हीराबा किन छोरा नरेन्द्र मोदीसँग बस्दिन थिइन्

मोदी आफ्नी आमासँग
तस्बिरको क्याप्शन, मोदीले गत जुन महिनामा आमाको जन्मदिनमा भेटेका थिए
Published

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबाको ९९ वर्षको उमेरमा निधन भएको छ।

उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई उनी बस्दै आएको गुजरात राज्यस्थित अस्पतालमा भर्ना गरिएको थियो।

मोदीले ट्वीट लेख्दै आफ्नी आमामा "निष्काम कर्मयोगीको प्रतीक तथा मूल्यप्रति प्रतिबद्ध जीवन समाहित" रहेको आफूले पाएको लेखेका छन्।

भारतीय प्रधानमन्त्री महत्त्वपूर्ण पर्व र उत्सवहरूमा आमाको आशीर्वाद लिन गृहराज्य गुजरात जाने गर्थे।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

X पोस्ट समाप्त, 1

आमाको जीवन र सङ्घर्षले आफ्नो मस्तिष्क, व्यक्तित्व र आत्मविश्वास “निर्माण” गरेको भनेर उनले ९९ औँ जन्मदिनका दिन गत जुन महिनामा ट्वीट लेखेका थिए।

"मेरी आमा जति सामान्य हुनुहुन्छ उत्ति नै अभूतपूर्व पनि, अन्य आमाहरूजस्तै," उनले लेखे।

पछिल्लो पटक मोदी आफ्नी आमासँग डिसेम्बर ४ तारिखमा सार्वजनिक रूपमा देखिएका थिए जतिबेला गुजरातमा विधानसभाको चुनाव भइरहेको थियो।

नरेन्द्र मोदी

कस्तो थियो हीराबाको जीवन?

हीराबाको जन्म सन् १९२३ मा गुजरातको मेहसाना जिल्लास्थित विसनगरमा भएको थियो।

"उहाँको बाल्यकाल गरिबी र अभावमा बितेको थियो," मोदीले लेखेका थिए।

किशोरी हुँदा उनको विवाह दामोदरदास मुलचन्द मोदीसँग भएको थियो र उनी केही किलोमिटर टाढा पर्ने वदनगरमा विवाह गरेर गएकी थिइन्।

"वदनगरमा हाम्रो परिवार एउटा सानो घरमा बस्ने गर्थ्यो जुन घरमा झ्याल पनि थिएन, शौचालय वा स्नानघरको त कुरै छोडौँ," मोदीले आफ्नो ब्लगमा लेखेका थिए।

मोदीले आफ्नी आमालाई समयनिष्ठ, स्वच्छ र परिश्रमी भनी व्याख्या गरेका छन्। "काम गर्दा उहाँ आफ्नो मन पर्ने भजन गाउनुहुन्थ्यो," उनले लेखेका छन्।

हीराबा सार्वजनिक कार्यक्रममा सहभागी हुन्न थिइन्।

मोदीले सन् २००१ मा आफूले गुजरातको मुख्यमन्त्रीका रूपमा शपथ लिँदा मात्रै आमा आफूसँगै कार्यक्रममा रहेको र त्यसयता कहिल्यै पनि सार्वजनिक कार्यक्रममा आफूसँग नआएको बताएका छन्।

सन् २०१४ मा मोदी भारतको प्रधानमन्त्री बने पनि हीराबाले त्यसको दुई वर्षपछि मात्रै दिल्लीमा छोरालाई भेटेकी थिइन्।

मोदीले आफ्नो सरकारी निवास देखाउँदै गर्दाको तस्बिर ट्वीट गरेका थिए।

आमासँग मोदी
आमासँग आशीर्वाद लिँदै नरेन्द्र मोदी

मोदीले आमालाई किन सँगै राखेनन्?

