नेपालबाट पुरुषभन्दा महिला धेरै वैदेशिक रोजगारीमा गइरहेका गन्तव्यहरू

काठमाण्डू विमानस्थलमा विदेश जाने तरखरमा रहेका दुई युवतीहरू, एक जनाले रातो टीका र खादा लगाएर मोबाइल फोन चलाइरहेकी छिन् भने अर्कीले नेपालको झण्डा भिरेर कागजपत्र लिएकी छन्
    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ६ मिनेट

सरकारी तथ्याङ्कअनुसार गत वर्ष ९४ हजार महिलाहरू वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर १०० भन्दा बढी देश पुगेका छन्।

सात लाखभन्दा धेरै पुरुषहरू वैदेशिक रोजगारीका लागि सरकारी स्वीकृति लिएर जाँदा महिलाको सङ्ख्या एक लाखभन्दा कम भए पनि केही देशहरूमा भने पुरुषको दाँजोमा महिला बढी गएको देखिन्छ।

वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति नवीकरण र नयाँ श्रम स्वीकृति लिएर गत वर्ष विभिन्न १५१ वटा देशमा आठ लाख ३९ हजार नेपालीहरू गएका छन्। भारतमा काम गर्न श्रम स्वीकृति नचाहिने भएका कारण यसमा उक्त देश जानेहरूको तथ्याङ्क समावेश छैन।

भिजिट भिसाजस्ता माध्यमबाट विदेश पुगेर काम गर्नेहरूको सङ्ख्या यसमा गणना नहुने भएकाले काम गर्नका लागि विदेश जानेहरूको सङ्ख्या योभन्दा धेरै हुनसक्ने विज्ञहरू बताउँछन्।

वैदेशिक रोजगार विभागका अनुसार गएको कार्तिक महिनामा माल्दिभ्स, जोर्डन र साइप्रसमा वैदेशिक रोजगारीमा जाने पुरुषहरूको तुलनामा महिलाको सङ्ख्या बढी छ। गत आर्थिक वर्षभरिको तथ्याङ्कमा भने मालदिभ्समा जाने महिलाहरूको सङ्ख्याभन्दा पुरुषको सङ्ख्या धेरै देखिएको छ।

साउनबाट सुरु भएर असारमा अन्त्य हुने उक्त आर्थिक वर्षभरि वैदेशिक रोजगारीका लागि दिइएको श्रम स्वीकृति हेर्दा अर्को एउटा देशमा पनि महिलाहरू पुरुष भन्दा धेरै गएका छन्। त्यो देश हालै मात्र गाजा युद्धपछि शान्ति स्थापना भएको इजरेल हो।

गत वर्ष ४२३ जना महिला श्रम स्वीकृति लिएर इजरेल जाँदा ३६५ जना पुरुष मात्रै मध्यपूर्वको त्यो देश गएका छन्। विभागले पछिल्लो तथ्याङ्क अद्यावधिक गरेको कार्तिक महिनामा भने ३३ जना महिला इजरेल जाँदा ४३ जना पुरुष उक्त देश पुगेका छन्।

माल्दिभ्स र साइप्रसमा के काममा जान्छन् महिला

वैदेशिक रोजगारीमा जाँदै गरेकी महिला
तस्बिरको क्याप्शन, खाडी मुलुकमा वर्षौँदेखि रोकिएको नेपाली महिला घरेलु श्रमिक पठाउने प्रक्रिया यूएईबाट सुरु गरिने अधिकारीहरूले बताउँदै आएका छन्

बीबीसीले सरकारी अधिकारी, विज्ञ र अनुसन्धाताहरूसँग कुरा गरेर पुरुषभन्दा महिला धेरै गइरहेका देशहरूमा कस्तो कामका लागि नेपालीहरू गइरहेका छन् भनेर सोधेको छ।

वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीका अनुसार माल्दिभ्समा होटेल तथा मनोरञ्जन क्षेत्रमा काम गर्न जाने महिलाहरूको माग धेरै आउने गरेको छ।

"माल्दिभ्स नयाँ श्रम गन्तव्य पनि हो। यहाँ होटेल र रेस्टुराँ क्षेत्रमा महिलाहरू धेरै गएका देखिन्छन्," शिवाकोटी भन्छन्।

माल्दिभ्स सरकारले यसअघि नेपाल सरकारलाई नर्सहरू लैजान पनि आग्रह गरेको थियो।

नेपाली राहदानी देखाउँदै गरेकी महिला

श्रमविज्ञ मीना पौडेलका अनुसार माल्दिभ्स र साइप्रसमा महिलाहरू होटेल तथा रेस्टुराँजस्ता अतिथि सत्कारसम्बन्धी व्यवसायका क्षेत्रमा काम गर्न र घरेलु कामदारका रूपमा पनि जाने गरेका छन्।

