र मलेशियामा देखिन्छन्,” उनी भन्छन्।

सरकारले युवाहरूलाई उनीहरू जान लागेको रोजगारीको प्रकृति, कस्तो काम गर्नुपर्छ कस्तो वातावरणमा काम गर्नुपर्छ जस्ता विषयमा बुझाउनुपर्ने श्रमविज्ञ बताउँछन्।

“जानुभन्दा अगाडि नै उनीहरूको मानसिक स्वास्थ्यको अवस्था जाँच गर्नुपर्‍यो। दोस्रो कुरा - पालिका, वडा र समुदाय तहसम्म नेपालबाट जाने कामदारहरूलाई श्रम गन्तव्यबारे सचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने देखिन्छ,” उनले भने।

कुन वर्ष वैदेशिक रोजगारीमा भएका कति नेपालीले आत्महत्या गरे

नेपालबाट जाने क्रममा पनि उनीहरूलाई पर्याप्त परामर्श दिनुपर्ने उनको भनाइ छ।

“यहीँबाट प्रशिक्षित गरेर लिएर जान सकियो भने मात्रै यस्ता घटनाहरू कम हुन्छन्,” उनले भने।

नेपाली पक्षले युवाहरूको श्रमगन्तव्य देशमा आत्महत्या रोक्न पर्याप्त पहल नगरेको बस्यालको भनाइ छ।

“यहाँबाट लगिसकेपछि यो रोजगारदाताकै जिम्मेवारीभित्र पर्ने कुरा हो। रोजगारदाताले त्यही किसिमको वातावरण, बस्ने ठाउँ र अरू सामाजिक सुरक्षा र पारिवारिक रूपमा जोडिने सुविधा दिनुपर्‍यो,” बस्याल भन्छन्।

टेलिमेडिसिनबाट परामर्श र उपचार

मनोपरामर्श सेवा उपलब्ध गराउँदै सञ्जय धरेल
तस्बिरको क्याप्शन, मनोपरामर्श सेवा उपलब्ध गराउँदै डा सञ्जय धरेल

वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी ढकालका अनुसार बोर्डले वीर अस्पतालसँगको सहकार्यमा डिप्रेशन र एन्जाइटीजस्ता समस्या भएका नेपाली युवाहरूलाई श्रमगन्तव्य देशमै टेलिमेडिसिन सेवा उपलब्ध गराउँदै आएको छ।

“आत्महत्या गर्ने दर धेरै देखिएपछि २०७८ सालबाट यो सेवा सुरु भएको हो। उहाँहरूले बोर्डले दिएको नम्बरमा सम्पर्क गरेर यो सुविधा नि:शुल्क उपयोग गर्न सक्नुहुन्छ,” ढकालले भने।

नेपाली श्रमिकहरूलाई टेलिमेडिसिन सेवा र परामर्श दिँदै आएका वीर अस्पतालका चिकित्सक सञ्जय धरेलले कतिपय नेपाली युवाहरूको अवस्था टेलिमेडिसिनबाटै सुधार हुँदै गएको अनुभव आफूहरूसँग रहेको बताउँछन्।

“उहाँहरूले एक पटक सम्पर्क गरेपछि हामीले दिएको 'फलो-अप'को समयमा सम्पर्कमा आउनुभएन भने यहाँबाटै सम्पर्कको प्रयास गरेर पनि यस्तो परामर्श र उपचार गराइरहेकाहरूको अवस्था बुझ्ने गर्छौँ,” उनले भने।

डिप्रेशन र मनोरोगका औषधिहरू 'प्रेस्क्रिप्शन' अर्थात् चिकित्सकको सिफारिसबिना नपाइने भएका कारण नेपालबाटै उनीहरूलाई त्यस्तो सिफारिस पठाउने गरिएको उनले जानकारी दिए।

“कतिपयले मलाई ठिक भयो भनेर धन्यवाद पनि दिनुभएको छ। त्यहाँको समस्यालाई निराकरण गर्ने प्रयास हामीले हेर्दा प्रभावकारी छ,” धरेलले भने।

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूले वीर अस्पतालबाट निःशुल्क मानोपरामर्श वा उपचारको सेवा लिन +9779851345701 वा +9779851345702 मा ह्वाट्स्याप, भाइबर र इमोमार्फत् सम्पर्क गर्न सक्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।