अलि लारिजानीको मृत्युले इरानको नेतृत्वमा गहिरिँदै सङ्कट

इरानी सुरक्षा प्रमुख अलि लारिजानी
    • Author, अमीर अजीमी
    • Role, बीबीसी पर्सिअन
  • Published
  • पढ्ने समय: ४ मिनेट

इरानले देशको सुरक्षा प्रमुख अलि लारिजानी इजरेलको आक्रमणमा मारिएको पुष्टि गर्दै त्यसको "निर्णायक" प्रतिवाद गरिने चेतावनी दिएको छ।

लाजिरानी इरानमाथि अमेरिका र इजरेलको आक्रमण सुरु भएयता मारिएका इरानका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनेई पछि दोस्रो शीर्ष अधिकारी हुन्।

इजरेली सञ्चारमाध्यमका अनुसार आफ्ना छोरासँगै लुकेर बसेका बेला उनीमाथि आक्रमण भएको थियो।

लारिजानी सन् २०२५ अगस्टदेखि इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्‌का प्रभावशाली सचिव थिए।

उक्त परिषद्‌मा उनलाई हालै मारिएका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनेईको प्रतिनिधिका रूपमा चित्रण गरिन्थ्यो।

इजरेली हवाई आक्रमणमा लारिजानी मारिएपछि इस्लामिक गणतन्त्रलाई एउटा संवेदनशील घडीमा देशका सबैभन्दा अनुभवी र प्रभावशाली नीति निर्माताहरूको अभाव हुने छ।

लारिजानी सैन्य कमान्डर नभए पनि इरानको रणनीतिक निर्णय प्रक्रियामा उनी केन्द्रीय भूमिकामा थिए।

सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवको भूमिकामा उनी युद्ध, कूटनीति र राष्ट्रिय सुरक्षाका निर्णय प्रक्रियाको केन्द्रमा थिए।

अमेरिका र इजरेलसँग इरानको टकराब व्यवस्थापनमा उनको भनाइ इरानको सबै प्रणालीमा लागु हुन्थ्यो।

फेब्रुअरी २८ मा सर्वोच्च नेता अली खामेनेई मारिएपछि लारिजानीले इरान लामो सङ्घर्षका लागि तयार रहेको सङ्केत गरेका थिए।

पश्चिमाविरुद्ध कट्टर अडान लिए पनि इरानभित्र भने लारिजानीलाई व्यवहारवादी नेताका रूपमा हेरिन्थ्यो। उनले वैचारिक विषयलाई जडतामा भन्दा रणनीतिक दृष्टिकोणबाट व्याख्या गर्थे।

पश्चिमा देशहरूसँग सहकार्यबारे गहिरो आशङ्का गर्ने लारिजानीले चीनसँग इरानको दीर्घकालीन सम्झौता सहितका कूटनीतिक प्रयासहरूमा दूतको रूपमा काम गरेका थिए।

तीन सङ्कटका व्यवस्थापक

इरानी सुरक्षा प्रमुख अलि लारिजानी

उनको मृत्युको समयमा लारिजानी तीन वटा प्रमुख सङ्कटको व्यवस्थापनको नेतृत्व गरिरहेका थिए।

उनले व्यवस्थापन गरिरहेको पहिलो सङ्कट युद्ध थियो। इरानले लामो सङ्घर्षको लागि तयार रहनुपर्ने, क्षेत्र वरपर पनि द्वन्द्व विस्तार गर्नुपर्ने र स्ट्रेट अफ होर्मुज बन्द गरिनुपर्ने तर्क उनैले अघि सारेका थिए।

उनले सम्हालिरहेको दोस्रो सङ्कट आन्तरिक अशान्तिको लहर थियो। आर्थिक असन्तुष्टिबाट सुरु भएको यो सङ्कटले व्यापक विरोध प्रदर्शनको रूप लिएर इस्लामिक गणतन्त्र ढाल्ने प्रयासमा परिणत भयो। जसमाथि सरकारले व्यापक दमन गर्दा देशभरि हजारौँ प्रदर्शनकारी मारिएका थिए।

तेस्रो विषय चाहिँ इरानको आणविक कार्यक्रम र वाशिङ्टनसँगको रोकिएको वार्ता हो। संयुक्त सैन्य आक्रमणपछि यी दुवै विषय अवरुद्ध भएका छन्।

लारिजानीको मृत्यु हुँदा उनले व्यवस्थापन गरिरहेका सबै विषय कुनै निष्कर्षमा पुगेका छैनन्। अब यो नाजुक परिस्थितिमा उनको जिम्मेवारी सम्हाल्न को आउँछ भन्ने पनि प्रस्ट छैन।

नेतृत्वमा सम्भावित सङ्कट

इरानका सेना प्रमुख
तस्बिरको क्याप्शन, इरानका सेना प्रमुखले अलि लारिजानी हत्याको "निर्णायक" प्रतिवाद गरिने चेतावनी दिएका छन्

इरानले विश्वको ऊर्जा बजारलाई अवरुद्ध गरेर प्रतिवाद देखाए पनि उसको हवाई क्षेत्र निरन्तरको आक्रमणका लागि खुला देखिएको छ। जसले अरू पनि वरिष्ठ नेताहरू तत्काल निशानामा पर्न सक्ने जोखिम कायम राखेको छ।

यो घटनाले सेनालाई थप शक्तिशाली बनाउने ठानिएको छ। राष्ट्रपति मसुद पेजेस्कियानले केही गरी वरिष्ठ नेताहरू आदेश दिन सक्षम अवस्थामा नभए सशस्त्र फौजलाई आफैँले नेतृत्व लिएर प्रभावकारी रूपमा काम गर्न भनेका थिए। व्यवहारमा यसको अर्थ केन्द्रीय समन्वयको भर नपरी तत्कालै निर्णय लिने सुविधा फौजलाई हुनु हो।

अर्कोतर्फ इरानको नेतृत्व आफ्नो उत्तराधिकारी व्यवस्थापनमा सङ्घर्ष गरिरहेका सङ्केतहरू पनि देखिएका छन्।

इरानले सार्वजनिक घोषणा तत्कालका लागि पछि सारेको छ र नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेई सहितका केही व्यक्तित्वहरूलाई सार्वजनिक गरेको छैन। यो उनीहरूको सुरक्षाका कारण हो वा आन्तरिक अनिश्चितताका कारण हो भन्ने स्पष्ट छैन।

तत्कालका लागि सम्भावित परिणाम थप अस्थिर अवस्था हुन सक्छ। अर्थात् युद्धमा कठोर सैन्य प्रस्तुति र आन्तरिक रूपमा थप दमन।

तर समय बित्दै जाँदा आफ्ना वरिष्ठ अधिकारीहरू गुमाउँदै गएको प्रणालीलाई प्रभावकारी कम गर्न कठिन हुँदै जान्छ। अझ ९ करोड जनसङ्ख्या भएको देशका लागि यो थप कठिन हुन सक्छ।

यो अर्थमा लारिजानीको मृत्युको प्रभाव एक जना अधिकारीको क्षति मात्रै होइन। यसले युद्ध र देशभित्रको स्थायित्व दुवैमा नेतृत्वको सङ्कट थप गहिरो बनाउन सक्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।