"माल्दिभ्समा पर्यटन व्यवसाय धेरै बढिरहेको छ। त्यसमा हाउसकीपिङ, लन्ड्री सर्भिस, सरसफाइका कामका लागि नेपालबाट महिलाहरू धेरै गइरहेका छन्," श्रम तथा आप्रवासनबारे अध्ययन गरिरहेकी पौडेल भन्छिन्।

"साइप्रसमा चाहिँ सेवा क्षेत्रमा, त्यसमा पनि क्याफेहरूमा काम गर्न महिलाहरू गइरहेका छन्।"

सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटीका अनुसन्धानकर्ता अर्जुन खरेलका अनुसार साइप्रसमा घरेलु कामदारका रूपमा पनि नेपाली महिलाहरू उल्लेख्य सङ्ख्यामा जाने गरेका छन्।

उनका अनुसार केही नयाँ श्रम गन्तव्यमा अध्ययन भए पनि सबै देशहरूबारे अध्ययन हुन बाँकी छ।

"खास गरी युरोपमा खर्च गर्न सक्ने नेपालीहरू धेरै गएका छन्। उनीहरू युरोपकै अर्को स्थायी आवास अनुमति पाउन सहज देशमा जान सकिने सम्भावना हेरेर पनि गएका छन्। त्यसमा हाम्रो समाजमा पनि मध्यपूर्वका देशभन्दा युरोप जाने कुरालाई प्रतिष्ठाको रूपमा पनि हेर्ने प्रचलनको प्रभाव पनि छ," खरेल भन्छन्।

उनका अनुसार श्रम सम्झौता भएका कतिपय मध्यपूर्वका देशभन्दा कामका दृष्टिले युरोपका कतिपय देशमा बढी काम गर्नुपर्ने बाध्यता छ। तर युरोपेली देशहरूमा सामाजिक सुरक्षा र श्रम अधिकार राम्रो रहेका करण पनि नेपाली कामदारहरूले नयाँ गन्तव्यमा थप सञ्जाल बनाउँदै आएको जानकारहरू बताउँछन्।

श्रम विज्ञ पौडेल नेपालमा परम्परागत रूपमा महिलाहरूले गर्दै आएका घरायसी कामकाजका लागि विदेशमा पनि उनीहरूको माग धेरै आउने गरेको बताउँछिन्।

"लैङ्गिक आधारमा हेर्दा महिलाहरूले स्वदेशमा आफ्नो समाजमा वा आफ्नो घरमा जुन प्रकृतिको काम गर्छन्, त्यही प्रकृतिको कामको लागि नयाँ श्रम गन्तव्यहरूमा लगिएको भेटिन्छ," पौडेल भन्छिन्।

जोर्डन र इजरेलमा कस्तो काम

नेपालको राहदानी

नेपाली महिलाहरू पुरुषभन्दा धेरै गइरहेका जोर्डनमा भने महिलाहरू घरेलु कामदारका रूपमा धेरै पुग्ने गरेको र त्यहाँ पुगेका केही महिलाहरूलाई यौन व्यवसायमा पनि लगाइने गरिएको पाइएको पौडेल बताउँछिन्।

तर अनुसन्धानकर्ता खरेल जोर्डनमा तयारी कपडा उद्योगमा पनि नेपाली महिलाहरू गइरहेको बताउँछन्।

"जोर्डनको गार्मेन्ट क्षेत्रमा म आफैँ पनि गएर अध्ययन गरेको थिएँ। त्यहाँका गार्मेन्टमा काम गर्ने अधिकांश नेपाली, बाङ्ग्लादेशी र पूर्वी एशियाका लाओसका पनि छन्। अनि आवासमै बसेर काम गर्ने भएकाले त्यहाँ आप्रवासी कामदारलाई नै खोज्ने गरिएको छ," खरेलले भने।

कार्तिक महिनामा पाँच जना पुरुषहरू जोर्डन जाँदा १४२ जना महिला मध्यपूर्वको यो देश पुगेका छन्। गत वर्ष पनि जोर्डन पुगेका महिलाहरूको सङ्ख्या पुरुषको तुलनामा उच्च छ। गत वर्ष ११० जना पुरुष जाँदा १,६९८ जना महिला श्रम स्वीकृति लिएर जोर्डन गएको विभागको तथ्याङ्क छ।