हीराबा गुजरातस्थित आफ्ना अर्का छोरा र उनको परिवारसँग बस्ने गर्थिन्।

मोदीले आफ्नी आमालाई आफूसँगै किन राख्दैनन् भनेर विपक्षी पार्टीले पटकपटक प्रश्न उठाउने गरेको थियो।

गुजरातको मुख्यमन्त्री हुँदा पनि मोदीकी आमा मुख्यमन्त्री निवासबाट केवल तीन-चार किलोमिटर टाढा रहेको आफ्नो अर्का छोरा पङ्कज मोदीको घरमा बस्थिन्। 

मोदी प्रधानमन्त्री बनेपछि पनि हीराबा पङ्कजसँगै बस्ने गर्थिन्।

सन् २०१७ को कुरा हो। मोदी आफ्नी आमालाई भेट्न गुजरातस्थित गान्धीनगर गएका थिए।

मोदीले ट्वीट गरेर आफूले योग गर्न छोडेर आमालाई भेट्न गएको र बिहानी खानासँगै खाएको बताएका थिए।

आमासँग मोदी
हीराबा

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले नरेन्द्र मोदीले आमालाई सँगै किन राख्दैनन् भनेर प्रश्न गरेका थिए।

ट्वीट गर्दै केजरीवालले लेखेका थिए, "म आफ्नी आमासँगै बस्छु। सधैँ उनको आशीर्वाद लिन्छु। तर त्यसबारे भन्दै हिँड्दिनँ। म राजनीतिका लागि आफ्नी आमालाई ब्याङ्कको लाइनमा पनि राख्दिनँ।"

मोदी सरकारले ५०० र १,००० का नोटहरूमाथि प्रतिबन्ध लगाउने विवादास्पद निर्णय गरेपछि लाखौँ मानिसजस्तै पुरानो नोट साट्न ब्याङ्क जाने लाखौँ भारतीयमध्ये हीराबेन पनि रहेको फोटो त्यतिबेला सार्वजनिक भएको थियो।

केजरीवालसहित अन्य थुप्रैले मोदीमाथि आफ्नो राजनीतिक लाभका लागि आमासँगको तस्बिर र भिडिओ सामाजिक सञ्जालमा राख्ने गरेको भन्ने आरोप लगाउने गरेका थिए।

मोदी

जबाफमा मोदीले के भने?

हीराबाले प्रधानमन्त्री बनेका छोरासँग किन नबसेको भनेर कहिल्यै बताइनन्। तर मोदी आफैँले भने त्यसबारे चर्चा गरेका थिए।

सन् २०१९ मा अभिनेता अक्षय कुमारसँगको गैरराजनीतिक विषयमा गरिएको एउटा कुराकानीमा उनले यसबारे चर्चा गरेका थिए।

मोदीले आफूले सानै उमेरमा घर छोडेको र आफ्नो जीवन एकदमै फरक रहेको बताएका थिए। 

कुराकानीमा मोदीले भनेका थिए, "म प्रधानमन्त्री बनेर घरबाट निस्किएको भए सबै मैसँग बसून् भन्ने चाहन्थेँ। तर सानै उमेरमा घर छोडेका कारण परिवारप्रति लगाव, मायामोह यी सबै छुटे। मेरी आमा म तेरो घरमा बसेर के गरौँला, तँसँग के कुरा गरौँला भन्नुहुन्छ।"

हीराबाको मृत्युमा कसले के भने?

उनको निधनप्रति केही राजनीतिज्ञ र मन्त्रीहरूले सामाजिक सञ्जालमा शोक व्यक्त गरेका छन्।

रक्षामन्त्री राजनाथ सिंहले हीराबेनको निधनको खबरले आफूलाई “गहिरो दुःख” लागेको बताएका छन्।

"एक आमाको निधनले कहिल्यै नभरिने रिक्तता उत्पन्न हुन्छ," उनले लेखे।

भारतका भूतपूर्व उपराष्ट्रपति एम बेन्कैया नाइडुले पनि शोक व्यक्त गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

X पोस्ट समाप्त, 2