"जोर्डन कुवेतजस्तै घरेलु कामदारका रूपमा महिलाहरू धेरै जाने देश हो। त्यहाँ घरभित्रको काम जे पनि लगाइन्छ। पछिल्लो अध्ययनले त्यहाँ परिवारले सञ्चालन गरेका यौन व्यवसायमा पनि महिलाहरूलाई लगाइने गरिएको देखाएको छ," पौडेल भन्छिन्।

गाजा द्वन्द्वका कारण पछिल्लो समय निकै कम सङ्ख्यामा मात्रै नेपालीहरू गएको इजरेलमा भने अधिकांश नेपालीहरू 'केभरगिभर'को काममा जाने गरेको विभागका प्रवक्ता शिवाकोटीले बताए।

"इजरेलमा त महिलाहरूलाई प्राथमिकता नै दिएर लैजाने गरिएको छ। यहाँ ६० प्रतिशत महिलाको माग आउँदा ४० प्रतिशत मात्रै पुरुषहरूको माग आउँछ," उनले भने।

द्विपक्षीय श्रम समझदारी रहेका कारण यो देशलाई राम्रो श्रम गन्तव्यका रूपमा लिइने गरिएको छ। तर द्वन्द्वका कारण गत वर्ष इजरेल जानका लागि छानिएका नेपाली कामदारमध्ये झन्डै ४० प्रतिशतले जाने "इच्छा नदेखाएको" अधिकारीहरूले बताएका थिए।

"इजरेल चाहिँ महिलाहरूका लागि परम्परागत श्रम गन्तव्य नै हो। यहाँ केअरहोममा केअरगिभरका रूपमा काम गर्न महिलाहरू जाने गरेकामा पछिल्लो समय कृषिमा जाने महिलाहरूको सङ्ख्या पनि केही छ," श्रमविज्ञ पौडेल भन्छिन्।

यूएई जाने महिला सबैभन्दा धेरै

घरेलु कामदारका रूपमा यूएई गएका नेपाली महिलाको प्रतीकात्मक तस्बिर
तस्बिरको क्याप्शन, घरेलु कामदारका रूपमा यूएई गएका नेपाली महिलामाथि हिंसा र शोषण भएको भन्दै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो

सरकारले घरेलु कामदारका रूपमा कामदार जान रोक लगाए पनि मध्यपूर्वका देशहरूमा जाने महिलाहरूको सङ्ख्या उल्लेख्य छ। गत वर्ष पौने तीन लाख नेपाली कामदारहरू यूएई पुग्दा श्रम स्वीकृति लिएर जाने महिलाहरूको सङ्ख्या ३२ हजार छ। अहिले यूएईमा सेवा क्षेत्रमा पनि नेपाली महिलाको माग आउने गरेको अधिकारीहरू बताउँछन्।

यूएईपछि सबैभन्दा धेरै महिला श्रमिक गएको देश कुवेत हो। यो देशमा १२ हजार महिला पुगेका छन्। महिला श्रमिक गएको तेस्रो ठूलो देश कतार हो। यो देशमा गत वर्ष १० हजार महिला पुगेका छन्।

जापान, दक्षिण कोरिया, क्रोएशिया र रुमेनियाजस्ता देशहरूमा पनि वार्षिक तीन हजारभन्दा ठूलो सङ्ख्यामा महिला श्रमिकहरू पुगिरहेका छन्।

यूएईले नेपालबाट घरेलु कामदार लैजानका लागि श्रम सम्झौता अघि बढाउने प्रस्ताव गरेको विवरण आएको छन्। तर श्रमविज्ञ पौडेल तत्काल त्यो सम्भावना आफूले नदेखेको बताउँछिन्।

"यूएईमा अहिले नै औपचारिक रूपमा हाम्रा महिला श्रमिकहरू घरेलु कामदारका रूपमा जाने सम्भावना म देख्दिनँ," पौडेल भन्छिन्।

"यूएईले घरेलु श्रमिक पठाउन भन्दै छ। तर हाम्रो ऐनमा उल्लिखित कुराहरू सम्बोधन भएका छैनन्। हाम्रो संसदीय समितिले लगाएको रोक खोल्नका लागि पनि संसद् चाहिन्छ। त्यसले गर्दा धेरै जटिलता छ।"

उनका अनुसार पछिल्लो समय आबुधाबीपछि दुबईमा पनि नेपाली महावाणिज्य दूतावास स्थापना भएका कारण नेपाली कामदारहरूको हकअधिकार सुनिश्चित गर्ने वातावरण चाहिँ विगतभन्दा सुधार भएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।